News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले सातामा पाँच दिन मात्र अदालत सञ्चालन हुँदा मुद्दाको नियमित कार्यतालिका प्रभावित भएको बताएका छन् ।
- कार्यबोझ बढ्दा 'छोटो लुगाले टाउको छोप्दा खुट्टा देखिने' अवस्था आएको भन्दै उनले मुद्दा व्यवस्थापन चुनौतीपूर्ण बनेको स्वीकार गरेका छन् ।
- अदालतले बार र महान्यायाधिवक्तासँग समन्वय गरी अग्राधिकार प्राप्त मुद्दाहरूको छिटो फर्स्योटका लागि नियमित छलफल गरिरहेको उनले उल्लेख गरेका छन् ।
१३ असार, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले अदालतको कार्यदिन हप्तामा ५ दिन बनाइएपछि मुद्दाको नियमित कार्यतालिका प्रभावित भएको बताएका छन् ।
कार्यदिन कटौतीले मुद्दा व्यवस्थापनमा जटिलता थपिएको भन्दै उनले यसलाई सन्तुलनमा ल्याउन अदालत क्रियाशील रहेको उल्लेख गरेका हुन् । न्यायाधीश पौडेलले थुनुवा भएका मुद्दा, सार्वजनिक सरोकारका विवाद (पीआईएल) र मानाचामल जस्ता शिघ्र किनारा लगाउनुपर्ने ‘अग्राधिकार’ प्राप्त मुद्दाहरूको व्यवस्थापनमा कार्यबोझ बढेको स्वीकार गरे ।
‘अग्राधिकार प्राप्त मुद्दाका सम्बन्धमा वास्तवमै यहाँले सही कुरा उठाउनु भयो । हामी यस विषयमा उत्तिकै चिन्तित छौँ । थुनुवाको मुद्दा प्राथमिकता दिनुपर्ने मुद्दा हो । सार्वजनिक हितको रिट पनि उत्तिकै जरुरी छ । त्यसैगरी, खान–लाउन नपाएको मान्छेको मुद्दा पनि उत्तिकै महत्त्वपूर्ण छ । अब कुनलाई प्राथमिकता दिने ?,’ उनले भने, ‘अहिले फेरि छ दिनबाट पाँच दिन भएपछि हाम्रो कार्यतालिका नै बिग्रिएजस्तो स्थिति भइरहेको छ । त्यसकारण हाम्रो मुद्दा व्यवस्थापन समितिमा छलफल गरेर, बारसँग समन्वय गरेर, महान्यायाधिवक्तासँग पनि छलफल गरी सम्माननीयज्यू स्वयं बसेर ‘ल, यसो गरौँ’ भनेर नियमित रूपमा छलफल भइरहेको हुन्छ ।’
मुद्दाको प्रभावकारी व्यवस्थापनका लागि अदालतको मुद्दा व्यवस्थापन समिति, नेपाल बार एशोसिएशन, महान्यायाधिवक्ता र प्रधानन्यायाधीशबीच नियमित छलफल भइरहेको उनले जानकारी दिए ।
अत्यधिक कार्यबोझ र सिमित समयलाई संकेत गर्दै उहाँले छोटो लुगाले टाउको छोप्दा खुट्टा देखिने र खुट्टा छोप्दा टाउको देखिने जस्तै चुनौतीपूर्ण स्थिति भएको टिप्पणी गरे ।
‘उखानै छ नि–‘छोटो लुगा माथि टाउकोतिर छोप्दा तल देखिने, तल छोप्दा माथि देखिने ।’ अहिले हाम्रो अवस्था पनि त्यस्तै भइरहेको हो । हाम्रो कार्यबोझ धेरै छ । त्यसलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्न सकियो भने समस्या नहोला,’ उनले भने, ‘तर अदालतले अग्राधिकार प्राप्त मुद्दालाई कसरी प्राथमिकता दिने, पुराना मुद्दा कसरी छिटो फर्स्योट गर्ने भन्ने विषयमा यहाँहरू जत्तिकै हामी पनि चिन्तित छौँ भन्ने कुरा म निवेदन गर्न चाहन्छु ।’
प्रतिक्रिया 4