पक्षघात भएको बिरामी केही मिनेटमै निको भयो । हलचल नै गर्न गाह्रो पर्ने व्यक्ति एकाएक हिँड्न थाल्यो । झरेको कपाल फेरि बाक्लो भएर पलायो ।
सेतो कपाल कालो भयो । क्यान्सर गायब भयो । काम गर्न छाडेको मिर्गौलाले फेरि काम गर्न थाल्यो । यस्ता दाबीसहितका सूचना तथा भिडियोहरू सामाजिक सञ्जालतिर प्रशस्तै भेटिन्छ । सामाजिक सञ्जाल चाहर्ने प्रायजसो सबैले यो देखेकै हुनुपर्छ ।
पछिल्ला वर्षहरूमा यस्ता दृश्यहरू फेसबुक, टिकटक र युट्युबजस्ता माध्यममा बारम्बार भाइरल भइरहेका छन् । भिडियोमा बिरामीमाथि पानी छर्किएको, तेल लगाइएको, केही मन्त्र उच्चारण गरिएको वा सामान्य स्पर्श गरिएको केही क्षणमै वर्षौंदेखिको रोग निको भएको दाबी गरिन्छ ।
हेर्दा यस्ता दृश्यले आश्चर्यचकित मात्र बनाउँदैनन्, उपचारको आशामा रहेका बिरामी र उनका परिवारमा ठूलो आशा पनि जगाइदिन्छन् ।
यसमा झट्ट विश्वास गर्नुअघि आफैंलाई केही प्रश्न सोधेर हेर्नु आवश्कय छ । के वास्तवमै यस्तो चमत्कार सम्भव छ त ? कयौ जटिल उपचार आवश्यक पर्ने, लामो समय लगाएर धेरै खर्च गरेर उपचार गर्नुपर्ने यस्ता रोग एकैछिनमा चट्टै हुन्छ होला त ?
मानव इतिहास हेर्दा चमत्कारी उपचारको दाबी नयाँ होइनन् । विभिन्न सभ्यता र संस्कृतिहरूमा आफूलाई विशेष शक्ति प्राप्त भएको बताउने व्यक्तिहरू देखा पर्दै आएका छन् । कसैले पवित्र जलद्वारा रोग निको पार्ने दाबी गरे, कसैले स्पर्शबाट उपचार गर्ने बताए, कसैले आध्यात्मिक शक्तिद्वारा पक्षघात, क्यान्सर वा बहिरोपन निको हुने दाबी गरे ।
तर चिकित्सा विज्ञानको विकाससँगै यस्ता दाबीहरूलाई व्यवस्थित रूपमा परीक्षण गर्न थालियो । परिणाम के देखियो भने अधिकांश चमत्कारिक दाबीहरू वैज्ञानिक परीक्षणमा फेल भए ।
चिकित्सा विज्ञानको एउटा आधारभूत सिद्धान्त छ, ‘असाधारण दाबीका लागि असाधारण प्रमाण आवश्यक हुन्छ ।’
यदि कसैले पक्षघात, मस्तिष्कघात, नसाको क्षति, बहिरोपन वा अन्य जटिल रोग केही मिनेटमै निको पार्न सक्छ भन्ने दाबी गर्छ भने त्यो प्रमाणित गर्न वैज्ञानिक अध्ययन, चिकित्सकीय अभिलेख, उपचारअघि र उपचारपछिको वस्तुगत मूल्यांकन तथा स्वतन्त्र अनुसन्धान आवश्यक हुन्छ ।
केवल भिडियो, व्यक्तिगत अनुभव वा जनविश्वासलाई वैज्ञानिक प्रमाण मान्न सकिँदैन ।
उदाहरणका लागि, पक्षघातको कुरा गरौं ।
मस्तिष्कघातका कारण मस्तिष्कका केही कोषिकाहरू नष्ट हुन्छन् । मेरुदण्डको चोटका कारण स्नायु मार्गहरू प्रभावित हुन सक्छन् । यस्ताो अवस्थाहरूमा पुनःस्थापना प्रक्रिया लामो हुन्छ ।
फिजियोथेरापी, पुनःस्थापना चिकित्सा, औषधि तथा समयको आवश्यकता पर्छ । यस्तोमा चिकित्सक नै हार खाने बेला समेत नआउला भन्न सकिन्न । विज्ञानलाई हम्मे–हम्मे परेको यो जटिल समस्यालाई केही मिनेटको स्पर्श, तेल वा पानीले पूर्णरूपमा उल्ट्याउन सकिन्छ भन्ने दाबी शरीर विज्ञानको स्थापित ज्ञानसँग मेल खाँदैन ।
किन देखिन्छ कतिपय बिरामीमा सुधार ?
