१२ असार, चितवन । रास्वपा महाधिवेशनमा पार्टीका पदाधिकारीहरू एक तिहाई प्रतिनिधिहरूको मतका आधारमा नै विजयी भएका छन् । व्यवस्थापनको भद्रगोल र निर्वाचनको लम्बेतान प्रक्रियाका कारण दुई तिहाइ महाधिवेशन प्रतिनिधिहरू घर फर्केपछि अन्तिम दिन शुक्रबार पदाधिकारी चयनमा मत हाल्ने संख्या घटयो ।
रास्वपाको निर्वाचन आयोग अनुसार महाधिवेशनमा ४१ सय आसपास प्रतिनिधि थिए । गत मंगलबार नै मतदान प्रक्रिया सुरू हुनुपर्ने थियो । तर लम्बियो । मतदानको निश्चित नहुँदा प्रतिनिधिहरू बुधबार बिहानबाटै घर फर्किन थालेका थिए ।
केन्द्रीय सदस्यहरूकै मतदान ढिलो भएपछि प्रतिनिधिहरू हिँड्न थाले अनि बुधबार अबेर रातिबाट मतदान सुरु गरिएको थियो । त्यसैले केन्द्रीय समितिको निर्वाचनमै सबै मत खसेन । बिहीबार निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार केन्द्रीय समितिमा २९५९ मत खसेको थियो । त्यस अनुसार ११ सय बढी प्रतिनिधिले केन्द्रीय सदस्यलाई पनि मत दिएनन् ।
केन्द्रीय सदस्यको निर्वाचन लगत्तै पदाधिकारीको मतदान प्रक्रिया सुरु नहुँदा थप प्रतिनिधि घर फर्के । उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा भएको मतदानमा शुक्रबार १२८९ मत मात्रै खस्यो ।
यो मत केन्द्रीय सदस्यलाई खसेको भन्दा १६७० कम मत हो । कूल प्रतिनिधिको एकतिहाई संख्याले पदाधिकारी चयन भएका छन् । दुई तिहाइ प्रतिनिधिहरू मतदान प्रक्रियामै सहभागी भएनन् ।
प्रतिनिधिको संख्या उल्लेख्य घटेको हुँदा उपलब्धहरुबाट प्राप्त कम मतले पनि पदाधिकारीले जित्ने अवस्था बनेको छ । केन्द्रीय सदस्यमा निर्वाचित हुँदा २६४१ मत ल्याएकी सोविता गौतमले उपसभापति पदमा जित्दा ७८९ मत ल्याउँदा पनि निर्वाचित हुने अवस्था बनेको छ ।
महामन्त्री उम्मेदवार बनाउँदा गुटगत गन्ध
रास्वपामा सुरूदेखि नै प्यानलगत गुटगत चुनाव नलड्ने भन्दै सभापति रवि लामिछानेले भन्दै आएका थिए । केन्द्रीय समितिको चुनाव हुँदा त्यसको खासै गन्ध आएन । तर जब पदाधिकारीको चुनाव भयो यो चरणमा भने प्यानल नबने पनि केही नेताहरूले एक अर्कालाई समर्थन गरेको भन्दै संगठित सूचनाहरु बाहिर ल्याए ।
सभापति पदपछि अर्को कार्यकारी पदका रुपमा रहेको महामन्त्री पदमा को को ? आंकाक्षी होलान् भन्ने चासो थियो । महामन्त्रीमा उम्मेदवारी दर्ता गर्नेमा सुरुमा १० जना थिए ।
कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, जगदिश खरेल, रञ्जु दर्शना, गणेश कार्की, सागर ढकाल र विपिनकुमार आचार्यले महामन्त्रीको उम्मेदवारी दर्ता गरेका थिए ।
