१५ असार, रौतहट । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकार सुकुमवासी र किसानका समस्याप्रति अत्यन्तै अनुदार देखिएको आरोप लगाएका छन् ।
राष्ट्रिय धान दिवसको अवसरमा सोमबार रौतहटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री पौडेलले यस्तो आरोप लगाएका हुन् ।
सरकारले किसानका समस्या समाधान गर्न बजेटमा कुनै विषय नल्याएको पनि दाबी गरे ।
‘यहाँका किसानहरूले अथक मेहनत गरेर देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याइरहेका छन्,’ उनले भने, ‘तर, बिडम्बना समयमा मल र उपयुक्त बीउबिजनको अभाव हुँदा किसानले आफ्नो क्षमता र माटोको गुणस्तर अनुसार उत्पादन गर्न सकेका छैनन् ।’
महामन्त्री पौडेलले विगतमा कांग्रेसको नेतृत्वमा सरकार रहँदा किसानको पक्षमा थुप्रै कामहरू भएको दाबी पनि गरे । उनले भने, ‘हिजो नेतृत्वमा रहँदा किसानका लागि काम नै नभएको होइन । तर अपेक्षित रुपमा किसानका सम्पूर्ण समस्या हल हुने गरी जसरी तीव्र गतिमा काम हुनुपर्ने थियो, त्यो हुन सकेन ।’
प्रतिक्रिया 4