फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा आज राति फुटबल इतिहासकै एउटा स्वर्णिम युगको महाटक्कर हुँदैछ, जहाँ दुई लिजेन्डहरू- ४१ वर्षीय क्रिस्टियानो रोनाल्डो र ४० वर्षीय लुका मोड्रिच आमनेसामने हुनेछन् ।
सन् २००६ को जर्मनी विश्वकपदेखि आ-आफ्नो देशको जर्सीमा विश्वकप यात्रा सुरु गरेका यी दुई सुपरस्टारहरू विगत दुई दशकदेखि विश्व फुटबलको शिखरमा छन् । रियल मड्रिडमा सहकर्मीका रूपमा ४ वटा च्याम्पियन्स लिग जितेर सुनौलो इतिहास रचेका यी पुराना साथीहरू आज भने देशको अस्तित्व र विश्वकपको सपना जोगाउन एक-अर्काविरुद्ध मैदान उत्रँदै छन् ।
रोचक र दुर्लभ तथ्य के छ भने, दुई दशक लामो अन्तर्राष्ट्रिय करियरका बाबजुद विश्वकपको इतिहासमा रोनाल्डो र मोड्रिच पहिलो र सम्भवतः अन्तिम पटक मैदानमा भिड्न लागेका हुन् ।
६ फरक विश्वकपमा गोल गर्ने विश्वकै एकमात्र खेलाडी रोनाल्डो र सन् २०१८ मा क्रोएसियालाई फाइनल पुर्याउँदै गोल्डेन बल र बालोन डी’ओर जितेका मिडफिल्ड विजार्ड मोड्रिचको यो ‘लास्ट डान्स’ खेलप्रेमीहरूका लागि निकै भावनात्मक र ऐतिहासिक हुने निश्चित छ ।
यो ‘गर या मर’ को दबाबपूर्ण खेलमा यी दुई महानायकको रणनीतिक चातुर्यता त हेर्न लायक हुने नै छ, साथै मैदानभित्र रहेका अन्य केही विशेष खेलाडीहरूको व्यक्तिगत प्रदर्शनले खेललाई जुनसुकै मोडमा पुर्याउन सक्छ ।
पोर्चुगल र क्रोएसियाको यस रोमाञ्चक र ‘हाई-भोल्टेज’ नकआउट खेलमा दुवै टोलीका खेलको नतिजा बदल्न सक्ने मुख्य ‘प्लेयर्स टु वाच’ को विवरण यसप्रकार छ:
पोचर्गुल
क्रिस्टियानो रोनाल्डो (स्ट्राइकर) : ४१ वर्षीय यी भेट्रान स्ट्राइकर अझै पनि पोर्चुगलको आक्रमणको मुख्य केन्द्रविन्दु हुन् । जारी विश्वकपको समूह चरणमा उज्बेकिस्तानविरुद्ध दुई गोल गर्दै उनले आफ्नो भोक र लय कायमै रहेको प्रमाणित गरिसकेका छन् । नकआउट चरणको दबाबपूर्ण खेलमा उनको फिनिसिङ र उपस्थिति क्रोएसियाका लागि सबैभन्दा ठुलो खतरा हुनेछ ।
ब्रुनो फर्नान्डेस (मिडफिल्डर) : म्यानचेस्टर युनाइटेडका यी मिडफिल्डर पोर्चुगलको खेलका मुख्य इन्जिन हुन् । अग्रपङ्क्तिमा रहेका रोनाल्डो र राफेल लेआओलाई ‘किलर पास’ उपलब्ध गराउने र सेट-पिसहरूमा जादुमयी क्रसहरू निकाल्ने जिम्मेवारी यिनकै काँधमा हुनेछ । उनको लामो दुरीको प्रहार पनि क्रोएसियाका लागि घातक बन्न सक्छ ।
रुबेन डियास (डिफेन्सिभ मिडफिल्डर) : म्यानचेस्टर सिटीका यी दरिला डिफेन्डर पोर्चुगलको रक्षापङ्क्तिका कमान्डर हुन् । क्रोएसियाको काउन्टर-अट्याक रोक्न र पेनाल्टी बक्सभित्र विपक्षी स्ट्राइकरहरूलाई निगरानीमा राख्न उनको शारीरिक शक्ति र नेतृत्वदायी भूमिका अपरिहार्य हुनेछ ।
क्रोएसिया
लुका मोड्रिच (मिडफिल्डर) : ४० वर्षको उमेरमा पनि मैदानमा जादू छरिरहेका रियल म्याड्रिडका यी मिडफिल्ड विजार्ड क्रोएसियाका मुटु हुन् । खेलको गति नियन्त्रण गर्ने र पोर्चुगलको मिडफिल्ड प्रेसिङलाई आफ्नो सानदार ड्रिब्लिङ र पासिङले फितलो बनाउने जिम्मेवारी कप्तान मोड्रिचको हुनेछ ।
जोस्को ग्वार्डिओल (डिफेन्डर) : म्यानचेस्टर सिटीका यी बहुमुखी डिफेन्डर क्रोएसियाका लागि ‘डिफेन्सिभ र आक्रामक’ दुवै हतियार हुन् । लेफ्ट-ब्याक र सेन्टर-ब्याक दुवै स्थानबाट उत्कृष्ट खेल्ने ग्वार्डिओलमाथि क्रिस्टियानो रोनाल्डोलाई रोक्ने र विङ्ग्सबाट आफैँ ओभरल्याप गर्दै पोर्चुगलको बक्समा दबाब बढाउने दोहोरो जिम्मेवारी छ ।
आन्टे बुदिमिर (फरवार्ड) : ओसासुनाका यी अग्ला कदका स्ट्राइकर क्रोएसियाको अग्रपङ्क्तिका मुख्य हतियार हुन् । शारीरिक रूपमा बलिया बुदिमिरको ‘एरियल एबिलिटी’ उत्कृष्ट छ । पोर्चुगलको सेन्टर-ब्याक जोडी रुबेन डियास र रेनाटो भेइगाका लागि उनी शारीरिक रूपमा निकै चुनौतीपूर्ण साबित हुन सक्छन् ।
प्रतिक्रिया 4