News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्वकपको फाइनल खेलमा सहभागी भई विजेतालाई ट्रफी हस्तान्तरण गर्ने बताएका छन् ।
- फिफा र ट्रम्पको निकटताले खेलकुदको राजनीतिक तटस्थतामाथि प्रश्न उठाउँदै विश्लेषक र पूर्वपदाधिकारीहरूले यसलाई आचारसंहिताको गम्भीर उल्लङ्घन भएको बताएका छन् ।
- अमेरिकी विदेश मन्त्रालयले सन् २०२६ को विश्वकप र ओलम्पिकलाई सफ्ट पावरका रूपमा प्रयोग गर्दै आफ्नो कूटनीतिक प्रभाव बढाउने रणनीति अघि सारेको छ ।
१४ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्वकपको फाइनल खेलमा सहभागी हुने र ट्रफी हस्तान्तरणमा सरिक हुने फिफा अध्यक्ष जियानी इन्फान्टिनोले बताएका छन् ।
ट्रम्पले यस विश्वकपमा अहिलेसम्म कुनै पनि खेल हेरेका छैनन् । तर बीबीसीको रिपोर्ट अनुसार, न्युजर्सीको मेटलाइफ स्टेडियममा जुलाई १९ मा हुने फाइनल खेलअघि उनी मैदानमा उपस्थित हुन सक्ने सम्भावना छ ।
११ जुनमा सुरु भएको फिफा विश्वकप २०२६ अमेरिकासहित क्यानडा, मेक्सिकोमा आयोजना भइरहेको छ ।
फिफा अध्यक्ष इन्फान्टिनोले सञ्चार माध्यम फक्ससँग कुरा गर्दै भने, ‘हामी राष्ट्रपतिसँगै फाइनल खेलको आनन्द लिनेछौँ र विजेतालाई ट्रफी हस्तान्तरण गर्नेछौँ ।’
उनीहरूले सँगै ट्रफी प्रदान गर्ने हुन् कि होइनन् भनी सोधिएको प्रश्नमा इन्फान्टिनोले थपे, ‘अवश्य पनि, हामी सधैँ सँगै हुन्छौँ ।’
यस प्रतियोगिताका १०४ खेलहरूमध्ये ७८ वटा खेलको आयोजना अमेरिकाले गरिरहेको छ भने बाँकी खेलहरू मेक्सिको र क्यानडामा भइरहेका छन् ।
ह्वाइट हाउसको विश्वकप कार्यदलका कार्यकारी निर्देशक एन्ड्रयू जुलियानीले ‘द टेलिग्राफ’ लाई बताएअनुसार ट्रम्प ‘मानिसहरूलाई कौतुहलतामा राख्न’ रुचाउँछन् र आफ्नो व्यस्त तालिकाका कारण अहिलेसम्म कुनै पनि खेलमा उपस्थित हुन सकेका छैनन् ।
ट्रम्प गत हप्ता ह्वाइट हाउसमा आयोजित यूएफसीको कार्यक्रममा सहभागी भएका थिए । हालै न्युयोर्कमा एनबीएको फाइनल खेल हेर्न पुग्ने उनी पहिलो अमेरिकी राष्ट्रपति बनेका थिए । त्यहाँ दर्शकहरूले उनीविरुद्ध हुटिङ गरेका थिए। उनले हेरेको उक्त तेस्रो खेलमा विजेता बनेको स्यान एन्टोनियो स्पर्सले न्युयोर्क निक्सलाई ११५–१११ ले पराजित गरेको थियो ।
गत वर्षको गर्मीयाममा मेटलाइफ स्टेडियममै चेल्सीका कप्तान रिस जेम्सलाई क्लब विश्वकपको ट्रफी हस्तान्तरण गरेपछि ट्रम्प विजेताहरूको पोडियममै बसिरहेका थिए । उनको हर्कत देखेर त्यहाँ उपस्थित केही खेलाडीहरू अलमलमा परेका थिए ।
इरान युद्धको प्रसंग होस्, या उनको सार्वजनिक जीवन ट्रम्प आलोचित भइरहेका छन् । कूटनीतिक रूपमा उनी सफ्ट पावरभन्दा पनि हार्ड पावरमा विश्वास गर्ने देखिन्छन् । तर, उनले खेलकुद मार्फत आफ्नो ‘मागा’ अभियानको प्रदर्शन गरेको देख्दा भने उनले खेलकुदलाई सफ्ट पावरको रूपमा प्रयोग गरेको देखिन्छ ।
ट्रम्पको विश्वकप एजेन्डाले अमेरिकाको विदेश नीतिलाई पनि एउटा नयाँ दिशामा धकेलेको छ । पोलिटिकोको विश्लेषणअनुसार, ‘अमेरिकी विदेश मन्त्रालयले अब आफ्नो नाम बदलेर ‘खेलकुद मन्त्रालय’ राख्दा पनि हुने देखिन्छ ।’
‘पोलिटिको’ ले प्राप्त गरेका सरकारी कागजात र मन्त्रालयका अधिकारीहरूसँगको कुराकानीअनुसार, विश्वकपलाई विदेश मन्त्रालय कत्तिको महत्त्वपूर्ण छ भन्ने कुरा प्रमाणित गर्ने मौकाका रूपमा हेरिएको छ । यी कागजातहरूमा ‘स्पोर्ट्स डिप्लोमेसी प्लेबुक’ सामेल छ ।
