१८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट (राउन्ड अफ ३२) चरणमा आज राति दुई विपरीत शैली र दर्शन बोकेका युरोपेली पावरहाउस- स्पेन र अस्ट्रियाबीच महाभिडन्त हुँदैछ ।
समूह ‘एच’ मा आफ्नो बलियो उपस्थिति देखाएको स्पेन आफ्नो परम्परागत ‘टिकी-टाका’ पासिङ गेम र युवा विङ्गरहरूको द्रुत गतिको मद्दतले अस्ट्रियाको रक्षापङ्क्ति भत्काउने दाउमा छ ।
अर्कोतर्फ, समूह ‘जे’ को अन्तिम खेलमा अल्जेरियाविरुद्ध ऐतिहासिक पुनरागमन गर्दै नकआउटमा स्थान सुरक्षित गरेको अस्ट्रिया आफ्नो सङ्गठित डिफेन्स र उच्च दबाब दिने रणनीतिका लागि चिनिन्छ ।
यो ‘गर या मर’ को रोमाञ्चक खेलमा दुवै टोलीका रणनीतिहरू त महत्त्वपूर्ण हुने नै छन्, तर मैदानभित्र रहेका केही विशेष खेलाडीहरूको व्यक्तिगत जादुले खेलको नतिजा जुनसुकै मोडमा मोड्न सक्छ ।
दुवै टोलीका केही खेलाडीहरूको प्रदर्शन आजको खेलमा सबैभन्दा निर्णायक बन्न सक्छ :
स्पेन
लामिन यमाल (विङ्गर) : १८ वर्षीय बार्सिलोनाका यी विङ्गरले साउदी अरेबियाविरुद्ध शानदार गोल र असिस्ट गर्दै आफ्नो लय प्रमाणित गरिसकेका छन् । निको विलियम्स नहुँदा अब स्पेनको आक्रमणको मुख्य हतियार यिनै युवा स्टार हुनेछन् । यमालले जारी विश्वकपमा एक गोल र एक असिस्ट गरेका छन् ।
मिकेल ओयारजबाल (फरवार्ड) : निको विलियम्सको अनुपस्थितिमा स्पेनिस आक्रमणलाई पूर्णता दिने जिम्मेवारी रियल सोसिडाडका कप्तान ओयारजबालको काँधमा आउनेछ । विङ्गर र ‘फल्स नाइन’ दुवै स्थानबाट खेल्न सक्ने उनको बहुमुखी क्षमता विपक्षीका लागि घातक हुन सक्छ । उनले जारी विश्वकपमा २ गोल गरिसकेका छन् ।
डानी ओल्मो (मिडफिल्डर) : बार्सिलोनाका यी मिडफिल्डरसँग अचुक पासिङ र बक्सभित्र छिरेर गोल निकाल्ने विशेष क्षमता छ । जारी विश्वकपमा उनले स्पेनका लागि १ असिस्ट प्रदान गरिसकेका छन् भने उनको क्लब सिजन (९ गोल, ११ असिस्ट) निकै उत्कृष्ट रहेको छ ।
अस्ट्रिया
मार्सेल साबिट्जर (मिडफिल्ड) : बोरुसिया डर्टमन्डका यी अनुभवी मिडफिल्डर अस्ट्रियाको आक्रमणका मुख्य योजनाकार हुन् । उनको लामो दुरीको प्रहार स्पेनका लागि ठुलो खतरा बन्न सक्छ ।
उनले यसै विश्वकपको समूह चरणमा अल्जेरियाविरुद्ध एक महत्त्वपूर्ण गोल गरिसकेका छन् ।
डेभिड अलाबा (डिफेन्स) : रियल मड्रिडका भेट्रान डिफेन्डर तथा टोलीका कप्तान अलाबामाथि स्पेनको आक्रामक तोपखाना रोक्ने मुख्य जिम्मेवारी छ । उनको नेतृत्व र अनुभव नै अस्ट्रियाको रक्षापङ्क्तिको मुख्य ऊर्जा हो ।
सासा कालाजिक (फरवार्ड) : अल्जेरिया विरुद्धको खेलमा इन्जुरी समयको छैटौं मिनेटमा शानदार गोल गर्दै अस्ट्रियालाई नकआउटमा पुर्याएका यी २ मिटर अग्ला स्ट्राइकर अहिले टोलीका नयाँ हिरो हुन् । उनको ‘एरियल एबिलिटी’ स्पेनिस डिफेन्डरहरूका लागि टाउको दुखाइ बन्न सक्छ । अल्जेरियाविरुद्धको उनको त्यो ऐतिहासिक गोलले अस्ट्रियालाई विश्वकप इतिहासमा दोस्रो पटक मात्र नकआउट चरणमा पुर्याएको हो ।
प्रतिक्रिया 4