१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ शुक्रबार सम्पन्न खेलमा ट्युनिसियालाई पराजित गर्दै नेदरल्यान्डस् समुह ‘एफ’को विजेता बनेको छ ।
भर्खरै सम्पन्न खेलमा नेदरल्यान्डस्ले ३–१ गोलअन्तरले ट्युनिसियालाई पराजित गरेको हो ।
नेदरल्यान्डस्ले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो । ट्युनिसियाका इलएस सखिरीले खेलको ३ मिनेटमै आत्मघाती गोल गरेका थिए ।
त्यसपछि खेलको सातौं मिनेटमा नेदरल्यान्डस्का ब्रायन ब्रोबेले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए ।
खेलको ५६ औं मिनेटमा ट्युनिसियाले एक गोल फर्काएको थियो । जसमा हाजेम मस्तुरीले गोल गरेका थिए ।
त्यसपछि ६२ औं मिनेटमा नेदरल्यान्ड्स्का जान पल भान हेक्केले टोलीका लागि तेस्रो गोल प्रहार गरेका थिए ।
त्यसपछि बाँकी समयमा थप गोल हुन सकेन र नेदरल्यान्डस्ले खेल ३–१ गोलअन्तरले जित्यो ।
यो जितसँगै नेदरल्यान्डस्को अंक तालिकामा ७ अंक भएको छ । जसमा दुई जित र एक बराबरी छ । यो अंक उसका लागि समुहको विजेता हुन पर्याप्त रह्यो ।
अब राउन्ड अफ ३२ मा नेदरल्यान्डस्ले मोरक्कोसँग खेल्नेछ ।
समुह ‘एफ’कै अर्को खेलमा जापान र स्विडेनले १–१ गोलको बराबरी खेले । जसले अंक तालिकामा जापान ५ अंकसहित समुहको उपविजेता बन्दै नकआउट चरणमा पुग्यो । स्विडेन ४ अंक सहित तेस्रो स्थानमा रह्यो । जुन नकआउट चरणमा पुग्न पर्याप्त बन्यो ।
ट्युनिसिया भने जितविहीन रहँदै समूह चरणबाटै बाहिरिएको छ ।
प्रतिक्रिया 4