+
+
Shares

महाधिवेशन आइसक्दा पनि क्रियाशीलकै किचलो

नेपाली कांग्रेसले आगामी १६–१९ असोजमा १५औं केन्द्रीय महाधिवेशन आयोजना गर्ने गरी केन्द्रीय कार्यसमिति बैठकबाट कार्यतालिका पारित गरिसकेको छ । तर क्रियाशील सदस्यता विवाद अझै टुंगिन सकेको छैन ।

केशव सावद केशव सावद
२०८३ असार १५ गते २०:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले आगामी १६–१९ असोजमा १५औं केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका पारित गरेर तयारी अघि बढाएको छ ।
  • क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि २० असारसम्म तोकिएको भए तापनि आन्तरिक विवादका कारण कामले अपेक्षित गति लिन सकेको छैन ।
  • कांग्रेसले देशभर नयाँ क्रियाशील सदस्यता वितरण अभियानमार्फत ३५ वर्षमुनिका युवालाई प्राथमिकतामा राखेर तीन लाख नयाँ सदस्य थप्ने लक्ष्य लिएको छ ।

१५ असार, काठमाडौं । नेपाली कांग्रेस १५औं महाधिवेशनको संघारमा छ । महाधिवेशनको कार्यतालिका नै सार्वजनिक गरिसकेको कांग्रेसले देशभर क्रियाशील सदस्यता अद्यावधिक र नयाँ सदस्यता वितरण अभियान तीव्र पारेको छ ।

महाधिवेशन मिति नजिकिँदै गर्दा सदस्यता अद्यावधिकको विवाद, संस्थापन इतर समूहको असहमति र संगठनभित्रको अविश्वासले महाधिवेशन तयारीमा भने चुनौती थपेको छ । पछिल्ला दिनमा संवादको प्रयास सुरु भए पनि कांग्रेसको आन्तरिक विवाद समाधान हुन सकेको छैन ।

कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट आगामी १६–१९ असोजमा १५औं केन्द्रीय महाधिवेशन आयोजना गर्ने गरी कार्यतालिका पारित गर्दै काम अघि बढाएको थियो ।

तर, कार्यतालिकाअनुसार कांग्रेसको सदस्यता अद्यावधिक र नयाँ सदस्यता वितरणको काम सम्पन्न हुन सकेको छैन । कांग्रेसले बैठकबाट वैशाख मसान्तभित्र सदस्यता अद्यावधिकको काम पूरा गरिसक्ने कार्यतालिका निर्धारण गरेको थियो ।

संस्थापन इतर समूहका नेताहरूको असहमतिका कारण अद्यावधिकको काम २८ जेठसम्म लम्बिएको थियो । पछिल्लो समय कांग्रेसले सदस्यता अद्यावधिक गर्न इच्छुक सदस्यहरूका लागि २० असारसम्मको समयावधि तोकेको छ ।

कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले ९ असारमा ‘पुन: स्मरणका लागि’ भन्दै सार्वजनिक गरेको कार्यतालिकामा २८ जेठभित्र सदस्यता अद्यावधिक गर्न छुटेकाहरूले स्वयं अद्यावधिक गर्ने समयसीमा २० असार उल्लेख गरिएको छ ।

यस्तै, नवीकरण नभएका क्रियाशील सदस्यता नवीकरण र अद्यावधिकको समय सीमा पनि २० असारसम्मलाई तोकिएको छ । १०–११ चैतमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले १५ असारसम्म केन्द्रले सदस्यतामा आवश्यक छानबिन गरेर टुंग्याउने समय तालिका निर्धारण गरेको थियो ।

उक्त समय तालिकाभित्र प्रारम्भिक छानबिन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन, विवाद र समस्या भएका स्थानको पहिचान गरी सदस्यता रुजु तथा अध्ययन गर्ने र अन्तिम टुंगोमा पुर्‍याउने भनिएको थियो ।

यस्तै, १५ असारभित्र सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सदस्यताको अन्तिम सूची  केन्द्रीय कार्यसमितिलाई बुझाउने पनि बैठकले निर्णय गरेको थियो ।

