१९ असार, काठमाडौं । रौतहटको राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसहित ४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
गैरकानुनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ठाकुर सहित नगरपालिकाका तत्कालीन इन्जिनियर मोहम्मद शाह फैसल, विद्यालयका तत्कालीन प्रअ विजयकान्त मिश्र र लेखापाल शेख जहिरमाथि जनही ११ लाख १० हजार ११४ रुपैयाँ मागदाबी सहित मुद्दा दायर गरिएको आयोगको आरोपपत्रमा छ ।
राजापुर नगरपालिका-५ स्थित जनता नमुना माध्यमिक विद्यालयमा प्रि-स्कुल ब्लकको ८ कोठे भवन निर्माण गर्दा लागत भन्दा बढी मूल्यांकन गरी भ्रष्टाचार गरेको आयोगको आरोपपत्रमा उल्लेख छ ।
आयोगका अनुसार भवन निर्माणको लागत अनुमान ९७ लाख ३७ हजार ९९४ रुपैयाँ थियो । तर विद्यालयमा गठन भएको भौतिक संरचना निर्माण समितिले उक्त अनुमान लागत संशोधन गरी १ करोड ५ लाख ७७ हजार ५९६ रुपैयाँ हुने गरी निर्माण कार्य अघि बढाएको थियो ।
समितिले उक्त अनुमानभन्दा ११ लाख १० हजार ११४ रुपैयाँ बढी खर्च भएको बिलभर्पाइ बनाएर भुक्तानी लिएको पाइएको आयोगको आरोपपत्रमा उल्लेख छ ।
प्रतिक्रिया 4