+
+
Shares

भारतीय प्रभावले नेपालमा महँगियो चामल

भारतले चामल निर्यात नीतिमा गरेको परिवर्तन, मौसमी कारण उत्पादनमा आएको कमी र धानको न्यूनतम समर्थन मूल्य बढाएका कारण नेपाली बजारमा चामल महँगिएको हो ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८३ असार १७ गते १३:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतमा धानको मूल्य वृद्धि र निर्यात नीतिमा आएको परिवर्तनका कारण नेपाली बजारमा पछिल्लो दुई महिनामा चामलको मूल्य प्रतिक्विन्टल ३ देखि ४ सय रुपैयाँले बढेको छ ।
  • भारतले बंगलादेशलाई चामल निर्यातको कोटा खुला गर्नु र उत्पादनमा कमी आउनु नै मूल्य वृद्धिको मुख्य कारण रहेको नेपाल चामल, तेल, दाल उद्योग संघले जनाएको छ ।
  • भारत सरकारले धानको न्यूनतम समर्थन मूल्य वृद्धि गरेकाले दशैंसम्ममा नेपालमा चामलको भाउ प्रतिबोरा थप १ देखि २ सय रुपैयाँसम्म बढ्न सक्ने व्यवसायीले प्रक्षेपण गरेका छन् ।

१७ असार, काठमाडौं । नेपाली बजारमा चामल महँगिएको छ । उद्योगदेखि खुद्रा बजारसम्म चामलको मूल्य बढेको छ । दुई महिना अवधिमा मात्रै २५ किलो बोराको चामल ३ देखि ४ सय रुपैयाँसम्म बढेको व्यवसायीले बताएका छन् ।

उद्योगी तथा व्यवसायीका अनुसार भारतले चामल निर्यात नीतिमा गरेको परिवर्तन, मौसमी कारण उत्पादनमा आएको कमी र धानको न्यूनतम समर्थन मूल्य बढाएका कारण नेपाली बजारमा चामल महँगिएको हो । नेपाल पूर्णरूपमा आयातमुखी भएकाले अन्तर्राष्ट्रिय बजार, विशेषगरी भारतमा हुने मूल्यवृद्धिको प्रत्यक्ष असर यहाँ पर्ने गर्दछ । अहिले चामलको मूल्यमा पनि भारतीय नीतिको प्रभाव परेको नेपाल चामल, तेल, दाल उद्योग संघका सदस्य विभोर अग्रवाल बताउँछन् ।

‘हाम्रो देशमा धान पर्याप्त नभएपछि हामी आयातमा निर्भर छौं,’ अग्रवालले अनलाइनखबरसँग भने, ‘अहिले भारतले बंगलादेशका लागि पनि चामल निर्यातको कोटा खोलेको छ, मौसमी कारणले यसपटक भारतमै धानको उत्पादन एकदमै घटेको छ, जसले गर्दा धान र चामलको मूल्य ह्वात्तै बढेको छ ।’

बजारमा अहिले सबैजसो चामल र धानको मूल्य बढेको छ । उद्योगी अग्रवालका अनुसार दुई महिनाअघि प्रतिक्विन्टल २ हजार ६ सय रुपैयाँ रहेको जिरा मसिनो धानको मूल्य अहिले भारतमै ३ हजार २ सय रुपैयाँ पुगेको छ । २५ केजी जिरा मसिनो चामल २ महिनाअघि १८ देखि १९ सय रुपैयाँ रहेकोमा अहिले बढेर २३ सयदेखि २४ रुपैयाँसम्म पुगेको छ।

यसैगरी, ३ हजार १ सयदेखि ३ हजार २ सय रुपैयाँ पर्ने सोना मन्सुली धानको मूल्य अहिले प्रतिक्विन्टल ३ हजार ६ सय देखि ३ हजार ७ सय रुपैयाँ पुगेको छ । यसको चामलको मूल्य पनि २५ केजी बोरामा १ हजार ३ सय ५० रुपैयाँबाट बढेर १ हजार ६ सय रुपैयाँ पुगेको अग्रवालले बताए ।

धेरै आयात हुने २० किलो लङ ग्रेन (बासमती) चामलको मूल्य अहिले ३ हजार ४ सयदेखि ३ हजार ५ सय रुपैयाँसम्म पुगेको छ भने १ हजार १ सय २५ रुपैयाँ पर्ने १४४२ धानको चामलको मूल्य बढेर १ हजार २ सय ५० रुपैयाँ पुगेको छ ।

अग्रवालले ठूला डिलरले मिलबाट सिधै किन्ने भएकाले मूल्यवृद्धि तत्काल लागु भए पनि खुद्रा व्यापारीसँग पुरानो स्टक हुने भएकाले उपभोक्तासम्म पुग्दा मूल्यवृद्धिको असर देखिन केही समय लाग्ने बताए ।

