+
+
Shares

दुई बहिनी स्याहार्दै ८ वर्षे बालक

सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको काँधमा भने आफूभन्दा साना बहिनीको जिम्मेवारी आइलागेको छ ।

सुरेश राय सुरेश राय
२०८३ असार १७ गते १०:००

१६ असार, सिरहा । सामान्य अवस्था हुँदो हो त उनको हातमा खेलौंना हुन्थे, मनभरि खेल्ने रहर हुन्थ्यो ।

तर, सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको काँधमा भने आफूभन्दा साना बहिनीको जिम्मेवारी आइलागेको छ ।

उनको हातमा किताब त छ, तर सँगै दुई साना बहिनीको भविष्यको जिम्मा पनि उनकै काँधमा छ । उनकी बहिनी सोनाक्षीको उमेर ५ वर्ष र दिव्यांशीको उमेर ३ वर्षमात्रै भएको छ ।

शेखर डण्डाकै जनता माध्यमिक (प्राविधिक) विद्यालयमा कक्षा ३ मा अध्ययनरत छन् । सोनाक्षी विद्यालय जाने भइन् । सानी बहिनी दिव्यांशी बालविकास केन्द्र जान थालेकी छन् ।

यी तीन बालबालिकाको जीवनमा आमाबुबाको न्यानो साथ छैन । आफैले आमाबाबुको माया पाउनुपर्ने बेला शेखरले ति अबोध बहिनीहरूलाई आश्रय दिनु परिरहेको छ ।

दुई वर्षअघि आमाबुबाबीच विवाद हुँदा आमा सञ्जुकुमारी यादव घर छाडेर गइन् । त्यसयता उनी फर्किएकी छैनन् ।

बुबा विमल यादव झापाको एक प्लाइउड उद्योगमा काम गर्ने स्थानीयवासी बताउँछन् । तर, उनी पछिल्लो एक महिनादेखि सम्पर्कविहीन छन् ।

आमाबाबुको छहारी नपाएका यी बालबालिकालाई अहिले ठूला बुबा कमल यादव र ठूली आमाले आश्रय र सुरक्षा दिइरहेका छन् ।

उनीहरूसँग बसोबासका लागि एउटा सानो पक्की घर र त्यो घरबाहेक उनीहरूसँग थप अन्य कुनै सम्पत्ति छैन ।

सबैभन्दा भावुक दृश्य हरेक बिहान शेखरसँगै उनका बहिनीहरू विद्यालय जाँदा देखिन्छ । बिहानै शेखरले आफ्ना बहिनी उठाउँछन्, हातमुख धोइदिन्छन् । विद्यालयका लागि तयार पार्छन् ।

त्यसपछि ३ वर्षीया बहिनीलाई पिठ्युँमा बोक्छन्, ५ वर्षीया बहिनीलाई हातले डोर्‍याउँदै विद्यालयतर्फ लाग्छन् । विद्यालयमा बहिनीहरूलाई उनीहरूका कक्षामा पुर्‍याएर उनी आफ्नो कक्षामा पढ्न थाल्छन् ।

कक्षा सकिएपछि फेरि उसैगरी बिहानकै दृश्य देखिन्छ । त्यो दृश्यले हरकसैको मन भावविह्वल हुन्छ ।

विद्यालयको नजरमा शेखर एक विद्यार्थी मात्रै होइनन्, उनी दुई बहिनीका अभिभावक, संरक्षक र सहारा पनि हुन् ।

बहिनीहरू विद्यालय ल्याउने–लैजाने मात्र होइन, उनीहरूको स्याहार–सुसारको दायित्व पनि त्यही ८ वर्षको काँधमा छ ।

‘बहिनीहरूलाई नुहाउने, लुगा धुने र अरू सरसफाइका काम पनि मैले नै गर्छु,’ शेखरले सुनाए ।

घरको ओछ्यान मिलाउने, आँगन सफा गर्ने काम पनि उनी आफै गर्छन् । कहिलेकाहीँ बहिनीहरूले त्यो काममा सघाउने उनले बताए ।

राति तीनैजना दाजु बहिनी सँगै सुत्छन् । अभिभावक अभावमा उनीहरू एकअर्काको सहारा बनेका छन् ।

स्थानीयका अनुसार शेखरका ठूला बुबा कमलले उनीहरूलाई सक्दो सहारा दिएका छन् । खाना र अन्य आवश्यक कुरामा उनले सकेको कमी नगरेको स्थानीयबासी बताउँछन् । तर, उनको आर्थिक अवस्था पनि नाजुक नै रहेकाले सबै कुरा पूरा गर्न सम्भव नहुने अवस्था छ ।

शेखरका दाजुबहिनीका लागि जनता माध्यमिक विद्यालयले पनि सहयोग गर्दै आएको प्रधानध्यापक सुरेन्द्र सिंहले बताए ।

‘लुगाफाटाको व्यवस्था पनि मैले आफ्नै खर्चमा किनिदिएको छु । विद्यालयबाट साबुन, अन्य केही सहयोग गर्दैछौं,’ उनले भने ।

अन्य शिक्षक पनि उनीहरूको अवस्थाप्रति संवेदनशील रहेको र सकेको सहयोग गरिरहेको उनले बताए ।

शेखर आफूलाई विद्यालय आउन र पढ्न मन लाग्ने बताउँछन् । त्यसैले कठिन अवस्थामा पनि उनले आफ्नो र बहिनीको कक्षा छुटाएका छैनन् ।

गोलबजार नगरपालिका–९ का वडाध्यक्ष सुरेन्द्रकुमार सिंहले शेखरका दाजुबहिनीको अवस्था संवेदनशील रहेको बताए ।

‘यी बालबालिकाको अवस्था कठिन छ । हामीले नजिकबाट नियालिरहेका छौँ,’ उनले भने, ‘वडा कार्यालयबाट तत्काल सकेको सहयोग गर्छौं । त्यसबारे छलफल पनि गरिरहेका छौं ।’

उनीहरूको शिक्षा, स्वास्थ्य र संरक्षणका लागि आवश्यक पहल गर्न आफैले अग्रसरता लिने उनले बताए ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?