बेलायती प्रधानमन्त्री किर स्टार्मरले राजीनामा दिएसँगै बेलायत नयाँ प्रधानमन्त्री छान्ने तरखरमा छ । बेलायतको मुख्य प्रशासनिक केन्द्र १० डाउनिङ स्ट्रिटको कुर्सीले नयाँ नेतृत्व पाउँदै छ । प्रधानमन्त्रीको कुर्सीमा विगत १५ वर्षमा ७ जना बसे ।
नयाँ प्रधानमन्त्री को बन्छ भन्दा पनि प्रधानमन्त्री कार्यालयका एक कर्मचारीको चर्चा चुलिएको छ । जुन कर्मचारी प्रधानमन्त्री कार्यालय अगाडिको सिँडीमा बस्छ । ऊ मान्छे हैन, सेतो खेरौ रंगको बिरालो हो । प्रधानमन्त्री कार्यालयका अनुसार यो बिरालो ‘ल्यारी द क्याट’ हो । बेलायतमा सत्ता बदलिने अनिश्चित माहौलमा यो बिरालोको पद भने बदलिने छैन ।
ल्यारी प्रधानमन्त्री कार्यालयको ‘चिफ माउसर’ पदमा कार्यरत छ । १० डाउनिङ स्ट्रिटमा जो सुकै प्रधानमन्त्री भएर आओस् मुसा मार्ने प्रमुख कमान्डर भने ल्यारी नै रहनेछ ।
अमेरिकामा राष्ट्रपतिहरूले प्रयोग गर्ने कलमलगायत विविध सामग्रीहरू ऐतिहासिक मानक बन्छन् । बेलायतको यो साधरण ट्याबी जातको भाले बिरालो त्यहाँको राज्यसंयन्त्रको सफ्ट पावरको प्रतिक बनेको छ ।
सन् २०११ को फेब्रअरी १५ मा ल्यारीलाई त्यहाँको प्रधानमन्त्री कार्यालयमा लगिएको रहेछ । डमस्टिकसर्ट हेयर जातको यो बिरालो लन्डनको ब्याटरसी डग्स एन्ड क्याट्स होम बाट प्रधानमन्त्री कार्यालयमा पुर्याउँदा ४ वर्षको मात्रै थियो ।
यी वर्षहरूमा ल्यारीले बेलायती प्रधानमन्त्रीहरू डेभिड क्यामरुन, थेरेसा मे, बोरिस जोन्सन, लिज ट्रस, ऋषि सुनाक र किर स्टार्मर गरी ७ जना प्रधानमन्त्रीको कार्यकाललाई नजिकबाट नियालिसकेको छ । अब ऊ उसको ८ औँ प्रधानमन्त्रीलाई स्वागत गर्ने तयारी गर्दैछ ।

ल्यारीलाई कसैले चिनाइराख्नु नै पर्दैन । बेलायती प्रधानमन्त्रीको आधिकारिक वेबसाइटमै उसको विवरण सम्मानका साथ राखिएको छ । जहाँ उसले गर्ने मुख्य कार्यहरू छन् । कार्यालयमा आउने पाहुनाहरूको स्वागत गर्ने र सुरक्षाको जाँच गर्ने उसका काम हुन् । ल्यारीले पुराना फर्निचरहरू सुत्नका लागि कत्तिको उपयुक्त छन् भनी परीक्षण गर्ने काम पनि गर्छ । उसले गर्ने कामका बारेमा प्रधानमन्त्री कार्यालयले सम्मानका साथ वेभसाइटमा प्रस्तुत गरेको छ ।
ल्यारीलाई सडकबाट उद्धार गरेर क्याट्स होममा राखिएको थियो । त्यही बेला उसको भ्यासेक्टोनमी पनि गरिएको थियो । पछि प्रधानमन्त्री कार्यालयमा पुर्याउँदा उसका सुरुवाती दिनमा मुसा समात्न सकेन । ल्यारीलाई अल्छी गरेको भन्दै चर्चा भएको थियो । त्यसबेला उसलाई मिडियाले ‘लेजी ल्यारी’ समेत भनेका थिए । विस्तारै उसले आफ्नो कार्यक्षमतालाई प्रमाणित गर्यो । ल्यारीले मुसा मार्न थाल्यो ।
बेलायतमा बिरालो राख्ने चलन
बेलायती राजनीति र कूटनीतिमा बिरालो राख्ने चलन सौखका लागि मात्रै सिमित छैन । लामो इतिहास जोडिएको छ । बेलायती शासन सत्तामा बिरालो शताब्दियौँ पुरानो राजकीय विरासतसँग जोडिएको देखिन्छ । यसका लागि सन् १५१४ तिर फर्कनुपर्छ । कार्डिनल थोमस वोल्सेलाई राजा हेनरी आठौँले ‘लर्ड भाइसचान्सलर’ मा नियुक्त गरेपछि आफूँसगै बिरालोहरू ल्याएका थिए । ग्रेट ब्रिटेनको सत्ता हाँक्दा वोल्सेले हेनरी आठौँको दरबारमा आफूसँगै बिरालाहरूको एउटा ठूलो लावलस्कर नै लिएर कार्यालय प्रवेश गरेका थिए ।

