+
फिफा विश्वकप २०२६ :

रोनाल्डोको ६ अंक संयोग

२०८३ असार  १० गते २:०९ २०८३ असार १० गते २:०९

जर्सी नम्बर ७ लगाउने स्टार रोनाल्डोका लागि उज्वेकिस्तान विरुद्ध खेल्दा जादुमयी अंकको संयोग जुर्न पुग्यो ‘६’।

काठमाडौं । पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो ७ नम्बर जर्सी लगाउँछन् । फिफा विश्वकप २०२६ मा पोर्चुगिज आइकन क्रिस्टियानो रोनाल्डो र उनको जर्सी नम्बर ७ को क्रेज उस्तै छ । उनको जर्सी नम्बर धेरै फलो समेत गर्छन् ।

तर मंगलबार राति अमेरिकाको ह्युस्टन स्टेडियममा उज्वेकिस्तान विरुद्ध उत्रिँदा भने पोर्चुगिज सुपर स्टारका अर्कै एउटा जादुमयी अंकको संयोग जुर्न पुग्यो ‘६’।

४१ वर्षको उमेरमा पनि मैदानमा उत्तिकै भोक र उर्जाका साथ दौडिरहेका यी लेजेन्डका लागि उज्वेकिस्तान विरुद्ध ५–० को जितमा हरेक कोणबाट अंक ६ को गजबको संयोग मिलेको छ ।

रोनाल्डोले फिफा विश्वकप २०२६ मा उज्वेकिस्तान विरुद्ध गोल गर्दै विश्वकपमा नयाँ कीर्तिमान बनाए । त्यसमा पनि ६ अंक नै जोडिएको छ ।

रोनाल्डोले यसअघि डिआर कंगो विरुद्धको पहिलो खेल खेल्दै अर्जेन्टिनाका लियोनल मेसीसँगै सर्वाधिक ६ पटक विश्वकप खेल्ने कीर्तिमान बराबरी गरिसकेका थिए । कंगो विरुद्ध रोनाल्डोले भने सकेनन् ।

तर दोस्रो खेलमा विश्वकपको डेब्युटान्ट टोली विरुद्ध रोनाल्डो दुई गोल गरे । पोर्चुगलले ५-० को शानदार जित हात पार्‍यो ।

यसमा रोनाल्डोले कीर्तिमानी गोल पनि गरे । उज्वेकिस्तान विरुद्ध गोलको खाता खोल्दै रोनाल्डो लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने । यसअघि कसैले पनि लगातार ६ विश्वकपमा गोल गर्न सकेका थिएनन् ।

तर रोनाल्डोले विश्वकपका लगातार ६ संस्करण (२००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६) मा गोल गर्ने इतिहासकै पहिलो र एक मात्र खेलाडी बनेका छन् ।

रोनाल्डोकै प्रतिस्पर्धीको रुपमा रहेका मेसीले यस विश्वकपमा ६ विश्वकप खेल्ने पहिलो खेलाडी बन्दे ५ गोल गरिसकेपनि मेसीले सन् २०१० को विश्वकपमा गोल गर्न असफल भएका थिए ।

तर रोनाल्डोले भने खेलेको हरेक विश्वकपमा गोल गरेका छन् । उनले सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा डेब्यु गरेका थिए । सन् २००६ मा जर्मनीबाट सुरु गरेको गोलको यात्रा २०२६ सम्म आइपुग्दा पनि निरन्तर कायम राखेका छन् ।

रोनाल्डोले सन् २००६ देखि २०२६ सम्म लगातार ६ विश्वकप खेल्दा ६ वटै विश्वकपमा गोल गरेका हुन् ।

रोनाल्डोले सन् २००६ मा डेब्यु विश्वकपमा १ गोल गरेका थिए भने २०१० र २०१४ मा पनि १-१ गोल गरेका थिए । यस्तै सन् २०१८ मा भने स्पेन विरुद्ध ह्याट्रिकसहित ४ गोल गरेका थिए । सन् २०२२ मा १ गोल गरेका उनले हाल उत्तर अमेरिकामा भइरहेको विश्वकपमा पनि २ गोल गरिसकेका छन् ।

अमेरिकाको ह्युस्टन स्टेडियममा भएको उज्वेकिस्तान विरुद्धको खेलमा रोनाल्डोले पहिलो गोल पनि ६ अक अर्थात छैटौं मिनेटमै गरेका थिए । जाआओ कान्सेलोको लो क्रसमा रोनाल्डोले गोल गर्दै अग्रता दिलाएका थिए ।

यो गोलसँगे रोनाल्डोले मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता १० खेलको गोलको खडेरी तोड्न सफल भए । यसमा अर्को रमाइलो संयोग के छ भने रोनाल्डोले विश्वकपमा पछिल्लो पटक सन् २०२२ मा कतारमा घाना विरुद्ध गोल गरेपछि पहिलो पटक गोल गरेका हुन् । घाना विरुद्धको खेलपछि रोनाल्डोले २०२२ को विश्वकपमै उरुग्वे, दक्षिण मोरिया, स्विट्जरल्यान्ड र मोरक्को विरुद्ध गोल गर्न सकेनन् भने २०२६ को पहिलो खेलमा डिआर कंगो विरुद्ध गोल गर्न सकेनन् ।

घानापछि विश्वकपमा उनको छैटौँ प्रतिद्वन्द्वी उज्वेकिस्तान बन्यो र आफ्नो छैटौँ विश्वकप खेलमा आएर नै उनले यो गोलको खडेरी तोड्न सफल भए ।

पहिलो हाफमै दोस्रो गोल समेत गरेका रोनाल्डो पोर्चुगलका लागि विश्वकपमा सर्वाधिक १० गोल गर्ने खेलाडी समेत बने । उनले युसुबियो (९) लाई पछि पारेका हुन् ।

यस्तै रोनाल्डोले उज्वेकिस्तान विरुद्ध खेलमा ६ सट अन टार्गेट राखेका थिए । यसमा पनि ६ अंककै संयोग जुरेको थियो ।

उज्वेकिस्तानका गोलकिपर अब्दुभोहिद नेमातोभलाई लगातार व्यस्त बनाएका रोनाल्डोले २ सट गोलमा परिणत गरे । बाँकी सट उज्वेक गोलकिपर नेमातोभले बचाए ।

उज्वेकिस्तान विरुद्धको खेल रोनाल्डोले २३०औं अन्तर्राष्ट्रिय खेल हो भने जसमा उनले कीर्तिमानी १४५ गोल गरेका छन् ।

यस्ते फिफा विश्वकपमा रोनाल्डोले २४ औं खेल खेले । विश्वकपमा सर्वाधिक खेल खेल्नेमा उनी जर्मनीका मिरोस्लाभ क्लोजसँगे तेस्रो स्थानमा छन् । अब समूहको अन्तिम खेलमा कोलम्बिया विरुद्ध मेदान उत्रिएपछि रोनाल्डोले जर्मनीके अर्का लेजेण्ड लोथार म्याथ्युजको २५ खेलसँग बराबरी गर्नेछन् । अर्जेन्टिनाका मेसीले विश्वकपमा सर्वाधिक २८ खेल खेलेका छन् ।

रोनाल्डोको ६ विश्वकपको गोल विवरण:

२००६: १ गोल (डेब्यु विश्वकप)

२०१०: १ गोल

२०१४: १ गोल

२०१८: ४ गोल (स्पेन विरुद्ध ह्याट्रिकसहित)

२०२२: १ गोल

२०२६: २ गोल (उज्वेकिस्तान विरुद्ध हालसम्म)

फिफा विश्वकप २०२६
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय