+
+
Shares

सुदूरपश्चिममा ३९ प्रतिशत रोपाइँ, कैलालीमा सबैभन्दा धेरै

दूरपश्चिममा सोमबारसम्म ३९ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको सरकारी तथ्यांकले देखाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते १९:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेशमा १५ असारमा औपचारिक रूपमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।
  • प्रदेश कृषि निर्देशनालयका अनुसार सुदूरपश्चिममा हालसम्म कुल क्षेत्रफलको ३९ दशमलव ८० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
  • समयमा मनसुन नभित्रिनु, सिँचाइको अभाव र मलखाद नपाउँदा किसानहरू समयमै धान रोप्न बाध्य भएको भन्दै सङ्घर्ष गरिरहेका छन् ।

१५ असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । दही र चिउरा खाँदै खेतबारीमा धान रोपेर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।

प्रदेशमा सरकारी स्तरबाट किसानका खेतबारीमै दिवस मनाउन जनप्रतिनिधि, सांसद, मन्त्री र कर्मचारीहरु पुगेका थिए। तर, किसानहरुले रोपेको धानका लागि मलखाद पुग्न सकेको छैन् । त्यस्तै सिचाइँ सुविधाको अभावका कारण किसानहरुले अपेक्षाकृत रुपमा रोपाइँ गर्न नसकेको गुनासो गरेका छन् ।

सुदूरपश्चिममा सोमबारसम्म ३९ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको सरकारी तथ्यांकले देखाएको छ । प्रदेश कृषि निर्देशनालय दिपायल डोटीको तथ्यांकअनुसार सोमबारसम्म प्रदेशभर ३९ दशमलव ८० प्रतिशत रोपाइँ सकिएको छ ।

प्रदेशका ९ जिल्लामा एक लाख ५४ हजार ९५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेकोमा अहिलेसम्म ६१ हजार ६७२ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ । क्षेत्रफलको हिसाबमा सबैभन्दा धेरै कैलाली र कञ्चनपुरमा रोपाइँ भएको छ ।

कैलालीमा ६६ हजार ८२० हेक्टर मध्ये २५ हजार ३९१ हेक्टरमा रोपाइँ भइसकेको छ । यो ३८ प्रतिशत हो । कञ्चनपुरमा कुल ४८ हजार चार सय ९६ हेक्टर मध्ये ४५ प्रतिशत अथात् २१ हजार ८२३ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।

कैलाली र कञ्चनपुरपछि अछाममा १० हजार ७८० हेक्टर क्षेत्रमा रोपाइँ हुने गरेको छ । अहिलेसम्म तीन हजार ८८० हेक्टर क्षेत्रमा रोपाइँ भइसकेको छ । यो ३६ प्रतिशत हो । दार्चुलामा ६० प्रतिशत, बाजुरामा ४६ प्रतिशत, बझाङमा ४२ प्रतिशत, बैतडीमा ४० प्रतिशत, डडेल्धुरामा २७ र डोटीमा १५ प्रतिशत रोपाइँ सकिएको प्रदेश कृषि निर्देशनालयले जनाएको छ ।

निर्देशनालयकाअनुसार प्रदेशभर अहिले भएको रोपाइँ अघिल्लो वर्षको यसै अवधीको तुलनामा १० प्रतिशतले कम हो । १५ असार लाग्दा समेत सुदूरपश्चिममा मनसुन नभित्रिनु, मलखाद र सिचाईँ सुविधाको अभाव लगायतका कारणले किसानले समयमै रोपाइँ गर्न नपाएको बताइएको छ ।

पहाडी जिल्लामा प्राय किसानले आकाशे पानीको भरमा सिचाईँ गर्ने गरेका छन् । तर, तराईँमा भने सिचाईँ सुविधा नभएका ठाउँमा डिप बोरिङमार्फत भूमिगत जलस्रोतले रोपाइँ गर्ने गरिएको छ ।

धनगढी उपमहानगरपालिका–१४ को फूलबारीका किसान मानबहादुर चौधरीले पानी नपरेपनि बीउ हुर्केर ठूलो भइसकेकाले बोरिङको पानीले रोपार्इँ गरिरहेको सुनाए । रोपार्इँ गरेपनि अहिलेसम्म मलखाद नपाएको भन्दै चौधरीले गुनासो गरेका छन् ।

‘पानी नपरेकाले खडेरी छ । बीउ हुर्केर ठूलो भइसक्यो । अहिले नरोपेपछि बिग्रिन्छ । आकाशबाट पानी नपरेपनि बोरिङले रोपाइँ गरिरहेका छौँ,’ चौधरीले भने, ‘धान रोपिसकेपछि १०/१२ दिनमा मल हाल्नुपर्छ । मल नपाए धान यतिकै मर्छ । तर अहिलेसम्म मल पाइएको छैन ।’

चौधरीले सरकारले पर्याप्त मल उपलब्ध नगराउँदा वर्षेनी यस्तै समस्या भोग्दै आएको गुनासो गरेका छन् भने सीमावर्ती बजारबाट ल्याउँदा पनि प्रहरीले दुुःख दिने गरेको सुुनाए । ‘हामीलाई मल की सरकारले समयमै दिनुपर्छ होइन भने सीमावर्ती बजारबाट ल्याउनुु पाउनुुपर्छ,’ चौधरीले भने ।

धनगढीकै किसान रिता चौधरीले पनि सिचाईँ, मलको अभाव र अनियमित विद्युत कटौतीका कारण थप समस्या भोग्नुपरेको सुनाएकी छन् । ‘धान रोपिरहेका छौँ तर पानी नपरेमा यतिकै सुुक्छ की भन्ने चिन्ता मनमा छ । गाउँमा सिचाईँ सुविधा छैन् । समूहको एउटै बोरिङले सबैतिर भ्याउनुुपर्ने बाध्यता छ,’ चौधरीले भनिन्, ‘अहिलेसम्म मलखाद पाएका छैनौँ । जुन सरकार आएपनि हामीले सधैँ व्यहोर्ने समस्या यिनै छन् ।’

किसानहरुलाई मल बिक्रि वितरण गर्दै आएको कृषि सामाग्री कम्पनी लिमिटेड धनगढीले मलको अभाव नभए पनि किसानको मागअनुसार आपूर्ति गर्न नसकिएको दाबी गरेको छ । कृषि सामाग्री कम्पनीका प्रमुख नवलसिंह रावलले किसानको मागअनुसार मल नआउने बताउँदै अभाव नभएको तर पर्याप्त मात्रामा उपलब्ध गराउन नसकिएको कुरा साँचो भएको दाबी गरेका छन् ।

उनकाअनुसार अहिलेसम्म कञ्चनपुरका तीन र कैलालीका १२ स्थानीय तहका लागि १४ हजार ८९९ मेट्रिक टन युरिया, आठ हजार २८६ मेट्रिक टन डीएपी र ७६९ मेट्रिक टन पोटास वितरण गरिएको छ । कृषि सामाग्री कम्पनीसँग अब ६९५ मेट्रिक टन डीएपी, ८६ मेट्रिक टन डीएपी र १७६ मेट्रिक टन पोटास मौज्दात छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?