त्यतिबेलाको समाजमा बिरालाहरू प्रतिको दृष्टिकोण नकरात्मक थियो । बिरालाहरूविरुद्ध विषवमन नै चलाइएको थियो । जसका कारण बिरालोहरूलाई अपसगुनको रूपमा लिइन्थ्यो । बिरालोप्रति भूतप्रेतको प्रतीक लिँदै घरबाट लखेट्ने गरिन्थ्यो । यो भ्रम अहिले पनि उत्तिकै छ ।
सुधारकको छवि बनाएका कार्डिनले त्यो बेला एक किसिमको विद्रोह नै गरे । नकारात्मक हल्लाबाट विचलित नभई वोल्सेले हरेक कार्यक्रममा बिरालोहरूलाई साथमै राखे । शाही सवारी होस् या आइतबारको प्रार्थनासम्म उनले आफ्ना बिरालाहरूलाई साथमै राखेर राज्य सञ्चालन गरे । र, बिरालोको महत्व स्थापित गर्ने कोसिस गरे । लन्डनको इप्सविचमा रहेको उनको जन्मस्थानमा सन् २०११मा प्रतिस्थापन गरिएको उनको शालिकमा पनि बिरालो छ । उक्त शालिकमा वोल्सेको पछाडिबाट बिरालोले टाउको निकालेर चियाइरहेको देखिन्छ ।
हुलाक सेवा विभागको परम्परा
बेलायतमा बिरालोलाई सरकारी बजेटसहित पद नै दिएर कर्मचारी राखिएको लिखित इतिहास चाहिँ औद्योगिक क्रान्तिपछि देखिन्छ । सरकारी कर्मचारीका रूपमा राख्न थालिएको लिखित इतिहास चाहिँ सन् १८६९ को मे महिनाबाट सुरु हुन्छ ।
बेलायतको शाही हुलाक सेवा विभागको लन्डन मनी अर्डर कार्यालयमा मुसाहरूले निकै नै दुःख दिए । मुसाले महत्वपूर्ण चिठ्ठीपत्र र कागजातहरू काटेर दुःख दिएपछि बिरालो राखियो । त्यतिबेला ३ वटा बिरालाहरूलाई ६ महिनाको परीक्षणकालमा मुसा मार्न राखिएको थियो । त्यसबेला उनीहरूलाई प्रति हप्ता १ शिलिङ तलब तोकिएको थियो । उक्त तलबबाट उनीहरूको दूध र खानाको व्यवस्था हुन्थ्यो ।
शाही हुलाक सेवाको परीक्षण सफल भएपछि सन् १८७३ मा बिरालाहरूको तलब बढ्यो । हप्तामा १ शिलिङ ६ पेन्स पुग्यो । बेलायतमा दशमलव प्रणाली लागु हुनुअघि त्यहाँको मौद्रिक प्रणाली पाउण्ड, शिलिङ र पेन्समा आधरित थियो । उक्त प्रणाली अनुसार १ पाउण्ड बराबर २४० पेन्स हुन्थ्यो भने १ शिलिङ बराबर १२ पेन्स हुन्थ्यो ।
देशभरका हुलाक कार्यालयहरूमा ‘चारखुट्टे कर्मचारी’ का लागि दरबन्दी नै सिर्जना भयो । यो परम्परामा समान कामको समान ज्यालाको नीति अवलम्बन गरियो ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकासित लेखका अनुसार शाही हुलाक सेवाका बिरालाहरूमध्ये सबैभन्दा बढी ‘टिब्स द ग्रेट’ चर्चित थियो । उसले आफ्नो १४ वर्षे कार्यकालमा हुलाक सेवाको केन्द्रीय कार्यालयलाई मुसाबाट पूर्ण रूपमा मुक्त राख्यो । उसलाई प्रति हप्ता २ शिलिङ ६ पेन्स तलब दिइन्थ्यो । सन् १९६४ मा उसको मृत्यु हुँदा उसका बारेमा ओबिच्युरी नै प्रकासित भएका थिए ।

