१० असार, बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–९ तल्लादेहीस्थित खेती माध्यमिक विद्यालयका प्रधानाध्यापकले एक विद्यार्थीलाई कुटपिट गरेको आरोप लागेको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बुधबार बिहान करिब ११ः४० बजे विद्यालयका प्रधानाध्यापक धवलसिंह भण्डारीले कक्षा ८ मा अध्ययनरत १२ वर्षीय तेजसिंह भण्डारीलाई कुटपिट गरी घाइते बनाएको आरोप छ ।
कुटपिटबाट घाइते भएका विद्यार्थीलाई साथीहरूले उपचारका लागि तल्लादेही स्वास्थ्य चौकी पुर्याएका थिए।
उनको मुख, टाउको, हातखुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवन तिमल्सिनाले जानकारी दिए ।
विद्यार्थीको अवस्था थप परीक्षण तथा उपचारका लागि धनगढी रेफर गरिएको प्रहरी तिमल्सिनाले बताए ।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट तल्लादेहीबाट प्रहरी सहायक निरीक्षक नैनसिंह धामीको कमाण्डमा तीन सदस्यीय टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीले कुटपिटको कारण खुल्न बाँकी रहेको जनाएको छ। घटनामा संलग्न प्रधानाध्यापक भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया 4