+
+
Shares

ऊर्जामा वाणिज्य बैंकहरूको लगानी ५ खर्ब, नबिलको हिस्सा १० प्रतिशत

नबिल बैंकले हालसम्म ५८ जलविद्युत् आयोजनामा लगानी गरेको छ । तीमध्ये ३६ आयोजनाबाट विद्युत् उत्पादन सुरु भइसकेको छ भने २९ निर्माणाधीन छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १९:१६
Photo Credit : AI Created

९ असार, काठमाडौं । चालु आर्थिक वर्ष चैतसम्म वाणिज्य बैंकहरूले ऊर्जा क्षेत्रमा कुल ५ खर्ब रुपैयाँ बराबर लगानी गरेका छन् । बैंकहरूको यो लगानी कुल कर्जाको ९.५१ प्रतिशत हो ।

चालु आव चैतसम्म बैंकहरूले ५२ खर्ब ५३ अर्ब कर्जा लगानी गरेका छन् । त्यसमध्ये १० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था छ ।

त्यसमा पनि २०८५ असारसम्मको समय केन्द्रीय बैंकले दिएको छ । तर, पनि बैंकहरूले ऊर्जा क्षेत्रमा प्रवाह गरेको कर्जा तोकिएको सीमा नजिक हो । त्यसमध्ये नबिल बैंकले तोकिएको सीमाभन्दा पनि धेरै लगानी गरेको केन्द्रीय बैंकले जनाएको छ ।

नबिलले सबल अर्थतन्त्रको महत्त्वपूर्ण आधार मानिएको ऊर्जा क्षेत्रमा ५१ अर्ब रुपैयाँ लगानी गरेको छ । जसमध्ये जलविद्युत् आयोजनामा मात्रै करिब ४२ अर्ब लगानी गरिएको बैंकले जनाएको छ ।

नबिलले हालसम्म ऊर्जा क्षेत्रमा कुल कर्जाको ११.१३ प्रतिशत प्रवाह गरेको छ । जसमध्ये जलविद्युत् क्षेत्रमा मात्रै ९.१० प्रतिशत लगानी गरेको हो ।

जलविद्युत् आयोजनामा लगानी गर्ने पहिलो वाणिज्य बैंक नबिल हो । सन् १९९८ मा ७.५ मेगावाटको ‘रन अफ रिभर’ (नदी प्रवाहमा आधारित) परियोजनालाई कर्जा दिएर बैंकले ऊर्जा क्षेत्रमा लगानी सुरु गरेको थियो ।

उसले हालसम्म ५८ जलविद्युत् आयोजनामा लगानी गरेको छ । तीमध्ये ३६ आयोजनाबाट विद्युत् उत्पादन सुरु भइसकेको छ भने २९ निर्माणाधीन छन् ।

बैंकले लगानी गरेको सबैभन्दा ठूलो आयोजना ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना हो । लगानी गरिएका सबै आयोजना सञ्चालनमा आएपछि करिब ३ हजार मेगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको बैंकले जनाएको छ ।

जलविद्युत् आयोजनाहरू जटिल प्रकृतिका हुने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का निर्वतमान अध्यक्ष गणेश कार्कीले बताए ।

उनका अनुसार आयोजना निर्माण तथा कार्यान्वयन सम्बन्धी दीर्घकालीन जोखिम हुन्छन् । बैंक नेतृत्वले यस क्षेत्रमा विश्वास बढाउन मद्दत गर्दै जलविद्युत् क्षेत्रको विकासका लागि बाटो खोलिदिएका छ । जलविद्युत् क्षेत्रमा बैंकहरूको लगानीले ऊर्जा उत्पादन तथा आर्थिक वृद्धिमा ठूलो टेवा पुगेको छ ।

सरकारी स्वामित्वमा रहेका त्रिशूली ‘थ्रीबी’, जगदुल्ला जलविद्युत् जस्ता आयोजनाको सहवित्तीयकरणमा नबिल प्रमुख बैंक रहेर कर्जा लगानी गरेको छ ।

