९ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट हुँदै आएको उपभोक्ता मूल्य सूचकांक लगायत मूल्य तथ्यांकीय कार्य अब राष्ट्रिय तथ्यांक कार्यालयबाट हुने भएको छ ।
सोमबार बसेको राष्ट्रिय तथ्यांक परिषद् बैठकले उपभोक्ता मूल्य सूचकांक लगायत मूल्य सम्बन्धित तथ्यांकीय कार्य हस्तान्तरण सम्बन्धी अध्ययन प्रतिवेदन स्वीकृत गरेको कार्यालय प्रवक्ता ढुण्डीराज लामिछानेले जानकारी दिए ।
उनका अनुसार उक्त स्वीकृतिसँगै प्रतिवेदन कार्यान्वयन चरणमा प्रवेश गरेको छ । यसअघि परिषद्को पाँचौं बैठकले प्रतिवेदन निर्माणका लागि कार्यदल गठन गरेको थियो ।
परिषद्बाट पारित भई कार्यान्वयनका लागि प्रतिवेदन प्राप्त भएको समेत उनले बताए । उनका अनुसार अब मूल्य सूचकांक निर्माणमा रहेको कामको दोहोरोपना हट्ने छ । एकीकृत एकद्वार प्रणाली स्थापना गर्न हस्तान्तरण प्रक्रिया तत्काल अगाडि बढाइने समेत उनले बताए ।
यससँगै अब हाल राष्ट्र बैंकले गर्दै आएको मासिक उपभोक्ता मूल्य सूचकांक, थोक मूल्य सूचकांक र तलब तथा ज्याला दर सूचकांक निर्माणको सम्पूर्ण जिम्मेवारी चरणबद्ध रूपमा राष्ट्रिय तथ्यांक कार्यालयमा हस्तान्तरण हुनेछ ।
संगठन तथा व्यवस्थापन सर्वेक्षण जारी
कार्यालयका अनुसार एकीकृत कार्य सम्पादनका लागि राष्ट्रिय तथ्यांक कार्यालय अन्तर्गत छुट्टै विशिष्टिकृत मूल्य तथ्यांक महाशाखा स्थापना गर्न संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणको काम जारी छ ।
उक्त महाशाखाका लागि आवश्यक प्राविधिक जनशक्ति र दरबन्दी व्यवस्थापनको काम सोही प्रक्रियामा गरिने छ । आर्थिक वर्ष २०८३/८४ मा कार्यको निरन्तरता, विश्वसनीयता र गुणस्तरण सुनिश्चित गर्न राष्ट्र बैंक र कार्यालयका कर्मचारी तथा प्राविधिकको संयुक्त टोलीले तथ्यांक संकलन, प्रशोधन र सूचकांक प्रकाशनको काम गर्ने भएका छन् ।
आव २०८४/८५ बाट भने कार्यालयले एकल रूपमा उपभोक्ता मूल्य सूचकांक लगायत सबै मूल्य सूचकांक तयारी, व्यवस्थापन र नियमित प्रकाशनको जिम्मेवारी लिने छ ।
केन्द्रीय बैंकको मौद्रिक नीति रणनीति थप स्वतन्त्र बनाउन तथा मुलुकको समग्र तथ्यांकीय प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप बनाउन यस्तो हस्तान्तरणको काम गरिएको लामिछानेले जानकारी दिए ।
यसअघि सोमबार बसेको राष्ट्रिय तथ्यांक परिषद् छैटौं बैठकले प्रतिवेदन कार्यान्वयनका लागि राष्ट्रि तथ्यांक कार्यालयमा पठाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया 4