केन्द्रीय कार्यसमितिले असार मसान्तभित्र अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि तोकेको थियो । इच्छुक क्रियाशीलको सदस्यता अद्यावधिक र नयाँ सदस्यता वितरणको काम जारी रहेकाले तोकिएको समयावधिमा काम सम्पन्न हुनेमा आशंका छ ।

तर, क्रियाशील सदस्यता व्यवस्थापन केन्द्रीय समितिका सदस्यसमेत रहेका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ केन्द्रीय निर्वाचन समितिलाई नामावली बुझाउने काम तोकिएकै समयावधि भित्र हुने बताउँछन् ।

‘केन्द्रीय निर्वाचन समितिलाई नामावली बुझाउने काम तोकिएकै समयमा हुन्छ,’ उनले अनलाइनखबरसँग भने, ‘त्यो काम प्रभावित हुँदैन ।’ सहमहामन्त्री रसाइलीले कार्यतालिकाअनुसार काम भइरहेको जिकिर पनि गरे ।

कांग्रेस संस्थापनइतरका नेताहरु । उनीहरुले सदस्यता अद्यावधिक गरेका छैनन् । तस्वीर : अनलाइखबर फाइल ।

‘केन्द्रीय कार्यसमितिले निर्णय गरेको कार्यतालिकाअनुसार काम भइरहेको छ,’ उनले भने । १५औं महाधिवेशन उद्घाटन मिति प्रभावित नहुने गरी क्रियाशील सदस्यताको काम भइरहेको उनको दाबी छ ।

रसाइलीले केन्द्रीय महाधिवेशनभन्दा अघिको कार्यतालिका भने केही तलमाथि हुन सक्ने स्वीकार गरे । ‘वडादेखि प्रदेश कार्यसमितिसम्म दुई–चार दिन तलमाथि हुन सक्छ,’ उनले भने, ‘तर केन्द्रीय महाधिवेशनको समय–सीमा प्रभावित हुँदैन ।’

केन्द्रीय कार्यसमिति बैठकबाट पारित भएको महाधिवेशन कार्यतालिकामा २ भदौमा गाउँ–नगर–वडा अधिवेशनको मिति तोकिएको छ । यस्तै, ७ भदौमा गाउँ–नगरपालिका अधिवेशन गरिने कार्यतालिकामा उल्लेख छ ।

कार्यतालिकाअनुसार कांग्रेसले १७ भदौमा प्रदेशसभा क्षेत्रीय अधिवेशन, २४ भदौमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र क्षेत्र भएका जिल्लाहरूमा जिल्ला अधिवेशन गर्नु पर्नेछ ।

त्यसैगरी, २–३ असोजमा जिल्ला अधिवेशन र ७–८ असोजमा प्रदेश अधिवेशन सम्पन्न गरेर १६–१९ असोजमा केन्द्रीय महाधिवेशन गरिने कार्यतालिका बैठकले पारित गरेको थियो ।

संस्थापन पक्षले १५औं महाधिवेशनको मिति नसर्ने गरी क्रियाशील सदस्यताको काम भइरहेको बताइरहँदा इतर समूहका शीर्ष नेताहरूले भने सदस्यता अद्यावधिक गरेका छैनन् । संस्थापन पक्ष सदस्यता अद्यावधिक नगर्ने नेताहरू आगामी महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने बताउँदै आएको छ ।

सभापति गगन थापाले ९ असारमा झापामा आयोजित एक कार्यक्रममा क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीले सदस्यका रूपमा नचिन्ने अभिव्यक्ति दिएका थिए ।

‘अद्यावधिक नभएको कोही पनि साथीलाई नेपाली कांग्रेसले सम्मान गर्छ, माया गर्छ तर पार्टी सदस्यका रूपमा चिन्दैन,’ थापाको भनाइ थियो, ‘अब मैले के गर्ने ? मैले व्यक्तिगत रूपमा चिन्छु, जय नेपाल भन्छु तर अब सिस्टमले नै चिन्दैन । भोट हाल्ने बेला नाम वडामा आउँदैन ।’

३५ वर्षमुनिका युवा प्राथमिकतामा

कांग्रेसले १५औं महाधिवेशनलाई लक्षित गरी देशभर नयाँ क्रियाशील सदस्यता वितरण अभियान चलाइरहेको छ ।

७७ वटै जिल्लामा प्रतिनिधि खटाएर कांग्रेसले अभियानमार्फत हरेक वडामा कम्तीमा १० जना ३५ वर्षमुनिका युवालाई क्रियाशील सदस्य बनाउने लक्ष्य राखेको छ ।

कांग्रेसले १५औं महाधिवेशनमा तीन लाख नयाँ क्रियाशील सदस्य थप गर्ने लक्ष्य राखेको छ । ‘क्रियाशील सदस्यता तीन लाखको हाराहारीमा थप गर्न सकिन्छ भन्ने हाम्रो अनुमान छ,’ महामन्त्री प्रदीप पौडेलले भने, ‘टार्गेट पनि त्यही हो ।’

पौडेलको संयोजकत्वमा रहेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका अनुसार पुराना क्रियाशील सदस्यहरूमध्ये पाँच लाख ३८ हजार ६२२ जनाले अद्यावधिक गरेका छन् । एक लाख ४९ हजार ३०९ जनाले वडा सभापतिमार्फत अद्यावधिकका लागि पेस गरेका फारमहरू प्रक्रियामा रहेको समितिको भनाइ छ ।

कांग्रेसको १४औं महाधिवेशनमा ८ लाख ६६ हजारको हाराहारीमा क्रियाशील सदस्यहरू थिए । जसमध्ये १० पुस २०८२ सम्म सदस्यता नवीकरण गरेका र नयाँ सदस्यता लिएका ७ लाख ८२ हजार २०९ जनामध्येबाट कांग्रेसले सदस्यता अद्यावधिक गरेको थियो ।

१० पुसअघि नै सदस्यता नवीकरण गरिसकेका निवर्तमान सभापति शेरबहादुर देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइराला, डा. प्रकाशरण महत, एनपी साउद, रमेश लेखक लगायतका नेता–कार्यकर्ताले क्रियाशील सदस्यता अद्यावधिक गरेका छैनन् ।

पार्टीले ३५ वर्षमुनिका युवामाथि विशेष नजर राखेर अभियान सञ्चालन गरिरहँदा हजारौं पुराना सदस्यको सदस्यता नवीकरण र अद्यावधिक विवाद नटुंगिएका कारण पार्टीमा नयाँ चुनौती देखिएको छ ।

कांग्रेसले संगठनमा युवाको सहभागिता बढाएर पुस्तान्तरणको सन्देश दिन खोजिरहेको छ । तर नयाँ सदस्य थप्ने अभियानसँगै पुराना सदस्यको नवीकरण र अद्यावधिक प्रक्रियाले भने अपेक्षित गति लिन सकेको देखिँदैन ।

यसबीचमा पार्टीले क्रियाशील सदस्यता अद्यावधिकको समय पटक–पटक थप्नुपरेको छ । सुरुमा वैशाख मसान्तभित्र सक्ने भनिएको अद्यावधिकको काम असन्तुष्टि र विवादका कारण २८ जेठसम्म धकेलिएको थियो । त्यसपछि पनि छुटेकाहरूलाई २० असारसम्म आफैं अद्यावधिक गर्ने अवसर दिइएको छ ।

महाधिवेशनमा प्रतिनिधि चयनदेखि मतदानसम्मको आधार क्रियाशील सदस्यता भएकाले अद्यावधिकबाट छुट्ने सदस्यले मतदान अधिकार गुमाउने सम्भावना कांग्रेसमा देखिन्छ । संस्थापन इतर समूहले सुरुदेखि नै सदस्यता वितरण र अद्यावधिक प्रक्रियामा पारदर्शिता हुनुपर्ने माग गर्दै आएको छ ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?