News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो तस्वीर अंकित नयाँ राहदानीको नमुना सार्वजनिक गरेका छन् ।
- ह्वाइट हाउसले यसलाई ‘प्याट्रियट पासपोर्ट’ नाम दिएको छ जसमा राष्ट्रपति ट्रम्पको गम्भीर मुद्राको तस्वीर समावेश छ ।
- ट्रम्प अमेरिकी इतिहासमा देशको पासपोर्टमा आफ्नो तस्वीर अंकित गर्ने पहिलो बहालवाला राष्ट्रपति बनेका छन् ।
१३ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो तस्वीर अंकित राहदानी (पासपोर्ट) सार्वजिनक गरेका छन् ।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत उनले उक्त राहदानीको नमुना सेयर गर्दै लेखेका छन्, ‘अमेरिकाको नयाँ पासपोर्ट, जसले भन्छ– स्वागत छ, तर भद्र बन्नुहोला, वेलकम बट वी गुड ।’
उनले सार्वजनिक गरेको नमुना पासपोर्टमा आफ्नो गम्भीर मुद्राको तस्वीर छ ।
जहाँ राष्ट्रपति ट्रम्प आफ्नो कार्यकक्षको टेबलमा अडेस लागेर गम्भीर रूपमा हेरिरहेको देखिन्छन् । सँगै उनको हस्ताक्षर र पृष्ठभूमिमा अमेरिकी स्वतन्त्रताको घोषणापत्रको पाठ राखिएको छ ।
यो तस्वीर ह्वाइट हाउसका फोटोग्राफर ड्यानियल तोरोकले खिचेको पोट्रेटमा आधारित रहेको बुझिएको छ ।
पासपोर्टको अर्को पृष्ठमा सन् १७७६ मा स्वतन्त्रताको घोषणापत्रमा हस्ताक्षर भइरहेको क्षणको चित्र कोरिएको छ । जसमा ‘युनाइटेड स्टेट्स अफ अमेरिका २५०’ लेखिएको छ ।
ह्वाइट हाउसले पनि सोही नमुना सार्वजनिक गर्दै यसलाई ‘प्याट्रियट पासपोर्ट’ को नाम दिएको छ ।
अमेरिकी विदेश मन्त्रालयले यसअघि नै जुलाई ६ देखि ’कस्टम आर्टवर्क’ सहितको विशेष पासपोर्ट उपलब्ध गराइने घोषणा गरेको थियो ।
गत अप्रिलमा एक विभागीय अधिकारीले यो ट्रम्प–थिमको पासपोर्ट वासिङ्टनमा भौतिक रूपमा उपस्थित भई लिइने अपोइन्टमेन्टहरूमा मात्र र स्टक रहेसम्म उपलब्ध गराइने बताएका थिए ।
आफ्नो कार्यकालमा सरकारी संस्थाहरूमा व्यक्तिगत छाप छोड्ने रणनीतिअन्तर्गत ट्रम्पले थुप्रै सरकारी भवनहरू बाहिर राष्ट्रपतिका ब्यानरहरू फहराउन लगाएका छन् ।
ट्रेजरी विभागले उनको हस्ताक्षर चाँडै नै एक डलरको नोटमा छापिने जनाएको छ । यसअघि उनले प्रख्यात ‘जोन एफ. केनेडी सेन्टर फर द पर्फर्मिङ आर्ट्स’ मा पनि आफ्नो नाम थपेका थिए, जसलाई पछि अदालतको आदेशमा हटाइएको थियो ।
यस नयाँ कदमसँगै ट्रम्प अमेरिकी इतिहासमा देशको पासपोर्टमा तस्वीर अंकित हुने पहिलो बहालवाला राष्ट्रपति बन्ने भएका छन् ।
प्रतिक्रिया 4