+
+
Shares

तिलोत्तमाको बजेट ३ अर्ब ५ करोड, सडक मर्मत वर्ष घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १० गते १७:३६

१० असार,बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ५ करोड ६७ लाख ८८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले नगरसभाको २१औं अधिवेशनको बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गरेकी हुन् ।

नगरपालिकाले आगामी वर्ष पूर्वाधार विकास, शिक्षाको गुणस्तर सुधार, कृषि आधुनिकीकरण र सुशासनलाई मुख्य प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।

प्रस्तुत बजेटमा कुल विनियोजनमध्ये आर्थिक विकासतर्फ ४५ करोड ७४ लाख २५ हजार, सामाजिक विकासतर्फ ६७ करोड ४८ लाख ५५ हजार, पूर्वाधार विकासतर्फ १ अर्ब ७ करोड ८० लाख ७९ हजार, वन वातावरण तथा विपत् व्यवस्थापनतर्फ ४३ करोड ८४ लाख २९ हजार र सुशासन तथा संस्थागत विकासतर्फ ४० करोड ८० लाख छुट्याइएको छ ।

पूँजीगत खर्चका लागि १ अर्ब ६७ करोड ८४ लाख ६६ हजार रुपैयाँ अर्थात कुल बजेटको ५४.९१ प्रतिशत वजेट विनियोजन गरिएको छ ।

यसैगरी चालु खर्चतर्फ ९२ करोड ३८ लाख २२ हजार रुपैयाँ अर्थात ३०.२२ प्रतिशत, सामाजिक सुरक्षातर्फ ४५ करोड रुपैयाँ अर्थात १४.७२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४५ लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।

आगामी आर्थिक वर्षको खर्च बेहोर्ने स्रोततर्फ तिलोत्तमाले आन्तरिक राजस्वबाट ३६ करोड ६ लाख २५ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । बाँकी २ अर्ब ६९ करोड ६१ लाख ६३ हजार रुपैयाँ संघीय र लुम्बिनी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँट तथा चालु आर्थिक वर्षको नगद मौज्दातबाट बेहोरिने उपप्रमुख चौधरीले जानकारी दिइन् ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख चौधरीले चालु आर्थिक वर्ष २०८२/८३ को खर्चको स्थिति सन्तोषजनक नरहेको तथ्यांक सार्वजनिक गरिन् ।

चालु आवमा कुल २ अर्ब ९२ करोड ९३ लाख ४८ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म १ अर्ब ६३ करोड ५८ लाख ९ हजार रुपैयाँ अर्थात करिब ५३ प्रतिशत मात्र खर्च हुन सकेको छ । जसमध्ये चालुतर्फ ७३ प्रतिशत र सामाजिक सुरक्षातर्फ ८३ प्रतिशत खर्च भए पनि पूँजीगततर्फ भने समीक्षा अवधिसम्म जम्मा ३३ प्रतिशत मात्र बजेट खर्च भएको छ ।

आन्तरिक राजस्वतर्फ भने ३३ करोड संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म २५ करोड २९ लाख रुपैयाँ अर्थात ७७ प्रतिशत राजस्व संकलन भइसकेको प्रतिवेदनमा उल्लेख छ ।

यसपटकको बजेटमा तिलोत्तमाले भौतिक पूर्वाधारलाई विशेष जोड दिँदै आगामी आर्थिक वर्ष २०८३/८४ लाई सडक मर्मत वर्ष घोषणा गरेको छ । नगरभित्रका रणनीतिक र आर्थिक महत्त्वका पक्की सडकहरूको मर्मत सम्भार र स्तरोन्नतिका लागि वडा कार्यालयको बजेटसँग म्याचिङ हुने गरी ७ करोड ८२ लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।

त्यस्तै, स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन ऐतिहासिक पुरानो सडकलाई स्वर्णिम र बहुवर्षीय योजनाका रूपमा निर्माण थाल्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ भने ‘एक वडा एक किलोमिटर सडक’ कार्यक्रमलाई निरन्तरता दिन ८ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ ।

यसबाहेक खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूसँगको सहकार्यमा वडा नम्बर १० देखि १७ सम्म मासिक १० हजार लिटरसम्म पानी खपत गर्ने उपभोक्तालाई महसुलमा ५० प्रतिशत छुट दिने लोककल्याणकारी कार्यक्रम पनि बजेटमा समेटिएको छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि बजेटले नयाँ कार्यक्रमहरू अघि सारेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न ‘एक विद्यालयः एक स्मार्ट बोर्ड’ कार्यक्रमका लागि ३५ लाख र सबै सामुदायिक विद्यालयका बालविकास कक्षालाई वातानुकूलित बनाउन ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्राविधिक शिक्षातर्फ सिटी कलेजमा डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ स्टाफ नर्स कक्षा सञ्चालनका लागि २० लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।

स्वास्थ्यतर्फ आनन्दवन र सेमरा बजार स्वास्थ्य चौकीमा संचालित गर्भवती तथा सुत्केरी पोषण कार्यक्रमलाई निरन्तरता दिँदै यसै वर्षदेखि ‘तिलोत्तमा सुलभ ल्याब’ सञ्चालनमा ल्याउने घोषणा गरिएको छ ।

कृषि क्षेत्रको आधुनिकीकरणका लागि एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत विभिन्न बालीका पकेट क्षेत्रहरूलाई बजेट विनियोजन गरिएको छ ।

उत्पादनमा आधारित दूध अनुदान कार्यक्रम अन्तर्गत गाई र भैंसीको दूधमा प्रतिलिटर २ रुपैयाँका दरले अनुदान दिन ६५ लाख रुपैयाँ छुट्याइएको छ भने छाडा चौपाया व्यवस्थापनका लागि तिलोत्तमा गौशालालाई २० लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।

पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै तिलोत्तमाले वित्तीय कारोबार पारदर्शी बनाउन र जोखिम न्यूनीकरण गर्न नगरभित्रका सबै सहकारी संस्थाहरूलाई अनिवार्य रूपमा सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणालीमा आबद्ध गराउन १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?