+
+
Shares

अर्जेन्टिनी जर्सी पहिरिएको ‘मेसी’ नामक बाख्रा पनि चर्चामा

लियोनेल मेसीले जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी (गोट) का रूपमा आफ्नो दाबी बलियो बनाइरहँदा, कन्सास सिटीमा भने अर्को एउटा ‘मेसी’ नाम दिएको बाख्रा मिसौरी नदीको किनारमा झारपात चपाउँदै प्रशंसकहरूको मन जित्न व्यस्त छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते १३:१२

१८ असार, काठमाडौं । लियोनेल मेसीले जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी (गोट) का रूपमा आफ्नो दाबी बलियो बनाइरहँदा, कन्सास सिटीमा भने अर्को एउटा ‘मेसी’ नाम दिएको बाख्रा मिसौरी नदीको किनारमा झारपात चपाउँदै प्रशंसकहरूको मन जित्न व्यस्त छ।

विश्वकप प्रतियोगिता सुरु हुन ठीक अगाडि जन्मिएको यसलाई अर्जेन्टिनाको जर्सी पहिराइएको छ। आफ्नो नाम जोडिएका विश्वप्रसिद्ध खेलाडी मेसीले दुई खेलमा पाँच गोल गरिसक्दा यो खसी पनि उत्तिकै चर्चित बनेको छ। कन्सास सिटीमा भएको खेलमा अल्जेरियाविरुद्ध ३-० को जित निकाल्दा मेसीले ह्याट्रिक गरेका थिए भने अस्ट्रियाविरुद्धको २-० को अर्को जितमा दुई गोल थपेका थिए।

यी उत्कृष्ट प्रदर्शनहरूले खेलकुदको संक्षिप्त रूप ‘गोट’ अर्थात् इतिहासकै सर्वोत्कृष्ट खेलाडी को हो भन्ने पुरानै बहसलाई पुनः ब्युँताइदिएका छन्, जहाँ मेसीको नाम प्रायः पेले र डिएगो म्याराडोना जस्ता फुटबलका महान् खेलाडीहरूसँगै अग्रपङ्क्तिमा राखिन्छ।

यसैबीच, अर्जेन्टिनी टोलीले बर्कले रिभरफ्रन्ट नजिकै कन्सास सिटीलाई आफ्नो मुख्य आधार शिविर बनाएर बसेको छ। त्यहीँ नजिकै, अर्बौँ डलरको पुनर्निर्माण योजना तय गरिएको ५५ एकडको औद्योगिक क्षेत्रमा झारपात सफा गर्न खटाइएको एउटा बथानमा सिङ भएको त्यो सानो ‘मेसी’ नामक बाख्रा पनि व्यस्त छ।

‘पोर्ट केसी’ को नेतृत्वमा सञ्चालित यस परियोजनाले सार्वजनिक सरसफाइ कोष र निजी विकासलाई एकापसमा जोडेको छ। यो सम्पूर्ण विकास परियोजनाको मुख्य केन्द्रभागमा ‘सीपीकेसी’ रङ्गशाला रहेको छ । जुन नेसनल वुमेन्स सकर लिगको टोली ‘कन्सास सिटी करेन्ट’ को घरेलु मैदान समेत हो।

‘हामीले यहाँ बाख्राहरू लिएर आउँदा यो सानो मेसीको जन्म भएको हो,’ करिब ४० वटा बाख्राहरू रहेको ‘गोट्स गन ग्रिन’ का सञ्चालक काइल एल्विसले भने, ‘यहाँ विश्वकपको रौनक भित्रिँदै गर्दा शहरमा एउटा मेसी पनि यताउता घुमिरहेको हुनुपर्छ भन्ने हामी सबैलाई लाग्यो।’

नदी किनारको पैदल मार्गमा दौडिने मानिसहरू बाख्राको बथान चरिरहेको देखेपछि फोटो खिच्नका लागि आफ्नो गति कम गर्छन्। एल्विसका अनुसार ‘पोर्ट केसी’ सँग उनको साझेदारीको यो दोस्रो वर्ष हो।

‘उनीहरू यहाँ कुनै पनि प्रकारको झार मार्ने विषादी (हर्बिसाइड) छर्कन चाहँदैनन्। नजिकै मिसौरी नदी भएकाले विषादी बगेर पानीमा मिसियोस् भन्ने हाम्रो चाहना छैन। यसका साथै, बर्कले रिभरफ्रन्ट मार्गमा ओहोरदोहोर गर्ने मानिसहरूले केवल कङ्क्रिट र भवनहरू मात्र नभई यो प्राकृतिक दृश्यको पनि थोरै आनन्द लिन पाउँछन्,’ उनले उल्लेख गरे।

विश्वकप अगाडि फुटबलका बारेमा आफूलाई थोरै मात्र जानकारी रहेको कुरा स्वीकार गर्दै एल्विसले यस खेलले यो प्रतियोगिता आयोजना गरिरहेको अमेरिकाकै सबैभन्दा सानो शहर कन्सास सिटीका मानिसहरूलाई एकापसमा जोड्ने काम गरिरहेको बताए।

दुई मेसीबीचको भेटघाटको कुरा गर्ने हो भने, त्यसका लागि निमन्त्रणा अझै कायमै छ।

ती अर्जेन्टिनी स्टार खेलाडीले अहिलेसम्म यहाँ भ्रमण गरे/नगरेको विषयमा बोल्दै एल्विसले भने, ‘मलाई थाहा भएसम्म उनी अहिलेसम्म आएका छैनन्। यदि उनी यहाँ आएर यो सानो मेसीलाई भेट्न चाहन्छन् भने, उनलाई स्वागत गर्न पाउँदा हामीलाई निकै खुसी लाग्नेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?