१८ असार, काठमाडौँ । सडक विभागले मनसुनका समयमा हुनसक्ने सम्भावित सडक अवरोध र प्राकृतिक विपत्तिलाई मध्यनजर गर्दै देशभर उच्च सतर्कताका साथ पूर्वतयारी पूरा भएको जनाएको छ।
विभागले यस वर्ष पनि आफ्नो स्थापित कार्यविधिअनुसार राजमार्गहरूमा हुने अवरोध तत्काल हटाउन र यातायात व्यवस्था सुचारु राख्न विशेष योजना अघि सारेको हो।
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार विभागले हेर्ने कुल १५ हजार किलोमिटर सडक सञ्जालमध्ये करिब १० हजार किलोमिटर सबै मौसममा चल्ने सडकमा विशेष प्राथमिकताका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ।
विभागले तय गरेको नीतिअनुसार मुख्य राजमार्गहरूमा पहिरोका कारण सडक अवरुद्ध भए दिउँसोको समयमा आधा घण्टाभित्र प्राविधिक टोली पुग्ने र सामान्य अवस्थामा दुई घण्टाभित्र बाटो खुलाउने लक्ष्य राखेको छ।
प्रविधिको प्रयोग र उपकरण परिचालन
विगतका वर्षहरूमा म्यानुअल तरिकाले सूचना संकलन गर्ने गरिए पनि यस वर्षदेखि विभागले आधुनिक प्रविधिको प्रयोगलाई तीव्रता दिएको छ। महानिर्देशक जैसीले ‘सेतु’ नामक सफ्टवेयरमार्फत देशभर रहेका २ सय ७७ वटा हेभी इक्विपमेन्ट र तिनका अपरेटरहरूको ‘लाइभ लोकेसन’ ट्र्याक गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।
उनले भने, ‘यस सफ्टवेयरको माध्यमबाट कुन उपकरण र अपरेटर कहाँ छन् भन्ने कुराको प्रत्यक्ष निगरानी गर्न सकिन्छ। कुनै स्थानमा पहिरो गएको सूचना आउनासाथ सो स्थानको सबैभन्दा नजिक रहेको मेसिनलाई तत्काल परिचालन गर्न यसले सहज बनाउनेछ।’
विभागको यान्त्रिक महाशाखा र सिभिल डिभिजन कार्यालयहरूबीच समन्वय गरी उपकरणहरूलाई जोखिमयुक्त क्षेत्रको नजिकै तयारी अवस्थामा राखिएको छ।
पहिरो नियन्त्रण र जोखिम न्यूनीकरण
नेपालको भौगोलिक अवस्था र कमजोर भू-बनावटका कारण जुनसुकै स्थानमा पहिरोको जोखिम रहने तथ्यलाई आत्मसात् गर्दै विभागले सम्भावित जोखिमयुक्त स्थानहरूको पहिचान गरेको छ।
बजेट र क्षमताको अभावका कारण पहिचान भएका सबै स्थानमा स्थायी रोकथाम गर्न नसकिए पनि नागढुङ्गा–मुग्लिन, नारायणगढ–मुग्लिन र कान्ति लोकपथका मुख्य पहिरोहरूलाई बायो-इन्जिनियरिङ, रक एङ्करिङ र सर्टक्रिटिङ जस्ता प्रविधिमार्फत स्थिर (स्ट्याबलाइज) गरिसकिएको विभागले जनाएको छ।
विशेषगरी झ्याप्ले खोला, महेश खोला र कृष्णभीर जस्ता पुराना र जटिल पहिरोहरूलाई नियन्त्रणमा लिइएको छ भने नारायणगढ–मुग्लिन खण्डको तुइन खोला र कान्ति लोकपथका केही स्थानमा काम जारी रहेको छ।
यात्रुहरूलाई सुरक्षित यात्राको अपिल
महानिर्देशक जैसीले मनसुनको समयमा यात्रा गर्दा मौसम पूर्वानुमान महाशाखाको बुलेटिन र सडकको अवस्था बुझेर मात्र निस्कन सर्वसाधारणलाई आग्रह गरेका छन्।
‘अत्यावश्यक काम नपरी जोखिमपूर्ण मौसममा यात्रा नगर्न र सुरक्षा निकाय तथा सडक विभागका कर्मचारीहरूको निर्देशन पालना गर्न हामी अनुरोध गर्दछौँ,’ उनले भने।
सडकमा कुनै पनि विपत्ति आइपरेमा विभागको हटलाइन, सुरक्षा निकाय वा नजिकैको प्रहरी चौकीमा तत्काल खबर गर्नसमेत विभागले सूचित गरेको छ। निर्माणाधीन सडकहरूको हकमा निर्माण व्यवसायीलाई नै जिम्मेवार बनाइएको र अन्य सडकमा विभागले २४सै घण्टा सेवा दिने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया 4