११ असार, चितवन । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६८ करोड २४ लाख २८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष माया सिलवालले बजेट प्रस्तुत गरेकी हुन् ।
गाउँपालिकाले सामाजिक विकासलाई उच्च प्राथमिकतामा राख्दै २६ करोड ९५ लाख ६९ हजार रुपैयाँ विनियोजन गरेको छ ।
त्यसैगरी पूर्वाधार विकासका लागि २२ करोड २६ लाख ९३ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ६ करोड ४२ लाख, आर्थिक विकासका लागि ५ करोड ११ लाख ८२ हजार तथा वन, वातावरण र विपद् व्यवस्थापनका लागि ८८ लाख ७२ हजार रुपैयाँ छुट्याइएको छ ।
यातायात पूर्वाधार सुदृढीकरणका लागि मुख्य बस्ती र वडा केन्द्र जोड्ने उद्देश्यसहित दुई दर्जनभन्दा बढी ग्रामीण सडकको स्तरोन्नति तथा पक्की ढलान गर्न ५ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ । साथै, धमिली खोलामा पक्की पुल निर्माण कार्यलाई पनि प्राथमिकतामा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य, शिक्षा, कृषि र भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखिएको बताए ।
उनका अनुसार चालु आर्थिक वर्षको अन्त्यदेखि इच्छाकामना आधारभूत अस्पतालबाट २४सै घण्टा चिकित्सक र प्रयोगशाला सेवासहितको स्वास्थ्य सेवा सुनिश्चित गर्ने काम अघि बढाइनेछ । साथै, विपन्न नागरिकका लागि नि:शुल्क स्वास्थ्य बिमा, असहाय, गर्भवती तथा दुर्घटनामा परेका व्यक्तिलाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ ।
पालिका क्षेत्रबाट नि:शुल्क फोहोर संकलन गर्दै आएको कार्यक्रमलाई पनि निरन्तरता दिइने अध्यक्ष गुरुङले बताए ।
पूर्वाधार विकासअन्तर्गत हात्तीबाङ–काउले–हपनी, फिस्लिङ–सिरानगाउँ, चुम्लिङटार तथा मुग्लिन–तामिनलगायत मुख्य ग्रामीण सडकमा पक्की ढलान र कालोपत्रे सम्पन्न भएको उनले जानकारी दिए। त्यसैगरी कालिङ, चौकीडाँडा, भोटेगाउँलगायत क्षेत्रमा खानेपानी आयोजनाहरू सम्पन्न भएका छन् ।
पर्यटन तथा वातावरण संरक्षणतर्फ ऐतिहासिक उपरदाङगढीको पुरातात्त्विक शैलीमा पुनर्निर्माण गरी ऐतिहासिक तोप तथा युद्ध सामग्री पुन:स्थापना गरिएको विषय गाउँपालिकाको गौरवको परियोजनाका रूपमा रहेको अध्यक्ष गुरुङको भनाइ छ ।
प्रतिक्रिया 4