१८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत भोलि बिहान क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस रङ्गशालामा स्विट्जरल्यान्ड र अल्जेरिया खेल्दै छन् ।
समूह ‘बी’ को शीर्ष स्थान कब्जा गर्दै नकआउट यात्रा तय गरेको युरोपेली पावरहाउस स्विट्जरल्यान्ड उच्च मनोबलका साथ मैदान उत्रिँदैछ ।
अर्कोतर्फ, समूह ‘जे’ को अन्तिम खेलमा अस्ट्रियासँग ३-३ को रोमाञ्चक बराबरी खेल्दै उत्कृष्ट तेस्रो टोलीका रूपमा आएको अफ्रिकन राष्ट्र अल्जेरिया जुनसुकै बलियो टोलीलाई स्तब्ध पार्ने दाउमा छ ।
विश्वकप इतिहासमै पहिलो पटक यी दुई टोली प्रतिस्पर्धी खेलमा आमनेसामने हुन लागेको यस ‘गर या मर’ को खेलमा दुवै टोलीका यी मुख्य खेलाडीहरूको प्रदर्शन सबैभन्दा निर्णायक बन्न सक्छ :
स्विट्जरल्यान्ड
रुबेन भार्गास (विङ्गर) : निकोला अस्चेर जस्ता विङ्गरहरू घाइते हुँदा वा टोली परिवर्तन हुँदा भार्गासमाथि स्विस आक्रमणलाई तीव्र गति दिने ठुलो जिम्मेवारी छ । उनको उत्कृष्ट ड्रिबलिङ र काउन्टर-अट्याक अल्जेरियन डिफेन्सका लागि घातक बन्न सक्छ । उनले जारी विश्वकपको समूह चरणमा स्विट्जरल्यान्डका लागि १ गोल र २ असिस्ट गरेका छन् ।
ग्रानिट जाका (मिडफिल्डर) : टोलीका कप्तान तथा अनुभवी मेरुदण्ड जाकाले मैदानको मध्यभाग नियन्त्रण गर्छन् । खेलको गति तय गर्ने र रक्षापङ्क्तिलाई सुरक्षा दिने मुख्य जिम्मेवारी यिनकै काँधमा हुनेछ । सन् २०१४ देखि लगातार चौथो विश्वकप खेलिरहेका जाकाले जारी विश्वकपमा मिडफिल्डबाट खेल्दै १ गोल गरिसकेका छन् ।
म्यानुएल अकान्जी (डिफेन्डर) : म्यानचेस्टर सिटीका यी डिफेन्डर स्विस रक्षापङ्क्तिका प्रमुख खम्बा हुन् । रियाद महरेज जस्ता तीव्र गतिका अल्जेरियन खेलाडीहरूलाई रोक्न उनको शारीरिक शक्ति र खेल बुझ्ने क्षमता अपरिहार्य हुनेछ । उनले जारी विश्वकपमा टोलीको डिफेन्स मात्र सम्हालेका छैनन्, समूह चरणमा सेट-पिस मार्फत १ महत्त्वपूर्ण गोल समेत गरेका छन् ।
अल्जेरिया
रियाद माहरेज (विङ्गर) : अल अह्लीका भेट्रान विङ्गर तथा टोलीका कप्तान महरेज अल्जेरियन आक्रमणका मुख्य सिर्जनशील खेलाडी हुन् । उनको अचुक ड्रिबलिङ र फ्रि-किकहरू स्विस डिफेन्सका लागि टाउको दुखाइ बन्न सक्छ । अल्जेरियाका लागि ८० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलिसकेका माहरेजसँग प्रिमियर लिग र च्याम्पियन्स लिग जितेको विशाल अनुभव छ ।
अमिन गुइरी (फरवार्ड) : अस्ट्रिया विरुद्धको ६ गोलको थ्रिलर खेलमा उत्कृष्ट प्रदर्शन गरेका गुइरी अल्जेरियाको गोल गर्ने मुख्य आशा हुन् । काउन्टर-अट्याकमा उनको गति र बक्सभित्रको क्लिनिकल फिनिसिङ स्विट्जरल्यान्डका लागि घातक सावित हुन सक्छ । उनले यसै विश्वकपको समूह चरणमा अल्जेरियाका लागि २ गोल गरिसकेका छन् ।
रायन एत-नूरी (डिफेन्डर) : म्यान्चेस्टर सिटीका यी लेफ्ट-ब्याक डिफेन्ससँगै आक्रामक ओभरल्यापिङका लागि प्रख्यात छन् । स्विस युवा विङ्गरहरूको आक्रमणलाई रोक्ने र काउन्टरमा महरेजलाई पास उपलब्ध गराउने दोहोरो जिम्मेवारी यिनकै हुनेछ ।
प्रतिक्रिया 4