+
+
Shares

इजरायलप्रतिको दृष्टिकोण बदल्दै अमेरिका, नेतान्याहुसँग रिपब्लिकनहरू पनि रुष्ट

युनिभर्सिटी अफ म्यारिल्यान्डको ‘क्रिटिकल इस्युज’ पोलका अनुसार १८ देखि ३४ वर्षका युवा रिपब्लिकनहरूमध्ये केवल २२ प्रतिशतले मात्र इजरायलको सैन्य कारबाहीलाई आत्मरक्षाको अधिकार भन्दै न्यायोचित ठानेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते १२:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी रिपब्लिकन पार्टीभित्र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजरायलप्रति रहँदै आएको परम्परागत समर्थनमा क्रमशः ह्रास आउन थालेको छ।
  • पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा युद्धविराममा असहयोग गरेको भन्दै नेतान्याहुलाई फोनमा आक्रोश पोख्दै कडा चेतावनी दिएको खुलासा भएको छ।
  • प्यू रिसर्च सेन्टरको सर्वेक्षण अनुसार १८ देखि ४९ वर्ष उमेर समूहका ५७ प्रतिशत रिपब्लिकनहरूले इजरायलप्रति नकारात्मक दृष्टिकोण राखेका छन्।

१५ असार, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका लागि अमेरिकी राजनीतिमा बलियो किल्ला मानिने रिपब्लिकन पार्टीभित्रै उनी र उनको देश इजरायलप्रतिको समर्थन कमजोर बन्न थालेको छ।

विगत १५ वर्षदेखि डेमोक्र्याट पार्टीभित्र आफ्नो घट्दो लोकप्रियतालाई रिपब्लिकनहरूको बलियो साथबाट  सन्तुलनमा राख्दै आएका नेतान्याहुका लागि यो नयाँ घटनाक्रम गम्भीर चुनौती बन्ने देखिएको छ।

विशेष गरी इजरायली सैन्य कारबाहीका कारण गाजामा भएको व्यापक विनाश र त्यसपछि इरानसँगको युद्ध अन्त्य गर्ने अमेरिकी प्रयासमा नेतान्याहुले देखाएको असहयोगका कारण रिपब्लिकन पार्टीका शीर्ष नेता तथा युवा पुस्ता उनीसँग चिढिन थालेका हुन्।

यो राजनीतिक परिवर्तन रिपब्लिकन पार्टीको सर्वोच्च तहबाटै सुरु भएको पत्रकार म्यागी ह्याबरम्यान र जोनाथन स्वानको हालै प्रकाशित पुस्तक रेजिम चेन्ज ले खुलासा गरेको छ। पुस्तकका अनुसार गत वर्षको सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा युद्धविराम प्रस्ताव स्वीकार गर्न दबाब दिँदा नेतान्याहुले आनाकानी गरेपछि ट्रम्पले फोनमै आक्रोश पोखेका थिए।

त्यस क्रममा ट्रम्पले नेतान्याहुलाई अमेरिकी यहूदीहरू समेत उनीसँग वाक्क भइसकेको भन्दै यदि शान्ति प्रक्रियामा अघि नबढे दुई देशबीचको सम्बन्धमा ‘डिभोर्स’ को स्थिति आउने चेतावनी दिएका थिए।

स्रोतहरूका अनुसार, ट्रम्पले नेतान्याहुका कदमहरूले इजरायललाई विश्वभर थप एक्लो पार्ने भन्दै आक्रोश व्यक्त गरेका थिए । मिडिया अन्तर्वार्ताहरूमा भने सम्बन्ध राम्रो रहेको दाबी गरे पनि उनलाई ‘थोरै सन्तुलनमा राख्नुपर्ने’ टिप्पणी गरेका थिए।

पार्टीभित्र ट्रम्पका उत्तराधिकारीका रूपमा हेरिएका उपराष्ट्रपति जेडी भान्सले समेत इरान सम्झौताको विरोध गर्ने इजरायली अधिकारीहरूको आलोचना गर्दै इजरायलले आफ्नो एकमात्र शक्तिशाली मित्र राष्ट्रमाथि नै प्रहार गर्न नहुने भन्दै सचेत गराएका छन्।

