+
+
Shares

बालश्रममुक्त घोषणा गर्ने १३ पालिका, ६ प्रतिष्ठान र ७ उद्यमी सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते १९:४५

१८ असार, काठमाडौं । सरकारले बालश्रम निवारण, सुरक्षित कार्यस्थल प्रवर्द्धन तथा स्वदेशमै उद्यमशीलता विकासमा उल्लेखनीय योगदान पुर्‍याउने स्थानीय तह, औद्योगिक प्रतिष्ठान र उद्यमीलाई सम्मान गरेको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले बिहीबार आयोजित कार्यक्रममा बालश्रममुक्त घोषणा गरेका १३ स्थानीय तह, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य (ओएसएच) क्षेत्रमा उत्कृष्ट कार्य गर्ने ६ औद्योगिक प्रतिष्ठान तथा वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम सञ्चालन गरिरहेका ७ जनालाई सम्मान गरेको हो ।

वैदेशिक रोजगारीबाट फर्किएर नेपालमै उद्यम स्थापना गरी रोजगारी सिर्जना र अर्थतन्त्रमा योगदान पुर्‍याएको भन्दै उनीहरूलाई ‘राष्ट्रिय उद्यमी पुरस्कार’ प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

त्यसरी राष्ट्रिय उद्यमी पुरस्कार पाउनेहरूमध्ये मोरङका लोक बहादुर राईले सञ्चालन गर्दै आएको प्रशंसा हनी फार्मलाई १ लाख ५० हजार रूपैयाँ नगदसहित सर्वोत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै झापाको हल्दीबारीमा रहेको मनिका एण्ड युनिका बंगुर फार्मलाई उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । अन्य उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार पाउनेहरूमा सप्तरीको ग हिल कुटानी पिसानी उद्योग, सिन्धुलीको एमजी एग्रो फार्म, पर्वतको एस.के कृषि तथा पशुपक्षी फार्म, अर्घाखाँचीको दिपेश एण्ड विवेश कृषि तथा पशुपंक्षी फार्म र बाजुराको न्यू कालिका अटो पार्टस् रहेका छन् । उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारको राशी ७५/७५ हजार रूपैयाँ रहेको छ ।

त्यस्तै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यका २२ वटा सूचकका आधारमा उत्कृष्ट ठहरिएका ६ औद्योगिक प्रतिष्ठानलाई पनि सम्मान गरेको छ । सम्मानित हुनेमा कैलालीको नवजीवन अस्पताल, पूर्वी नवलपरासीको होङ्सी शिवम् सिमेन्ट, रुपन्देहीको अम्बे स्टिल, हेटौंडाको एसियन पेन्ट्स, सिराहाको मारुती सिमेन्ट र सुनसरीको मैनावती स्टिल इन्डस्ट्रिज रहेका छन् । आवेदन नपरेकाले कर्णाली प्रदेशबाट भने कुनै प्रतिष्ठान छनोट हुन नसकेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै बाल श्रम मुक्त घोषणा गरेर सम्मानित हुने पालिकाहरूमा म्याग्दीको रघुगंगा गाउँपालिका, रोल्पाको त्रिवेणी गाउँपालिका, कपिलवस्तुको बाणगंगा नगरपालिका, इलामको सूर्योदय नगरपालिका, तनहुँको म्याग्दे गाउँपालिका, भोजपुरको पौवादुङमा गाउँपालिका, बाग्लुङको बरेङ गाउँपालिका, स्याङ्जाको विरुवा गाउँपालिका, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका, हुम्लाको खार्पूनाथ गाउँपालिका, स्याङ्जाको फेदीखोला गाउँपालिका, कपिलवस्तुको बुद्धभूमि नगरपालिका र काठमाडौंको चन्द्रागिरि नगरपालिका रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले श्रमिकको सुरक्षा, बालश्रमको अन्त्य, कानुनको पालना र स्वदेशमै भविष्य निर्माण गर्ने वातावरणले मात्र समृद्ध राष्ट्र निर्माण सम्भव हुने बताए । बालश्रममुक्त घोषणा गर्ने १३ स्थानीय तहको प्रशंसा गर्दै उनले अन्य सबै पालिकाले पनि यस्तो अभियानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । बालबालिका काममा नभई विद्यालय र खेलमैदानमा हुनुपर्ने बताउँदै मन्त्री यादवले सम्मानित १३ पालिकाको संख्या अझै पर्याप्त नभएको उल्लेख गरे ।

सरकारले बालश्रममुक्त घोषणा गर्न स्थानीय तहलाई प्रोत्साहनस्वरूप ३ लाख रुपैयाँ तथा घोषणा सम्पन्न भएपछि थप २ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ । मन्त्री यादवले जिम्मेवार व्यवसाय सञ्चालनले श्रमिकको सुरक्षा, सम्मान र उत्पादनशीलता बढाउने प्रमाणित भएको उल्लेख गर्दै सरकारले आन्तरिक तथा वैदेशिक दुवै श्रम बजारमा जिम्मेवार व्यवसाय प्रवद्र्धनलाई निरन्तर प्रोत्साहन गर्ने बताए ।

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम स्थापना गरी अरूलाई रोजगारी सिर्जना गर्ने युवाहरूको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै मन्त्री यादवले यस्ता व्यक्तिहरू अन्य युवाका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे । मन्त्रालयले यस्ता सम्मान तथा प्रोत्साहन कार्यक्रमले थप स्थानीय तह, उद्योग तथा निजी क्षेत्रलाई बालश्रम अन्त्य, सुरक्षित कार्यस्थल निर्माण र स्वदेशमै उद्यमशीलता विकासतर्फ प्रेरित गर्ने विश्वास लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?