+
+
Shares

नेपाल लाइफ इन्स्योरेन्सले पायो वार्षिक वित्तीय प्रतिवेदनमा गोल्ड अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १७ गते १३:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा प्रदान गरिने ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट–२०२५’ मा गोल्ड अवार्ड प्राप्त गरेको छ।
  • कम्पनीले वित्तीय पारदर्शिता, सुशासन र लेखा मापदण्डको प्रभावकारी पालना गरेको भन्दै यो सम्मान प्रदान गरिएको हो।
  • कम्पनीले हालसम्म ५२.४ लाखभन्दा बढी बीमालेख जारी गरी २ खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढीको जीवन बीमा कोष व्यवस्थापन गरिरहेको छ।

१७ असार, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५ औं वार्षिकोत्सव मनाइरहेको अवसरमा ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट–२०२५’ अन्तर्गत गोल्ड अवार्ड पाएको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहबीच नेपाल लाइफले उक्त प्रतिष्ठित अवार्ड पाएको छ । अवार्ड नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली तथा नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रूपमा ग्रहण गरे ।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, नेपाल वित्तीय प्रतिवेदन मानक तथा अन्य लेखा मापदण्डहरूको प्रभावकारी पालना र संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धताको मूल्याङ्कन गर्दै कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो।

यस अवार्डले नेपाल लाइफले वित्तीय जवाफदेहिता, पारदर्शिता तथा सुशासनलाई संस्थागत संस्कृतिका रूपमा आत्मसात गर्दै उत्कृष्ट अभ्यासलाई निरन्तरता दिइरहेको पुष्टि हुने कम्पनीले जनाएको छ।

यस अवसरमा प्रमुख कार्यकारी अधिकृत पराजुलीले उक्त सम्मान सम्पूर्ण नेपाल लाइफ परिवारका लागि गर्वको विषय भएको उल्लेख गरे । यसले कम्पनीलाई अझ उच्चस्तरको वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनतर्फ अघि बढ्न थप जिम्मेवारी प्रदान गरेको उनको भनाइ छ ।

उनले यस सफलताका लागि मार्गदर्शन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीप्रति विश्वास व्यक्त गरी आबद्ध बीमित ग्राहक, कम्पनीको सफलताका मेरुदण्डका रूपमा रहेका अभिकर्ता, समर्पित कर्मचारीहरू, सेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरे ।

चैत मसान्त २०८३ सम्मको तथ्याङ्कअनुसार कम्पनीले हालसम्म ५२.४ लाखभन्दा बढी बीमालेख जारी गरी लाखौं नेपाली परिवारलाई आर्थिक सुरक्षाको दायरामा ल्याएको छ। २ खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढीको जीवन बीमा कोष व्यवस्थापन गरिरहेको कम्पनीले हालसम्म १ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरी आफ्ना बीमित तथा आश्रित परिवारप्रति प्रतिबद्धता जनाएको छ।

त्यसैगरी, कम्पनीले हालसम्म नेपाल सरकारलाई १७ अर्ब रुपैयाँभन्दा बढी राजस्व तथा कर प्रदान गरी राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?