+
+
Shares

सक्रिय हुने तरखरमा मनसुन, यो साता देशभर वर्षाको सम्भावना

मौसमविदहरुका अनुसार यो साता कुनै–कुनै ठाउँमा त धान रोप्न मिल्ने गरी पानी पर्ने सम्भावना छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते ६:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मनसुन सक्रिय हुन थालेकाले यस हप्ता देशभर वर्षा हुने र गर्मी केही कम हुने मौसमविदले बताएका छन् ।
  • तातो हावाको लहर चलेका लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा समेत यो साता मध्यम खालको वर्षा हुने र कतै भारी वर्षासमेत हुनसक्ने सम्भावना छ ।
  • कृषि कार्यका लागि पानी पर्ने वातावरण बनेकाले कोशीदेखि नारायणीसम्मका क्षेत्रमा धान रोपाइँको तयारी गर्न मौसमविदले सुझाव दिएका छन् ।

१४ असार, काठमाडौं । मनसुन बिस्तारै सक्रिय हुन थालेकाले यो हप्ता देशका धेरै ठाउँमा पानी पर्ने र गर्मी केही कम हुने मौसमविदले बताएका छन् ।

मौसमविदहरुका अनुसार कुनै–कुनै ठाउँमा त धान रोप्न मिल्ने गरी पानी पर्ने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेका अनुसार शुक्रबार र शनिबारसम्म तातो हावाको लहर झेलेका सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईवासीले पनि वर्षाका कारण राहत महसुस गर्नेछन् ।

‘लुम्बिनी प्रदेशको तराई भूभागमा मंगलबारको दिन थोरै ठाउँमा र बुधबारदेखि विहीबारसम्म धेरै ठाउँहरुमा मध्यम खालको पानी पर्ने सम्भावना छ,’ मौसमविद लामिछानेले भने, ‘सुदूरपश्चिम प्रदेशमा भने आइतबारदेखि मंगलबारभित्र थोरै ठाउँमा र बुधबारदेखि विहीबारसम्म केही ठाउँमा मध्यसम्मको वर्षा हुने सम्भावना छ ।

सुदूरपश्चिमका तराई क्षेत्रका एक–दुई ठाउँमा भने बुधबारदेखि विहीबारसम्म भारी वर्षाको पनि सम्भावना रहेको उनले जानकारी दिए ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा पनि विहीबारसम्म मध्यम खालको पानी पर्ने पूर्वानुमान छ । एक/दुई ठाउँमा भने भारी पानी पर्नसक्ने मौसमविद लामिछानेको भनाइ छ ।

मौसमविदहरुका अनुसार यो साता पश्चिमको तुलनामा पूर्वी नेपालमा बढी पानी पर्ने सम्भावना छ । कोशी प्रदेशको तराई भूभागमा बुधबारदेखि विहीबारसम्म धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना छ ।

मधेश, बागमती र गण्डकी प्रदेशको हकमा पनि मंगलबारसम्म केही ठाउँमा पानी पर्नेछ । तर, बुधबार र विहीबार भने धेरै ठाउँमा मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको उनले बताए ।

आइतबारदेखि विहीबारसम्म कोशी, मधेश र बागमतीको तराई भूभागका एक–दुई स्थानमा भने भारीदेखि धेरै भारीसम्म वर्षाको सम्भावना समेत छ ।

मौसमविद उज्ज्वल उपाध्यायका अनुसार पनि मंगलबारदेखि पूर्वमा मेचीदेखि पश्चिममा नारायणी नदी बीचका भूभागमा राम्रो वर्षाको सम्भावना छ ।

बुधबार काठमाडौं उपत्यका लगायत अन्य क्षेत्रमा पनि राम्रो वर्षाको सम्भावना रहेको औंल्याउँदै उनी भन्छन्, ‘यी क्षेत्रमा धान रोपाइँको तयारी गर्दा हुन्छ ।’

अर्का मौसमविद डा. धर्मराज उप्रेती पनि केही दिनदेखि कमजोर मनसुन बिस्तारै सक्रिय हुने क्रममा रहेको बताउँछन् । असार १४ देखि १७ गतेसम्ममा मनसुन थप सक्रिय हुँदै पश्चिम नेपालमा पुग्ने अनुमान गर्दै उप्रेती भन्छन्, ‘असार १६ गतेदेखि १८ गतेसम्म थप सक्रिय हुने र मध्यमदेखि केही ठाउँमा भारी वर्षाको सम्भावनाले रोपाइँको वातावरण बनाउने जस्तो पनि देखिन्छ ।’

यस वर्षको मनसुन सरदर मितिभन्दा ६ दिन ढिलो अर्थात् असार ५ गते कोशी प्रदेशमा यस वर्षको मनसुन भित्रिएको थियो । असार ८ गते लुम्बिनीको पूर्वी भूभागसम्म मनसुन फैलिएको थियो । तर मनसुन निष्कृय भएका कारण राम्रोसँग वर्षा हुन सकेको छैन । वर्षा हुन नसकेकाले गर्मी झेल्नु परिरहेको छ ।

शनिबार दिउँसो ३:२० बजे सबैभन्दा धेरै अधिकतम तापक्रम बाँकेको बैजापुरमा ४०.१ डिग्री सेल्सियस मापन भएको थियो ।

शीतल महसुससँगै खेतिपातिका लागि आकाशेपानीको प्रतीक्षा गरिरहेकाहरुलाई भने यो साताको वर्षाले केही राहत मिल्ने मौसमविदको भनाइ छ । यद्यपि यस वर्षको मनसुन अवधिभर सरदरभन्दा कम वर्षा र बढी गर्मी हुने प्रक्षेपण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?