१९ असार, धनकुटा । धनकुटामा दुई वटा नागरिकता बनाउने एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका-९ मुर्तिढुंगाका ४३ वर्षीय दोर्णराज काफ्ले रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय धनकुटाले काफ्लेलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाको जिम्मा लगाएको छ ।
काफ्लेले जिल्ला प्रशासन कार्यालय धनकुटाबाट एउटै नाममा जन्म मिति फरक बनाइ नागरिकता र राहदानी बनाएको पाइएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले जानकारी दिए ।
रेग्मीका अनुसार राहदानी प्रयोग गरेर विदेश गएको र धनकुटामा राहदानी नवीकरणका लागि आउँदा पछिल्लो दुई राहदानीको फोटो र बायोमेट्रिक मिल्यो भनेर राहदानी विभागले भनेपछि काफ्लेलाई बोलाएर सोध्दा स्वीकार गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत पुष्प धमलाका अनुसार काफ्लेले दुई वटा नागरिकता बोकेर एउटा नागरिकता रद्ध गरिदिनु भन्दै धनकुटा आएका थिए ।
काफ्लेले गलत उद्देश्य राखी झुटा विवरण पेस गरेको, आफ्नो वास्तविक जन्म मिति लुकाएर दोहोरो नेपाली नागरिकता प्राप्त गरेको तथा दुवै नागरिकताका आधारमा राहदानी समेत लिएको पाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । अनुसन्धानपछि प्राप्त प्रमाणका आधारमा प्रचलित कानुनअनुसार थप प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरिक्षक तथा सुचना अधिकारीले हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
प्रतिक्रिया 4