+
+
Shares

लौका, काउली र आलुमा भेटियो अत्यधिक विषादी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते ११:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएका तीन थरी तरकारीमा मापदण्डभन्दा बढी विषादी फेला परेको छ।
  • धादिङ, मकवानपुर र सल्यानबाट आएका लौका, काउली र आलुमा ६४ प्रतिशतभन्दा बढी विषादीको मात्रा पाइएको हो।
  • मानव स्वास्थ्यका लागि जोखिमपूर्ण ठहरिएका ती तरकारीहरूलाई बजारमा बिक्री गर्न नदिई समितिले नष्ट गरेको छ।

१४ असार, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएका तरकारीहरूमध्ये तीन थरी तरकारीमा अत्यधिक विषादीको मात्रा फेला परेको छ ।

कृषि विभाग अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले शुक्रबार गरेको नियमित प्रयोगशाला परीक्षणका क्रममा धादिङ, मकवानपुर र सल्यानबाट आएका लौका, काउली र आलुमा स्वास्थ्यका लागि हानिकारक मानिने उच्चस्तरको विषादी भेटिएको हो ।

प्रयोगशालाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार संकलन गरिएका १२ वटा नमुनामध्ये तीनवटामा अर्गानोफोस्फेट र कार्बोमेट समूहको विषादीको रोकावट दर ६४ प्रतिशतभन्दा माथि पाइएको छ ।

परीक्षणका क्रममा धादिङको गजुरी गाउँपालिकाबाट ल्याइएको लौकामा ६६.५१ प्रतिशत र मकवानपुरको थाहा नगरपालिकाबाट आएको काउलीमा ६४.५४ प्रतिशत विषादीको मात्रा भेटिएको थियो ।

त्यसैगरी, सल्यानबाट ल्याइएको आलुको एक नमुनामा समेत ६६.९९ प्रतिशत विषादी पाइएको छ, जुन स्वास्थ्यका दृष्टिले अत्यन्तै जोखिमपूर्ण मानिन्छ । प्रयोगशालाको मापदण्ड अनुसार विषादीको रोकावट दर ४५ प्रतिशतभन्दा बढी देखिएमा त्यस्ता उत्पादनहरू उपभोग गर्न नमिल्ने र अनिवार्य रूपमा विसर्जन गर्नुपर्ने प्रावधान रहेको छ ।

यी तीनवटै नमुनामा सो सीमाभन्दा निकै बढी विषादी पाइएकाले तिनलाई बजारमा बिक्री वितरण हुन नदिई नष्ट गरिएको कालीमाटी तरकारी बजार समितिले बताएको छ ।

प्रयोगशालाले ३५ प्रतिशत भन्दा कम विषादी भएकालाई खान योग्य, ३५ देखि ४५ प्रतिशतसम्म भएकालाई केही दिन राखेर मात्र प्रयोग गर्न मिल्ने र ४५ प्रतिशतभन्दा माथि दर भएकालाई सिधै नष्ट गर्दै आएको छ । शनिबार र आइतबार पनि तरकारीको दैनिक मूल्यसूची सार्वजनिक गर्दा विषादी परीक्षणको रिपोर्ट भने कालीमाटी बजारले सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?