+
+
Shares

१०० पर्यटकीय गन्तव्यको सूचीमा परेका नमस्ते झरना र पटेक डाँडा सुनसान (तस्वीरहरू)

पटेक डाँडा सूर्योदय, हिमाल र पहाडी दृश्यावलोकनका लागि पूर्वी नेपालको उत्कृष्ट गन्तव्य हो भने नमस्ते झरना धनकुटाको मात्र नभइ पूर्वी नेपालको चर्चित प्राकृतिक गन्तव्य हो । तर, यी दुवै अहिले सुनसान बनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २० गते १०:१५

२० असार, धनकुटा । कुनैबेला गर्मीयाम सुरु हुनासाथ पूर्वी नेपालका विभिन्न जिल्लासँगै भारतबाट समेत पर्यटकको भीड धनकुटाको नमस्ते झरनामा लाग्ने गरेको थियो । नमस्ते झरनाको चिसो पानीमा रमाउने, प्राकृतिक पोखरीमा पौडी खेल्ने र हरियालीले घेरिएको प्राकृतिक सौन्दर्यमा समय बिताउनेहरुका लागि विशेष गन्तव्य बनेको थियो । त्यस्तै, समुद्री सतहबाट २ हजार ७ सय २ मिटर उचाइमा रहेको पटेक डाँडा सूर्योदय, हिमाल र पहाडी दृश्यावलोकनका लागि पूर्वी नेपालको उत्कृष्ट गन्तव्य रहेको छ ।

नमस्ते झरना र पटेक डाँडालाई नेपाल सरकारले २०७५ सालमा ‘सय पर्यटकीय गन्तव्य’ सूचीमा समावेश गरेको थियो । नमस्ते झरनालाई स्थापित तथा प्रवर्द्धन गरिनुपर्ने गन्तव्यमा र पटेक डाँडालाई नयाँ विकास गरिनुपर्ने गन्तव्यमा सुचिकरण गरेको थियो ।

सूचीकरणपछि यी क्षेत्रको संरक्षण, पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनमा विशेष प्राथमिकता हुने स्थानीयको अपेक्षा रहेको थियो । तर, आठ वर्ष बित्न लाग्दा अवस्था उस्तै रहेको छ । प्राकृतिक विपत्ति, अधुरा पूर्वाधार, बजेट अभाव, स्थानीय तहबीचको समन्वय कमजोरी र प्रभावकारी प्रचारप्रसार नहुँदा दुवै गन्तव्य सुनसान बनेका हुन् ।

धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६, सिम्सुवामा रहेको नमस्ते झरना धनकुटाको मात्र होइन, पूर्वी नेपालको चर्चित प्राकृतिक गन्तव्य हो । कोशी राजमार्गबाट सहज पहुँच भएकाले झरनामा दैनिक सयौं पर्यटक आउने गरेका थिए । गर्मीयाममा झरनाको प्राकृतिक पोखरीमा पौडी खेल्ने र परिवारसँग रमाइलो गर्न आउनेहरुको भीडले स्थानीय व्यवसायसमेत फस्टाएको थियो । तर गत वर्ष आएको बाढीले झरनासम्म पुग्ने सिँढी, पुल र पैदलमार्ग बगाएपछि अवस्था फेरिएको छ । अहिले पर्यटकलाई अस्थायी रुपमा बाँस र काठको भरमा बनाइएको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

जोखिमपूर्ण पहुँचमार्गका कारण धेरै पर्यटक झरना नपुगी फर्किनुपर्ने अवस्था आएको छ । पहिले सार्वजनिक बिदा र साप्ताहिक बिदाको दिन झरनामा धेरै मात्रामा पर्यटक आउने गरेको झरना व्यवस्थापन समितिका सचिव जीवन सुब्बाले बताए । उनका अनुसार अहिले बाटो सुरक्षित नभएकाले धेरैले आउने योजना नै रद्ध गर्नुपरेको छ । पर्यटक घटेसँगै स्थानीय व्यवसाय पनि प्रभावित भएको सुब्बाको भनाइ छ ।

नमस्ते झरना जाने जोखिमपूर्ण बाटो

नमस्ते झरना आसपास सञ्चालनमा रहेका दुई दर्जनभन्दा बढी होटल, लज, चिया पसल तथा स्थानीय उत्पादन बिक्री गर्ने व्यवसायी अहिले आर्थिक मन्दीको मारमा छन् । कुनै बेला पर्यटकको चहलपहलले भरिने बजार अहिले सुनसानजस्तै देखिन्छ । झरना व्यवस्थापन समितिका पूर्वअध्यक्ष दिलिप सुब्बाले पर्यटनमा आएको गिरावटले दैनिक आम्दानी आधाभन्दा कम भएको बताए । स्थानीय युवाले सञ्चालन गरेका साना व्यवसाय बन्द हुने अवस्थामा पुगेको उनको भनाइ छ । उनले झरनाको पुरानो साख फर्काउन अझ व्यवस्थित, सुरक्षित र आकर्षक पूर्वाधार निर्माण अपरिहार्य भएको बताए ।