खुद्रा व्यापारीले पनि मिलबाटै बढेर आएको हुँदा उपभोक्ता मूल्य बढाउनुपरेको बताएका छन् । उनीहरूले मिल तथा होलसेलमै प्रतिबोरा ३ सय रुपैयाँसम्म बढेर आएकाले ढुवानी समेत जोड्दा चामल महँगो पर्न गएको बताएका छन् ।

नयाँ बानेश्वरस्थित खाद्य मार्ट चलाउँदै आएका मनोज दंगालले बजारमा हरेक खाद्यान्नको मूल्य बढेको बताए । विशेषगरी चामलको मूल्यमा उच्च वृद्धि भएको उनको भनाइ छ।

‘अहिले बजारमा हरेक प्रकारका चामलको भाउ प्रतिबोरा ३ सय ५० देखि ४ सय रुपैयाँसम्मले बढेको छ, सामान्य चामल नै प्रतिकिलो १ सय रुपैयाँ भइसक्यो,’ व्यापारी दंगालले भने, ‘चामल मात्र होइन, अहिले हरेक खाद्यान्नको मूल्य त्यसैगरी बढेको छ’

लगातार हरेक सामानको भाउ बढ्दा सर्वसाधारणलाई दैनिक गुजारा चलाउनै धौ–धौ पर्न थालेको व्यापारीहरू बताउँछन् । मूल्यवृद्धिको प्रत्यक्ष असर खुद्रा व्यापार र उपभोक्ताको भान्सामा परेको छ । ‘बजारमा अहिले मन्दी छाएको छ, व्यापार व्यवसाय सुस्त छ,’ उनले भने, ‘उपभोक्ताले अत्यावश्यक बाहेकका सामान किन्नै छाडिसके ।’

नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघले पनि भारतले बंगलादेशतर्फको निर्यात खुला गर्दा माग बढेसँगै मूल्यवृद्धि भएको जनाएको छ ।

संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठका अनुसार भारतीय बजारमै धानको भाउ बढेका कारण त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको हो । ‘उता भारतले धानकै भाउ बढायो, त्यसकै कारणले यता बढेको हो,’ अध्यक्ष श्रेष्ठले भने, ‘अहिले मौसमी मूल्य पनि अलिअलि बढेको हो ।’

नेपालमा स्वदेशी धानको उत्पादनले मात्र बजारको माग धान्न नसक्ने भएकाले भारतीय मूल्यमै भर पर्नुपर्ने अवस्था रहेको अध्यक्ष श्रेष्ठले बताए । बजारको चलन नै भारतीय दरभाउमा निर्भर रहेको उनको भनाइ छ ।

भारत विश्वकै सबैभन्दा ठूलो चामल निर्यात गर्ने देश हो, जसले हाल विश्वका १४० भन्दा बढी देशहरूसम्म चामल निर्यात गर्दै आएको छ । भारतको निर्यात साउदी अरब, इरान र इराक जस्ता मध्यपूर्वी मुलुकका साथै नेपाल, बंगलादेश र विभिन्न अफ्रिकी राष्ट्रहरू प्रमुख रूपमा पर्दछन् ।

छिमेकी राष्ट्र बंगलादेशले आफ्नो आन्तरिक बजारमा चामलको बढ्दो मूल्यलाई नियन्त्रण गर्न र देशको खाद्य भण्डारण बढाउन पछिल्लो समय भारतबाट आयातलाई विशेष प्राथमिकता दिइरहेको छ ।

सन् २०२६ को जनवरी महिनामा बंगलादेश सरकारले आफ्ना २३२ वटा निजी आयातकर्ता कम्पनीहरूलाई थप २ लाख टन चामल आयात गर्न नयाँ अनुमति अर्थात् कोटा खुला गरेको थियो ।

सम्झौता अनुसार व्यापारीहरूले मार्चभित्रै उक्त चामल आयात गरिसक्नुपर्ने समयसीमा तोकिएको थियो । यो २ लाख टनको अनुमति, बंगलादेशले आर्थिक वर्ष २०२५–२६ का लागि बाढी र मौसमका कारण भएको उब्जनीको क्षतिपूर्ति गर्न तय गरेको कुल ९ लाख मेट्रिक टन चामल आयात गर्ने बृहत् योजनाकै एउटा हिस्सा हो ।

यसका अतिरिक्त आयात प्रक्रियालाई सहज र सस्तो बनाउन बंगलादेश सरकारले यसअघि नै चामल आयातमा लाग्दै आएको भन्सार तथा अन्य नियामक करहरू पूर्णरूपमा हटाएको वा व्यापक कटौती गरेको थियो ।

यसरी करमा दिइएको छुट र निजी क्षेत्रलाई दिइएको आयात कोटाले गर्दा भारतीय चामल उत्पादक तथा निर्यातकर्ताहरूलाई बंगलादेशको बजारमा आफ्नो व्यापार बढाउन ठूलो अवसर मिलेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

भारतमा धान चामलको मूल्य बढेको हो ?