यही १८६९ को सफल मानकलाई पछ्याउँदै सन् १९२९ देखि प्रधानमन्त्री निवास (१० डाउनिङ स्ट्रिट) मा पनि मुसा समात्ने बिरालोका लागि सरकारी कोषबाट बजेट छुट्याउन थालियो । यही मानकलाई पछ्याउँदै सन् १९२९ देखि १० डाउनिङ स्ट्रिटमा मुसा समात्ने बिरालोका लागि बजेट छुट्याउन थालियो । ‘चिफ माउसर’ नै पद प्राप्त गर्ने पहिलो बिरालो चाँही ल्यारी हो ।
ल्यारी जस्तै बेलायती सरकारका अन्य मन्त्रालयहरूमा पनि आधिकारिक रूपमा बिरालाहरूलाई जिम्मेवारी दिइएका घटनाहरू छन् । बेलायतको अर्थ मन्त्रालयले पनि ‘चिफ माउसर’ का रूपमा ग्लाडस्टोन नाम गरेको बिरालो राखेको छ । उसले जुन २०१६ देखि पद सम्हालेको हो । यो बिरालोलाई चिफ माउसरको रूपमा राखिएको घोषणा ब्रेक्जिटका कारण ढिलो घोषणा गरिएको थियो । घोषणा गरेर कार्यालय प्रवेश गरेको ४८ घण्टाभित्रै पहिलो मुसा समातेर मन्त्रालयमा चर्चा बटुलेको बेलायती मिडियाहरूले उल्लेख गरेका छन् । यो बिरालोले अहिले इन्सटाग्राममा २१ हजार फलोअर्स कमाएको छ । कुशल सिकारी मात्र नभएर जनसम्पर्कको काममा पनि खप्पिस रहेको भन्दै बेलायती सञ्चारमाध्यमहरूमा पढ्न पाइन्छ ।
त्यहाँको परराष्ट्र मन्त्रालयमा पनि चिफ माउसरको रूपमा पार्मरस्टोन बिरालो राखिएको थियो । उक्त कालो र सेतो रङको बिरालो परराष्ट्रमा चिफ माउसरको पद पाउने प्राप्त गर्ने पहिलो बिरालो हो । डाउनिङ स्ट्रिटमा यसको र ल्यारीबीचको झगडाले निकै चर्चा पायो । कतिसम्म भने पार्मरस्टोनलाई प्रहरीको सुरक्षा घेरामा बाहिर निकालिएको घटना बाहिरिएको थियो । बेलायतले यी बिरालाहरूलाई आफ्नो देशको ‘सफ्ट पावर’का साथै कूटनीतिक ब्रान्डिङका रूपमा प्रयोग गर्दै आएको देखिन्छ ।

१० डाउनिङ स्ट्रिटमा ल्यारीसँग अमेरिकी पूर्व राष्ट्रपति बारक ओबामा, डोनाल्ड ट्रम्पदेखि विश्वका धेरै राष्ट्रप्रमुखहरूको तस्बिर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा हुँदा बेलायती कूटनीतिको पनि चर्चा हुन्छ । प्रधानमन्त्री कार्यालयको कर्मचारीको रूपमा कार्यरत ल्यारीको खर्च सरकारी ढुकुटीबाट छैन । प्रधानमन्त्री कार्यालयमा कार्यरत कर्मचारीहरूको स्वेच्छिक सहयोगबाट चल्छ ।

अरूले जे गर्छ हामीले पनि त्यही गर्नुपर्छ भन्ने छैन । तर, बेलायतले एउटा घर पालुवा जीवलाई गरेको व्यवहार र सार्वजनिक वृत्तमा ल्याउने चर्चाको प्रभाव निकै नै हुन्छ । हाम्रो देशमा पनि यस्ता केही सफ्ट पावर झल्कने विषय वस्तुहरू हुँदा त्यसले हाम्रा कार्यालयहरूको ओझ र महत्व बढाउन सक्छन् । हामीले पनि राजनीतिक र प्रशासनिक क्षेत्रमा न्यूनतम मानकहरू जोगाउन सके सकरात्मक प्रभावहरू देखिन सक्छ । जसले गर्दा मुलुकको कूटनीति एवं प्रशासन क्षेत्रमा इमोसनल पीआर पनि झल्कन सक्छ ।
हामीले मनाउने विविध पर्वमा गरिने जीवजन्तुप्रतिको सम्मानले हाम्रो मुलुकको राजकीय र सांस्कृतिक पाटो पनि झल्काउँछ । गाई, सर्प, काग, कुकुर, गाई र गोरुलाई सांस्कृतिक उत्सवका रूपमा सम्मान गर्दै पूजा गर्ने गरिन्छ । कूटनीतिमा पनि नेपालले विभिन्न देशलाई एकसिंगे गैँडा र हात्ती उपहार दिएर वन्यजन्तु कूटनीति मार्फत आफ्नो पहिचान बनाएको छ । विदेशी राष्ट्रप्रमुख आउँदा हामीले दिने मिथिला कला,काठका कलात्मक मूर्तिहरू वा हिमाली पहिचान हाम्रा मानक हुन् ।
कुनै पनि संस्थाको साख, इतिहास र शासकीय मानकहरू व्यक्ति वा शासकको अनुहारसँगै बदलिने कुरा हुनु हुँदैन । बरु प्रणाली बलियो हुनुपर्छ । प्रणाली यति बलियो होस् कि त्यसले भूगोल र समयको सीमालाई समेत नाघ्न सकोस् । जब राज्यको प्रणाली र मानक बलियो हुन्छ तब त्यसको प्रभाव दूरगामी हुन्छ ।
प्रतिक्रिया 4