यस निर्देशिकामा विश्वकप र ओलम्पिकजस्ता ठूला खेलहरूलाई अमेरिकाको ‘सफ्ट पावर’ र विदेशी लगानी बढाउन कसरी प्रयोग गर्ने भन्ने योजना लेखिएको छ । साथै यसमा ट्रम्पका केही सामाजिक नीतिहरूलाई अगाडि बढाउने कुरा पनि समेटिएको छ ।
गत डिसेम्बरमा विदेश मन्त्रालयका कर्मचारीहरूलाई ९ पृष्ठको एउटा ‘स्पोर्ट्स डिप्लोमेसी प्लेबुक’ वितरण गरिएको थियो । यसमा प्रशासनले ‘खेलकुदको दशक’ भनेर नाम दिएको अवधिलाई कसरी उपयोग गर्ने भन्ने कुरा लेखिएको छ । यस दशकअन्तर्गत अमेरिकाको भूमिमा आयोजना हुने सन् २०२६ को विश्वकप, २०२८ र २०३४ को ओलम्पिक खेलहरू र अन्य ठूला खेलकुद प्रतियोगिताहरू पर्दछन् ।
ट्रम्प आफ्नो सन् २०१६ को पहिलो कार्यकालदेखि नै फिफाको नजिक थिए । उक्त समय फिफा इतिहासकै सर्वाधिक निकृष्ट स्थानमा रहेको थियो । फिफामाथि भ्रष्टाचारको आरोप लागेको थियो । २० करोड डलरभन्दा बढी घुस लिएको आरोपमा वरिष्ठ फुटबल अधिकारीहरू पक्राउ परेका थिए ।
त्यसपछि फिफा अध्यक्षको रूपमा सेप ब्लाटरले राजीनामा दिएपछि इन्फान्टिनोको उदय भएको हो । एफबीआइले अन्तर्राष्ट्रिय अपराधको नमुना मानेको फिफासँग २०२६ को विश्वकपको आयोजनाका लागि ट्रम्पले सामीप्य बढाएको देखिन्छ ।
यसअघि पनि ट्रम्पले यस विषयमा बोलेको पाइन्छ । ‘उनीहरूले मलाई यस अभियानमा सामेल गराउन लगातार फोन गरिरहेका थिए । जब मैले विश्वकप शब्द सुनेँ, म यो गर्न चाहन्थेँ,’ उनले भनेका थिए ।

यसपटकको विश्वकप र ट्रम्पलाई लिएर धेरै चर्चा र आलोचना भएको छ । ट्रम्पको विश्वकप एजेन्डाले अमेरिकाको विदेश नीतिलाई पनि एउटा नयाँ दिशामा धकेलेको छ ।
फिफाको स्थापित इतिहास र तटस्थताको सिद्धान्त विपरीत आएको यो निर्णयलाई लेकर विश्वभरका खेल विश्लेषक, सञ्चारकर्मी र स्वयं खेलाडीहरूले आ-आफ्नो धारणा र असन्तुष्टि सार्वजनिक गर्न थालेका छन् ।
खेलकुद विश्लेषकहरूले फिफाको यो कदमलाई संस्थाको राजनीतिक तटस्थताको नियम विपरीत र शक्तिको अगाडि घुँडा टेकेको रूपमा व्याख्या गरेका छन् ।
प्रख्यात खेल इतिहासकार तथा फुटबल विश्लेषक डेभिड गोल्डब्लाट इन्फान्टिनोले अमेरिकी राष्ट्रपतिलाई खुसी पार्न चालेको कदमको आलोचना गर्दै उनले ‘द न्यूयोर्क टाइम्स’ सँग भनेका छन्, ‘एक सनकी, आत्मकेन्द्रित र प्रतिशोधी नेतालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा इन्फान्टिनोलाई राम्रोसँग थाहा छ । उनी तडकभडक र चापलुसीको मिश्रणबाट यस्ता नेतालाई प्रभावित पार्न सकिन्छ भन्ने विश्वास राख्छन् ।’
फिफा सुशासन समितिका पूर्व अध्यक्ष मिगुएल मादुरो पनि फिफाको आन्तरिक स्वतन्त्रता र तटस्थ छवि संकटमा परेको औंल्याएका छन् । मादुरोले भनेका छन्, ‘फिफा नेतृत्वले अब संस्थाको तटस्थ छवि कायम राख्नुपर्छ भन्ने संस्थागत दबाब महसुस गर्न छाडेको देखिन्छ।’
यसअघि पनि मादुरो ट्रम्प र इन्फान्टिनोका कदमहरू प्रति आलोचनात्मक रूपले हेरेका थिए । इन्फान्टिनोले ट्रम्पको राजनीतिक एजेन्डालाई खुला रूपमा समर्थन र प्रशंसा गरेकोमा कडा आपत्ति जनाएका छन् ।
उनले इन्फान्टिनोको यस्तो कदम फिफा आचारसंहिताको धारा १५ को स्पष्ट उल्लङ्घन भएको बताएका छन् । यो धाराले फिफा र यसका पदाधिकारीहरूलाई राजनीतिक मामिलामा पूर्ण रूपमा तटस्थ रहन निर्देश गर्दछ ।
प्रतिक्रिया 4