पछिल्लो समय भारतमा किसानले बेच्ने धान र उपभोक्ताले किन्ने चामल दुवैको मूल्यमा वृद्धि भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतको केन्द्रीय मन्त्रिपरिषद्ले आगामी वर्ष २०२६/२७ मा कृषि बाली धान लगायत १४ उत्पादनको न्यूनतम समर्थन मूल्य बढाउने निर्णय गरेसँगै धानको भाउ औपचारिक रूपमै बढेको हो । किसानलाई राहत दिने उद्देश्यले भारतले समर्थन मूल्य बढाएको हो ।

भारतीय सरकारको प्रेस सूचना ब्युरो र अन्य प्रमुख समाचार संस्थाहरूका अनुसार सरकारले सामान्य धानको खरिद मूल्य प्रतिक्विन्टल भारु ७२ ले बढाएर भारु २ हजार ४ सय ४१ पुर्‍याएको छ ।

त्यसैगरी, ‘ग्रेड–ए’ धानको मूल्य पनि समान भारु ७२ ले नै वृद्धि गरी प्रतिक्विन्टल भारु २ हजार ४ सय ६१ तोकिएको छ । सरकारले उत्पादन लागतको कम्तीमा ५० प्रतिशत बढी प्रतिफल किसानलाई सुनिश्चित गर्ने नीतिअनुरूप यो वृद्धि गरेको बताइएको छ । यस निर्णयबाट किसानहरूलाई धान खरिदबापत करिब २ लाख ६० हजार करोड भारु भुक्तानी हुने सरकारी अनुमान छ ।

सरकारी समर्थन मूल्यको वृद्धिसँगै पछिल्ला १–२ दिनयता भारतका स्थानीय मन्डी र बजारहरूमा चामलको मूल्यमा अस्वाभाविक उछाल आएको बजार रिपोर्टहरूले देखाएका छन् । २९ जुन २०२६ को मन्डी अनुगमन रिपोर्टअनुसार एकै दिनमा चामलको मन्डी मूल्यमा ३७.४३ प्रतिशतसम्मको वृद्धि देखिएको थियो ।

यसरी मूल्य बढ्नुका पछाडि मुख्यतया उत्पादन लागत र मौसमको अनिश्चिततालाई प्रमुख कारण मानिएको छ । कृषि मजदुरको अभाव, ट्रयाक्टर र हार्वेस्टर जस्ता उपकरणको प्रयोगमा इन्धनको बढ्दो खर्च, र मलखादको मूल्यमा भएको वृद्धिले कृषकहरूको समग्र उत्पादन लागत ह्वात्तै बढाएको छ ।

त्यस्तै, मनसुनमा देखिएको ढिलाइ र ‘एल निनो’ को प्रभावले धान उत्पादनमा पर्न सक्ने असरको मनोवैज्ञानिक त्रासले पनि बजारमा मूल्य बढाउन मद्दत गरेको उल्लेख गरिएको छ ।

अन्तर्राष्ट्रिय बजार, विशेषगरी अफ्रिकी र एसियाली मुलुकहरूमा भारतीय चामलको उच्च माग कायमै रहनुले पनि आन्तरिक बजारमा मूल्य घट्न दिएको छैन ।

अर्कोतर्फ, भारत सरकारको खाद्यान्न खरिद, भण्डारण र वितरण प्रणालीको कुल आर्थिक लागत पनि निकै बढेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उनीहरूका अनुसार निरन्तरको न्यूनतम मूल्यवृद्धि र महँगिएको ढुवानी तथा ब्याज खर्चका कारण सन् २०२६–२७ का लागि सरकारको चामल खरिद लागत बढेर करिब भारु ४ हजार ३ सय ९१ प्रतिक्विन्टल पुग्ने प्रक्षेपण गरिएको छ ।

भारत सरकारले ल्याएको नयाँ मूल्य नीतिले धान उत्पादक किसानहरूलाई प्रत्यक्ष आर्थिक लाभ पुर्‍याउने भए पनि पछिल्ला केही दिनमा भारतीय बजारमा देखिएको चामलको भारी मूल्यवृद्धिले सर्वसाधारण उपभोक्ताको भान्छा भने महँगिएको छ ।

दशैंसम्म चामलको भाउ अझै बढ्ने

भारतमा नै धानको मूल्यवृद्धि र अभाव रहेका कारण दशैंसम्म नेपालमा चामलको मूल्य अझै बढ्ने प्रक्षेपण उद्योगी तथा व्यवसायीको छ । ‘दशैंसम्म चामलको मूल्य प्रतिबोरा अझै कम्तीमा १ सयदेखि २ सय रुपैयाँसम्म बढ्न सक्छ,’ उद्योगी अग्रवालले भने, ‘हामीले भारतबाट जति मूल्यमा खरिद गर्छौं, बाध्यतापूर्वक त्यही अनुसार बेच्नुपर्ने हुन्छ ।’

बजारमा देखिएको यस्तो चरम मूल्यवृद्धि र किसानको समस्याबारे छलफल गर्न संघले कृषि मन्त्रालयलाई पत्राचार गरे पनि मन्त्रालयले समय नदिएको उद्योगीहरूको गुनासो छ ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?