२१ असार, काठमाडौं । सरकारले विभिन्न राजमार्गका एक दर्जन स्थानमा तौलपुल स्थापनाको तयारी गरेको छ । पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार राजमार्गका ११ वटा रणनीतिक क्षेत्रमा तौलपुल स्थापना गर्न स्थान पहिचान गरी प्राविधिक तयारी थालिएको छ ।
यस अवधिमा बर्दिबास र चितवनमा रहेका तौलपुलको मर्मत तथा क्यालिब्रेसन गरी सञ्चालनमा ल्याइएको छ । निजी क्षेत्रबाट विभिन्न स्थानमा सञ्चालनमा रहेका १६ वटा तौलपुलको समेत अनुगमन भइरहेको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।
तौलपुलको सञ्चालनको अनुगमन यातायात व्यवस्था विभाग तथा ट्राफिक प्रहरीबाट भइरहेको समेत विवरणमा उल्लेख छ । संघ र प्रदेशको क्षेत्राधिकार अनुसार तौलपुल स्थापना तथा व्यवस्थापनका लागि तहगत समन्वय र पत्राचार गरिएको मन्त्रालयले उल्लेख गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा चार वटा रणनीतिक क्षेत्रमा तौलपुल संरचना निर्माण गर्न ४ करोड बजेट विनियोजन गरेको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार राष्ट्रिय राजमार्गमा निर्माणाधीन तथा मर्मत भइरहेका सडक र पुल आयोजनाको अनुगमन गर्न कार्यतालिका तयार पारिएको छ । साथै संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयबाट नियमित अनुगमन प्रतिवेदन प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया 4