चालु आर्थिक वर्षमा साँगुरीगढी गाउँपालिकाले १० लाख रुपैयाँ र कोशी प्रदेश सरकारले १५ लाख रुपैयाँ बजेट विनियोजन गरी केही पुनर्निर्माणको काम अघि बढाएको छ। तर क्षतिग्रस्त संरचनाको पूर्ण पुनर्निर्माण अझै सम्पन्न हुन सकेको छैन । झरनालाई सुरक्षित र दीर्घकालीन रुपमा संरक्षण गर्न विस्तृत योजना तयार भइरहेको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिए । उनले केवल मर्मत गरेर मात्रै पर्यटन क्षेत्र पुनर्जीवित नहुने भएकाले आधुनिक पूर्वाधार, सुरक्षाको व्यवस्था र व्यवस्थित व्यवस्थापन आवश्यक रहेको बताए ।

रमणीय पटेक डाँडा सँधै सुनसान

पटेक डाँडाबाट देखिने दृश्य

धनकुटाको सबैभन्दा अग्लो गन्तव्य पटेक डाँडा प्राकृतिक दृश्यावलोकनका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र रहेको छ । पटेक डाँडाबाट मकालु, कञ्चनजङ्घा लगायतका हिमशृङ्खलाको मनोरम दृश्य, आकर्षक सूर्योदय तथा कोशी प्रदेशका विभिन्न जिल्लाको भुभाग एकै स्थानबाट अवलोकन गर्न सकिन्छ । पटेक डाँडाबाट पर्यटनको यति धेरै सम्भावना हुँदाहुँदै पनि आधारभूत पूर्वाधार अझै अधुरै रहेको छ । पटेक डाँडासम्म पुग्ने सिँढी निर्माण आधा दूरीमा मात्रै सीमित भएको छ ।

विश्रामस्थल, शौचालय, खानेपानी, लगायतका संरचना निर्माण हुनै सकेका छैनन् । धनकुटाको महालक्ष्मी नगरपालिका, छथर जोरपाटी गाउँपालिका, तेह्रथुमको छथर गाउँपालिका र लालिगुराशँ नगरपालिकाको सिमानामा पटेक डाँडा अवस्थित रहेको छ ।

स्थानीय मुडु शेर्पाका अनुसार पटेक डाँडाको प्रचारप्रसार नहुँदा पर्यटकको संख्या निकै कम भएको हो । उनले चारवटा स्थानीय तहको साझा गन्तव्य भए पनि सबैले एकअर्कातर्फ हेर्ने प्रवृत्ति कारण यहाँको प्रचारप्रसार लगायत संरचना निर्माणमा समस्या भएको शेर्पाको भनाइ छ । उनले स्थानीय केही मानिसलाई पटेक डाँडाको बारेमा जानकार भएपनि जिल्लाभर र तराईका जिल्लामा प्रचार हुन नसकेको बताए ।

पटेक डाँडाबाट देखिएको सूर्योदयको दृश्य ।

उनले सरकारले सय गन्तव्यमा घोषणा गरेर काम गर्न नसकेको गुनासो गरे । शेर्पाले डाँडासम्म सिँढी निर्माण, पदमार्ग, दृश्यावलोकन टावर, विश्रामस्थल र सूचना केन्द्र निर्माण भए पर्यटकको संख्या उल्लेख्य रुपमा बढ्न सक्ने अवस्था रहेको बताए ।

पटेक डाँडामा नेपाल टेलिकम, नेपाल टेलिभिजनका लगायतका टावरहरुको सुरक्षाका लागि राखिएको तारले पनि पर्यटकलाई सहज रुपमा घुम्न कठिन बनाएको स्थानीयको भनाइ छ । पटेक डाँडा मात्रै होइन नजिक रहेका मार्गा पोखरी, काली पोखरी र धार्मिक महत्व बोकेको मङ्माया भगवती मन्दिरलाई समेटेर एकीकृत पर्यटन सर्किट विकास गर्न सकिए ठूलो सम्भावना रहेको स्थानीयको भनाइ छ ।

महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायले स्थानीय तहको सीमित बजेटले मात्रै यस्ता ठूला पर्यटकीय आयोजना सम्पन्न गर्न सम्भव नरहेको बताए । उनले संघीय र प्रदेश सरकारले पटेक डाँडाजस्ता स्थानलाई विशेष कार्यक्रममार्फत बजेट उपलब्ध गराउनुपर्ने आवश्यकता रहेका बताए । त्यसका लागि प्रदेश र संघ सरकारलाई अनुरोध गर्ने काम भइरहेको जानकारी दिए । माथिल्ला सरकारले हुन्छ भनेपनि काम गर्न आलटाल गरेको कि नचाहेको बुझ्न नसकेको बताए ।

नमस्ते झरना र पटेक डाँडाका थप तस्वीरहरु :

       

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?