यसै गरी रिपब्लिकन वृत्तमा ठूलो प्रभाव राख्ने ‘अमेरिका फस्ट’ धारका चर्चित सञ्चारकर्मीहरू टकर कार्लसन, मेगिन केली र मार्जोरी टेलर ग्रिनले पनि इजरायल विरोधी जनमत निर्माणमा भूमिका खेलिरहेका छन्।

रिपब्लिकन आन्तरिक राजनीतिमा इजरायलप्रतिको बफादारिता अब संस्थापन इतरका युवा कार्यकर्ताहरूका लागि ‘लिटमस टेस्ट’ जस्तै बनेको छ। निक फुएन्टेस जस्ता दक्षिणपन्थी अभियन्ताहरूले मूलधारका अनुदारवादीहरू इजरायलप्रति बढी वफादार भएको भन्दै वर्षौंदेखि गर्दै आएको आलोचना अहिले युवा रिपब्लिकन वृत्तमा गुञ्जिन थालेको छ।

क्यान्डस ओवेन्स र टकर कार्लसन जस्ता ठूला प्लेटफर्मका सञ्चारकर्मीहरूले इजरायललाई दिइने अन्धधुन्ध अमेरिकी समर्थनले ‘अमेरिका फस्ट’ को नीतिलाई वैदेशिक प्रभावबाट प्रदूषित बनाएको तर्क अघि सार्दै आएका छन्।

तथ्याङ्कहरूले पनि रिपब्लिकन सुरक्षा घेरामा परिरहेको दरारलाई स्पष्ट पार्छन् । प्यू रिसर्च सेन्टरको एक सर्वेक्षण अनुसार ४० प्रतिशत रिपब्लिकनहरू इजरायलप्रति नकारात्मक दृष्टिकोण राख्छन् । जसमा १८ देखि ४९ वर्ष उमेर समूहका ५७ प्रतिशत रिपब्लिकनहरू सामेल छन्।

क्विनिपियाक विश्वविद्यालयको हालैको सर्वेक्षण अनुसार हरेक पाँच जनामा एक जना रिपब्लिकनले अमेरिकाले इजरायललाई आवश्यकभन्दा बढी समर्थन गरिरहेको ठानेका छन्, जुन तीन वर्षअघिको तुलनामा तीन गुणा बढी हो।

युनिभर्सिटी अफ म्यारिल्यान्डको ‘क्रिटिकल इस्युज’ पोलका अनुसार १८ देखि ३४ वर्षका युवा रिपब्लिकनहरूमध्ये केवल २२ प्रतिशतले मात्र इजरायलको सैन्य कारबाहीलाई आत्मरक्षाको अधिकार भन्दै न्यायोचित ठानेका छन्।

यद्यपि, समग्र रिपब्लिकन पार्टी र कट्टर इसाई इभान्जेलिकल समुदायमा अझै पनि इजरायलप्रतिको परम्परागत सहानुभूति बलियो छ। ग्यालप पोलका अनुसार ७० प्रतिशत रिपब्लिकनहरू अझै पनि प्यालेस्टाइनको तुलनामा इजरायलकै पक्षमा उभिन्छन् । तर यो संख्या सन् २०२४ को तुलनामा १० अंकले ओरालो लागेको हो।

विश्लेषकहरूका अनुसार, अमेरिकी मतदाता र विशेष गरी युवा रिपब्लिकनहरूमा देखिएको यो गिरावट आगामी सन् २०२८ को राष्ट्रपतीय प्राथमिक निर्वाचन र त्यसपछिको अमेरिकी विदेश नीतिका लागि ठूलो चेतावनी हो।

अबको मुख्य चासो भनेको इजरायलको गुम्दै गएको यो साख समग्र देशप्रति लक्षित हो वा आगामी हिउँदमा चुनावी प्रतिस्पर्धाको सामना गरिरहेका नेतान्याहुको व्यक्तिगत नीतिका कारण हो भन्ने कुराले आगामी भविष्य तय गर्नेछ।

(एक्सियोसबाट)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?