शुक्रबार विहान १०:३० बजेतिर कबिन्द्र बुर्लाकोटी र जगदिश खरेलले उम्मेदवारी फिर्ता लिएको जानकारी गराइयो ।
अपरान्ह १२ बजे महामन्त्रीमा दाबी गर्नेको संख्या थप घट्यो । प्रमोद न्यौपाने, राजुनाथ पाण्डे र गणेश पराजुली प्रतिस्पर्धाबाट बाहिरिने निर्णय लिए ।
महामन्त्रीका उम्मेदवार विपिनलाई बुर्लाकोटी, न्यौपाने र पराजुलीले समर्थन गर्ने घोषणा गरे । त्यसको केही समयपछि महामन्त्रीको अर्को दाबेदार रञ्जु दर्शना पनि विपिनलाई साथ दिने गरी पछि हटिन् ।
यद्यपी, उम्मेदवारी फिर्ता लिने समय सकिएको हुँदा रञ्जुको नाम उम्मेदवारको सूचीमा कायम रह्यो ।

महामन्त्रीका आकांक्षी एकपछि अर्को गरी घट्नु र छोड्नेहरूले एउटै मञ्चमा गएर विपिन आचार्यलाई समर्थन गरेको भनेर पत्रकार सम्मेलन गर्नुले गुटगत गन्ध आएको रास्वपामा एक नेताले दाबी गरे । सभापति रवि पक्षले महामन्त्रीमा विपिनलाई निर्वाचित गराउन अन्यलाई पछि हट्न आग्रह गरेको गाइगुँई महाधिवेशनस्थलमै चल्यो ।
सभापतिकै चाहना अनुसार आकांक्षीले साथ दिएको ती नेताले बताए । यसअघि सहमहामन्त्री रहेका उनै आचार्य महामन्त्री पदमा निर्वाचित भएका छन् । गुटको प्रतिवाद गर्दै निर्वाचित महामन्त्री आचार्यले पहिलो महाधिवेशनसम्म जोडिने सम्पूर्ण रास्वपाको संस्थापन पक्ष भएको दाबी गरे ।
बिहीबार अबेर राति पनि सभापति रविले महामन्त्रीका आकांक्षीहरू सबैसँग छुट्टा छुट्टै छलफल गरेका थिए । त्यस अनुसार परराष्ट्रमन्त्री समेत रहेका शिशिर खनालले उम्मेदवारको आकांक्षाबाट पछि हटेका थिए ।
पदाधिकारीमा गुटगत प्रतिस्पर्धा हुन लागेको आशंका सहित सोधिएको प्रश्नमा प झाले भने,‘रवि दाइले यहाँ आएर समूहगत राजनीतिक अभ्यास नगर्नू है भन्नुभएको थियो । उहाँकै छायामा कसैले गर्दै हुनुहुन्छ भने सभापतिज्यूलाई जानकारी छैन ।’ सभापतिसँग झाको थप आग्रह थियो,‘आदरणीय रवि लामिछानेज्यूलाई अनुरोध गर्छु– यो गुटबन्दीको प्रयास गर्नेहरुलाई कारबाही गर्दिनुस् न ।’
त्यसो त उपसभापति पदमा समेत गुटगत प्रतिस्पर्धा भएको नेताहरुको विश्लेषण छ । तीन उपसभापति मध्ये डा. स्वर्णिम वाग्लेका लागि विराजभक्त श्रेष्ठले बाटो सहज गरिदिएपछि निर्विरोध भए । अर्को एक पद मनोनीत हुनेछन् । बाँकी अर्को एक पदमा महिलाबाट छानिनु पर्दछ ।
दुई जना सोबिता गौतम र तोसिमा कार्कीले उपसभापतिमा प्रतिस्पर्धा गरे । नेताहरूका अनुसार सभापति रवि पक्षधरको साथ सोबितालाई छ । सभापति रवि निकट परिचित प्रतिभा रावल सोविताको प्रस्तावक बसेकी थिइन् । सह-महामन्त्रीमा प्रतिस्पर्धा गरेका केही अनुहार सभापति र केही प्रधानमन्त्री बालेन्द्र शाह पक्षधर देखिएका छन् ।
प्रतिक्रिया 4