+
+
Shares

मसल बिल्डिङ लागि लोकप्रिय ‘क्रिएटिन’ सप्लिमेन्टले डिप्रेसनविरुद्ध लड्न मद्दत गर्न सक्ने

मस्तिष्कको ऊर्जा आपूर्ति प्रणालीलाई बढावा दिएर क्रिएटिनले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्ने वैज्ञानिकहरूले बताएका छन्। 

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १७ गते १४:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नयाँ अनुसन्धानका अनुसार जिममा लोकप्रिय क्रिएटिन सप्लिमेन्टले डिप्रेसनको उपचारमा मद्दत गर्न सक्ने देखिएको छ।
  • युनिभर्सिटी अफ ओटावाका वैज्ञानिकहरूले मस्तिष्कको ऊर्जा आपूर्ति प्रणालीमा सुधार गर्दै क्रिएटिनले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्ने बताएका छन्।
  • वैज्ञानिकहरूले क्रिएटिनको प्रभावकारिता बुझ्न अझै बृहत् क्लिनिकल परीक्षण आवश्यक रहेको र यसको सुरक्षामा सचेत हुनुपर्ने चेतावनी दिएका छन्।

१७ असार, काठमाडौं । सामान्यतया जिम जाने र मसल बिल्डिङ गर्नेहरूमाझ निकै लोकप्रिय रहेको ‘क्रिएटिन’ सप्लिमेन्टले डिप्रेसन (डिप्रेसिभ डिसअर्डर) को उपचारमा समेत मद्दत गर्न सक्ने नयाँ अनुसन्धानले देखाएको छ।

मस्तिष्कको ऊर्जा आपूर्ति प्रणालीलाई बढावा दिएर क्रिएटिनले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्ने वैज्ञानिकहरूले बताएका छन्।

यद्यपि, हालसम्मका प्रमाणहरू आशाजनक देखिए पनि चिकित्सा क्षेत्रमा यसलाई औषधिको रूपमा सिफारिस गर्नका लागि भने अझै थप अनुसन्धान आवश्यक रहेको वैज्ञानिकहरूको भनाइ छ।

‘ब्रेन मेडिसिन’ जर्नलमा प्रकाशित एक सिस्टमेटिक रिभ्यु अनुसार युनिभर्सिटी अफ ओटावाका अनुसन्धानकर्ताहरूले विश्वका विभिन्न देशमा गरिएका पाँचवटा क्लिनिकल ट्रायलहरूको गहन विश्लेषण गरेका थिए।

दक्षिण कोरिया, अमेरिका, ब्राजिल, इजरायल र भारतमा गरिएका ती परीक्षणहरूमा कुल २३८ जना सहभागी थिए । जसमा अधिकांश महिलाहरू सामेल थिए।

अध्ययनको नतिजा मिश्रित आएको छ । जसमध्ये दुईवटा परीक्षणमा क्रिएटिनको प्रयोगले डिप्रेसनका लक्षणहरूमा ठूलो सुधार ल्याएको पाइयो भने अन्य तीनवटा परीक्षणमा कुनै उल्लेखनीय फाइदा देखिएन।

विशेष गरी ‘मेजर डिप्रेसिभ डिसअर्डर’ भएका महिलाहरूमा गरिएको एउटा परीक्षणमा नियमित डिप्रेसनको औषधि ‘एसिटालोप्राम’ सँगै दैनिक ५ ग्राम क्रिएटिन दिँदा आठ हप्तापछि डिप्रेसनका लक्षणहरूमा उल्लेख्य कमी आएको र धेरै बिरामीहरू निको भएको पाइयो।

त्यस्तै, अर्को अध्ययनमा क्रिएटिनलाई ‘कग्निटिभ बिहेभियरल थेरापी’ सँग जोडेर हेर्दा पनि यसले थेरापीको प्रभावकारिता बढाएको देखियो।

तर, अन्य औषधिले काम नगरेका बिरामी, किशोर किशोरी र बाइपोलार डिसअर्डर भएका व्यक्तिहरूमा गरिएका बाँकी तीनवटा परीक्षणमा भने क्रिएटिनले कुनै खास प्रभाव देखाएन।

बरु बाइपोलार डिसअर्डर भएका दुई जना बिरामीमा यसको प्रयोगले ‘म्यानिया’ को लक्षण बढाएको पाइएकाले यसको सुरक्षा संवेदनशीलतामाथि पनि ध्यान दिनुपर्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्।

वैज्ञानिकहरूका अनुसार क्रिएटिनले डिप्रेसनमा काम गर्नुको पछाडि मस्तिष्कको उर्जा माग मुख्य कारण हो। क्रिएटिनले मांसपेशीहरूमा । जस्तै मस्तिष्कका कोशिकाहरूमा पनि ऊर्जा उत्पन्न गर्ने ‘एडेनोसिन ट्राइफस्फेट’ (एटीपी) को निर्माणमा तीव्र गति दिन्छ।

यसका साथै मुडलाई नियन्त्रण गर्ने मस्तिष्कका रसायनहरू ‘डोपामाइन’ र ‘सेरोटोनिन’लाई पनि यसले प्रभावित पार्ने वैज्ञानिकहरूको अनुमान छ।

अनुसन्धानका प्रमुख लेखक बसाम जेर्यौस फारिसका अनुसार हालसम्मको नतिजा चाखलाग्दो भए पनि यसैका आधारमा क्लिनिकल अभ्यास वा उपचारको विधि बदल्न मिल्दैन।

क्रिएटिन सामान्यतया सुरक्षित सप्लिमेन्ट मानिए पनि र यसको साइड इफेक्ट सामान्य पेटको गडबडीमा मात्र सीमित देखिए पनि यो सबैका लागि समान रूपमा फाइदाजनक हुन्छ भन्न नसकिने अनुसन्धानकर्ताहरूले स्पष्ट पारेका छन्।

विशेषज्ञहरूले डिप्रेसनको उपचारमा क्रिएटिनको वास्तविक क्षमता बुझ्नका लागि अझ धेरै संख्यामा पुरुष र महिलाहरूलाई समेटेर दीर्घकालीन र ठूला क्लिनिकल परीक्षणहरू गरिनुपर्ने आवश्यकता औंल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?