कतिपय बिरामीहरू यस्ता उपचारपछि पनि सुधार भएको देखिन्छन् । यसको अर्थ चमत्कार भयो भन्ने होइन । चिकित्सा विज्ञानले यसका विभिन्न सम्भावित कारणहरू पहिचान गरिसकेको छ ।
यस्ता कुराले सुधार हुने मुख्य कारण हो ‘प्लेसिबो प्रभाव ।’ जब बिरामीले कुनै उपचारप्रति अत्यधिक विश्वास राख्छ, तब मस्तिष्कले ‘एन्डोर्फिन’, ‘डोपामाइन’ लगायतका खुसी पार्ने रसायनहरू उत्पादन गर्न सक्छ । यसले पीडा कम गर्न, आत्मविश्वास बढाउन र लक्षणहरूमा अस्थायी सुधार ल्याउन सक्छ ।
प्लेसिबो प्रभाव वास्तविक हुन्छ, तर यसले रोगको मूल कारण हटाउँछ भन्ने आवश्यक छैन । अर्को कारण ‘फङ्सनल न्युरोलोजिकल डिसअर्डर’ हुनसक्छ । यस अवस्थामा बिरामीमा कमजोरी, हिँड्न नसक्ने, कम्पन हुने वा शरीरका केही भाग नचल्ने जस्ता लक्षणहरू देखिन सक्छन्, तर स्थायी संरचनात्मक क्षति भने नहुन सक्छ ।
यस्ता अवस्थामा विश्वास, प्रेरणा, भावनात्मक प्रभाव वा वातावरणीय कारकले अचानक सुधार ल्याउन सक्छ । तर यो सबै प्रकारका पक्षघात वा स्नायु रोगहरूमा लागू हुने कुरा होइन ।
सामाजिक सञ्जालको दुरुपपयोग बढ्दो, बदनाम हुँदै प्राकृतिक चिकित्सा
चमत्कारिक उपचार भन्दै ठगी धन्दा गर्न सामाजिक सञ्जाल प्रमुख अस्त्र बनिरहेको छ । समाजिक सञ्जालमा निको भएको दाबी हेर्दै मानिस अन्धविश्वास गर्न पुग्छन् । हजारौं बिरामीमध्ये सुधार भएको भनिएका केही व्यक्तिको मात्र भिडियो सार्वजनिक हुन्छ ।
सुधार नभएका, पुनः समस्या देखिएका वा कुनै फाइदा नभएका व्यक्तिहरू प्रायः चर्चामा आउँदैनन् । यसलाई मनोविज्ञानमा ‘सेलेक्सन बायस’ भनिन्छ । हामी केवल सफलताका कथाहरू मात्र देख्छौं र, त्यसैलाई सम्पूर्ण सत्य ठान्न थाल्छौं ।
यस्ता चमत्कारी दाबीहरूको अर्को गम्भीर असर भनेको नेपालमा वर्षौंदेखि अभ्यास हुँदै आएका तथा अध्ययन र अनुसन्धानले समेत मान्यता प्राप्त पूरक चिकित्सा प्रणालीहरूको समेत बदनाम हुनु हो ।
जब कसैले केही मिनेटमै पक्षघात निको पार्ने, सबै रोगको उपचार गर्ने वा वैज्ञानिक परीक्षणको आवश्यकता नै नरहने दाबी गर्छ, तब आमजनताले आयुर्वेद, अकुपन्चर, योग, ध्यान तथा अन्य पूरक चिकित्सा प्रणालीहरूलाई पनि त्यही श्रेणीमा राखेर हेर्न थाल्छन् ।
यो अत्यन्त दुर्भाग्यपूर्ण अवस्था हो । किनभने आज विश्वभर पूरक तथा सम्बन्धित चिकित्सा क्षेत्रमा व्यापक अनुसन्धान भइरहेको छ ।
अकुपन्चरको उदाहरण लिऔं । विश्व स्वास्थ्य संगठन तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले अकुपञ्चरसम्बन्धी अनुसन्धानहरूलाई मूल्यांकन गरेका छन् ।
