१८ असार, उदयपुर । मदन भण्डारी लोकमार्गमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । उनका श्रीमान् गम्भीर घाइते भएका छन् । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ फुस्रेमा यो दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर बमका अनुसार बिहीबार दिउँसो गाईघाटबाट कटारीतर्फ जाँदै गरेको स ५ प ४९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ५ स २८४२ नम्बरको ट्रक एकापसमा ठोक्किएका हुन् ।
दुर्घटनामा उदयपुरगढी गाउँपालिका–३ बर्रेकी २८ वर्षीया यमुना बिकको मृत्यु भएको हो । उनका २८ वर्षीय श्रीमान् यमबहादुर बिक गम्भीर घाइते छन् । उनको जिल्ला अस्पताल उदयपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि सवार सवार यमुना दुर्घटनास्थलमा गम्भीर घाइते भएकी थिइन् । उनलाई तत्काल जिल्ला अस्पतालमा ल्याएर उपचार थालिएपनि सुधार हुन नसक्दा चिकित्सकले मृत घोषणा गरेको डीएसपी बमले जानकारी दिए ।
ट्रक चालक सप्तरीको सुरुङ्गा नगरपालिका–१ का ४४ वर्षीय एकबहादुर खड्का र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
प्रतिक्रिया 4