१० असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियाको प्राइमरी निर्वाचन परिणामको अनुसन्धान गर्न त्यहाँका संघीय अभियोजक (प्रोसीक्युटर) लाई फोन गरेको कुरा स्वीकार गरेका छन्।
उनले मंगलबार पेन्सिलभेनियामा आयोजित एउटा र्यालीमा बोल्दै आफ्नो हस्तक्षेपका कारण नै रिपब्लिकन उम्मेदवार स्टिभ हिल्टन गभर्नर पदको प्रतिस्पर्धामा दोस्रो चरण (रनअफ) का लागि छनोट भएको बिना प्रमाण दाबी गरेका छन्।
क्यालिफोर्नियाको चुनावी नतिजाले डेमोक्र्याट उम्मेदवार जेभियर बेसेरालाई नोभेम्बरमा हुने मुख्य चुनावका लागि पहिलो स्थानमा सुरक्षित गरिसकेको थियो भने ट्रम्पको समर्थन पाएका हिल्टनको नतिजा केही दिन पछि मात्र सार्वजनिक भएको थियो।
राष्ट्रपति ट्रम्पले र्यालीमा आफूले क्यालिफोर्नियाका यूएस अटर्नीलाई फोन गरेर सो विषय हेर्न आग्रह गरेको बताएका छन्। उनले फक्स न्युजका पूर्व प्रस्तोता समेत रहेका हिल्टनको जितको श्रेय आफैँले लिँदै ती वकिलले कुनै अज्ञात व्यक्तिलाई फोन गरेपछि मात्र हिल्टन दोस्रो चरणमा पुग्न सफल भएको दाबी गरेका छन्।
आफ्नो फोन कलको करिब एक घण्टा पछि हिल्टनले चुनाव जितेको भन्दै ट्रम्पले यदि आफूले फोन नगरेको भए हिल्टनले घरमै बसेर चुनाव हेरिरहनु पर्ने अवस्था आउने कुरा बताएका छन्। ट्रम्पले कुन वकिललाई फोन गरेका थिए भन्ने कुरा स्पष्ट नभए पनि लस एन्जलसमा रहेको सेन्ट्रल डिस्ट्रिक्ट अफ क्यालिफोर्नियाका उच्च अधिकारी एवं फर्स्ट असिस्टेन्ट यूएस अटर्नी बिल एसेलीले यसै महिनाको सुरुमा चुनावी धाँधलीका दाबीहरूमाथि अनुसन्धान सुरु गरेको घोषणा गरेका थिए।
राष्ट्रपति ट्रम्पले क्यालिफोर्नियाको गभर्नर पदको निर्वाचन ‘सेटिङ’ गरिएको भनी लगाएको निराधार आरोप भन्दा केही समय अघि लस एन्जलसको मेयर पदको चुनावबारे पनि यस्तै टिप्पणी गरेका थिए।
मेयरको चुनावमा डेमोक्र्याटहरूको बाहुल्यता रहेको सहरमा रिपब्लिकन उम्मेदवार स्पेन्सर प्र्याट नोभेम्बरको रनअफमा पुग्न असफल भएपछि राज्यले उनलाई अन्याय गरेको ट्रम्पले बताएका थिए। अर्कोतर्फ गभर्नरका उम्मेदवार हिल्टनले भने आफूले चुनावमा धाँधली भएको कुनै प्रमाण नदेखेको पटक–पटक स्पष्ट पारेका छन्।
हिल्टनले सीएनएनसँगको अन्तर्वार्तामा आफ्नो चुनावी टोली र वकिलहरू तयारी अवस्थामा रहे पनि राज्यको निर्वाचन प्रणालीको निष्पक्षतामाथि शङ्का गर्ने कुनै आधार नभेटिएको बताएका थिए। यस विषयमा अभियोजक एसेली र हिल्टनका प्रवक्ता दुवैले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।
प्रतिक्रिया 4