हजारौं वैज्ञानिक लेखहरूमा पुरानो कम्मर दुखाइ, घुँडा खिइने समस्या, माइग्रेन, घाँटी दुखाइ, केही प्रकारका स्नायुजन्य पीडा तथा पुनःस्थापना चिकित्सामा यसको भूमिकाबारे अध्ययन गरिएको छ ।
विश्वका धेरै प्रतिष्ठित अस्पतालहरूमा आज अकुपंचर सम्बन्धित चिकित्सा सेवाको रूपमा प्रयोग भइरहेको छ ।
त्यसैगरी, योग, ध्यान, तनाव व्यवस्थापन, जीवनशैली चिकित्सा तथा आयुर्वेदका विभिन्न पक्षहरूमा पनि अनुसन्धानहरू भइरहेका छन् ।
सबै दाबी प्रमाणित भएका छैनन् । तर वैज्ञानिक समुदायले अनुसन्धान गर्दै, प्रमाण खोज्दै र प्रभावकारी विधिहरूलाई क्रमशः स्वास्थ्य प्रणालीमा समावेश गर्दै लगिरहेको छ ।
समस्या त्यतिबेला उत्पन्न हुन्छ जब वैज्ञानिक अनुसन्धानद्वारा प्रमाणित उपचारहरू र अपुष्ट चमत्कारी दाबीहरू एउटै टोकरीमा हालिन्छन् ।
परिणामस्वरूप, प्रमाणमा आधारित पूरक चिकित्सा प्रणालीहरूको विश्वसनीयता कमजोर हुन्छ । अनुसन्धान, शिक्षा र नीति निर्माणमा समेत नकारात्मक प्रभाव पर्न सक्छ ।
वास्तवमा आधुनिक चिकित्सा र परम्परागत चिकित्सा बीचको वास्तविक विभाजन विधिमा होइन, प्रमाणमा छ । कुनै उपचार आधुनिक हो कि परम्परागत भन्ने कुरा गौण हो । महत्वपूर्ण कुरा त्यसको प्रभावकारिता र सुरक्षाबारे उपलब्ध प्रमाण हो ।
यदि कुनै परम्परागत विधि अनुसन्धानद्वारा प्रभावकारी प्रमाणित हुन्छ भने त्यसलाई स्वीकार गर्नुपर्छ । यदि कुनै आधुनिक उपचार प्रभावहीन देखिन्छ भने त्यसलाई पनि पुनः मूल्यांकन गर्नुपर्छ । विज्ञानको यही निष्पक्षता नै यसको शक्ति हो ।
स्वास्थ्य साक्षरताको चुनौती
नेपालमा स्वास्थ्य साक्षरता अझै पनि चुनौतीको विषय बनेको छ । सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूलाई धेरैले स्वतः सत्य मान्ने प्रवृत्ति देखिन्छ । तर स्वास्थ्यसम्बन्धी निर्णय लोकप्रियता, भावनात्मक कथा वा भाइरल दृश्यका आधारमा होइन, प्रमाणका आधारमा लिनुपर्छ ।
कुनै भिडियो करोडौं पटक हेरियो भन्दैमा त्यसले वैज्ञानिक मान्यता प्राप्त गर्दैन । यस विषयको अर्को नैतिक पक्ष पनि छ । जब कुनै बिरामीले प्रमाणित उपचार छोडेर चमत्कारी दाबीको पछि लाग्छ, तब उसले आफ्नो स्वास्थ्यलाई ठूलो जोखिममा पार्न सक्छ ।
क्यान्सर, स्ट्रोक, मधुमेह, क्षयरोग, हृदयरोग वा अन्य जटिल रोगहरूमा समयमै उपचार नपाउँदा गम्भीर परिणाम आउन सक्छन् । त्यसैले, स्वास्थ्यसम्बन्धी झुटा आशा बेच्नु केवल वैज्ञानिक समस्या मात्र होइन, नैतिक र जनस्वास्थ्यको समस्या पनि हो । रोगसँग जुधिरहेका मानिसलाई आशा आवश्यक छ ।
प्रतिक्रिया 4