सही लगानी पाए जलविद्युत् उत्पादनमा नेपाल यस क्षेत्रमा अग्रणी बन्न सक्ने सम्भावनाबारे बैंक सुरुदेखि नै स्पष्ट रहेको नबिलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले बताए ।

सम्भावना अनुसार जलविद्युत् उत्पादन हुन सके यसले देशको आर्थिक अवस्था परिवर्तन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले निरन्तर लगानी बढाउँदै आएको उनको भनाइ छ ।

जलविद्युत् क्षेत्रको लगानी बैंकको दीर्घकालीन नीति भएको उनले बताए । ‘जलविद्युत् आयोजना उच्च लगानी आवश्यक पर्ने क्षेत्र हो, हामीले पहिलो पटक लगानी गरेको समयदेखि अहिलेसम्म पनि जोखिम धेरै छन्,’ सीईओ ज्ञवालीले भने, ‘तर, जलविद्युत् क्षेत्रमा नेपालको सम्भावना र यसले उद्योग, व्यवसाय तथा रोजगारी विस्तारमा ठूलो योगदान दिन सक्छ ।’

बैंकले ऊर्जालाई प्राथमिकतामा राख्दै आएको र भविष्यमा पनि जलविद्युत् लगायत दिगो ऊर्जा उत्पादनमा केन्द्रित रहने ज्ञवालीले बताए ।

‘बैंक तथा वित्तीय संस्थाहरूले लगानी नगरेको भए जलविद्युत् क्षेत्र अहिलेको अवस्थामा आउन सम्भव थिएन, नबिल बैंकले लगानीसँगै आयोजना विस्तार र वित्तीय परामर्श दिँदै आएको छ, जुन निकै महत्त्वपूर्ण पाटो हो,’ इप्पान अध्यक्ष कार्कीले भने ।

वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूलाई पनि यस क्षेत्रमा थप लगानी गर्ने बाटो देखाउने काम नबिलले गरेको बैंकका इन्फ्रास्ट्रक्चर एन्ड प्रोजेक्ट फाइनान्सिङ विभाग प्रमुख निशेषहरि राजभण्डारीले बताए ।

‘नबिल बैंक ऊर्जा क्षेत्रका सम्पूर्ण चुनौतीहरूसँग अवगत छ र देशको ऊर्जा क्षेत्रको रूपान्तरणका लागि नेपाली बैंकिङ क्षेत्रमा नबिलको अग्रणी भूमिमा रहिरहने छ,’ भण्डारीले भने ।

विद्युतीय सवारीसाधन प्रवर्द्धनमा सरकारी नीति र सर्वसाधारणको रुचि बढ्दै गएको समयमा वित्तीय सहायता वृद्धि प्राथमिकतामा राखेर काम गर्दै आएको बैंकले जनाएको छ ।

बैंकले हालसम्म करिब ६ अर्ब रुपैयाँ विद्युतीय सवारीसाधनमा कर्जा लगानी गरेको छ । साथै, १ अर्ब ६८ करोड रुपैयाँ ऊर्जा बन्डमा लगानी गरेको छ ।

नेपालको जडित विद्युत् क्षमता ४ हजार २ सय ९६ मेगावाट पुगेको छ । यही कारण नेपाल आगामी वर्षायाममा मात्र नभई सुक्खायाममा पनि आत्मनिर्भर बन्ने दिशामा छ ।

गत आव २०८१/८२ मा नेपालले १७ अर्ब ४७ करोड रुपैयाँ बराबर विद्युत् निर्यात पनि गरेको थियो । नवीकरणीय ऊर्जा क्षेत्रमा कुल रोजगारी १ लाख ११ हजारभन्दा बढी पुगेको छ भने यो क्षेत्रले मुलुकभित्रै केही उत्कृष्ट प्रतिभा तथा इन्जिनियरलाई पनि आकर्षित गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?