+
+
Shares
एपीएफ स्कुलमा आर्थिक अनियमितता :

एक वर्षमा १० करोड बढी घोटाला, कल्याण महाशाखामा पठाउनुपर्ने रकम साथीको खातामा

छानबिनका क्रममा आर्थिक वर्ष २०८२/८३ को मात्रै करिब १० करोड बढी रकम हिनामिना भएको पाइयो । त्यसपछि सशस्त्र हेडक्वार्टरले प्रहरीलाई पत्राचार गर्दै लेखापाल गुरुङलाई कारबाही गर्न भन्यो । प्रहरीको पत्रपछि लेखापाल गुरुङ र उनका साथी लामा पक्राउ परे ।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ असार २१ गते १९:३७

२१ असार, काठमाडौं । सशस्त्र प्रहरी बलले कीर्तिपुरमा सञ्चालन गरेको एपीएफ (आर्म पुलिस फोर्स) स्कुलको रकम हिनामिना गरेको आरोपमा लेखा प्रमुख इन्स्पेक्टर कल्पना गुरुङ र उनका साथी लिलाबहादुर लामा हिरासतमा छन् ।

उनीहरू दुवै जनालाई शनिबार पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

सशस्त्र प्रहरी हेडक्वार्टरले स्कुलमा आर्थिक मिनामिना भएको भन्दै कारबाहीका लागि परिसर काठमाडौंलाई पत्र लेखेको थियो । त्यसपछि परिसरको टोलीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।

सशस्त्र स्कुलको खातामा हुनुपर्ने करोडौं रकम व्यक्तिगत खातामा राखेर हिनामिना गरेको आरोप उनीहरूमाथि छ । यसको मुख्य योजनाकार नै स्कुलकी लेखा प्रमुख गुरुङ रहेको बताइएको छ ।

यसबारे सुरुमा सशस्त्र हेडक्वार्टरले छानबिन गरेको थियो । छानबिनको क्रममा गुरुङ दोषी देखिएपछि प्रहरीलाई अनुसन्धान गरेर मुद्दा चलाउन भन्दै सशस्त्रले पत्र पठाएको थियो ।

सशस्त्र प्रहरी कानुन निर्देशनालयका डीआईजी युवराज अर्यालको संयोजकत्वमा छानबिन समिति बनेको थियो । उक्त समितिले गुरुङलाई दोषी देखाएपछि प्रहरीलाई पत्राचार गरी कारबाही गर्न भनेको हो । उनीहरूमाथि ठगी तथा आपराधिक लाभमा अनुसन्धान हुने बताइएको छ ।

रकम घोटाला भएपछि स्कुलको बजेट नै रोकेर छानबिन

यसअघिका वर्षहरूमा सशस्त्र प्रहरीको यो स्कुल कल्याण महाशाखा मातहत नभई आफैं सञ्चालनमा थियो । यसको आम्दानी र खर्च पनि स्कुल आफैंले बेहोर्दै आएको थियो ।

तर, राजु अर्याल आईजीपी भएपछि स्कुललाई पनि कल्याण महाशाखा मातहत राख्ने निर्णय गरेका थिए । त्यसपछि स्कुलको सम्पूर्ण खर्च तथा आम्दानी कल्याण महाशाखाबाटै हुने गरेको थियो ।

अघिल्ला आर्थिक वर्षहरूमा कल्याण महाशाखा मातहत नरही सञ्चालन भएको यो स्कुलको हिसाबकिताब भने क्लियर थियो । कल्याण महाशाखा मातहत आएपछि यसको सबै अडिट गर्नेदेखि मनिटरिङ गर्ने काम पनि महाशाखाबाटै हुन थाल्यो ।

स्कुल सञ्चालनका लागि भन्दै कल्याण महाशाखाले प्रत्येक चार महिनाको फरकमा स्कुललाई अग्रिम रकम पनि उपलब्ध गराउँदै आएको थियो । हरेक आर्थिक वर्ष सकिएपछि यसको आय व्यय भने स्कुलले कल्याण महाशाखालाई बुझाउनु पर्ने हुन्छ ।

तर, यो पटक कल्याण महाशाखाले आर्थिक वर्ष नसकिँदै स्कुलको हिसाबकिताब माग गरेको थियो । पटकपटक हिसाबकिताबको ताकेता गर्दा पनि स्कुलले हिसाब देखाउन सकेन ।

कल्याण महाशाखाले आफ्नो अनुसन्धानको क्रममा मोटो रकम घोटाला भएको र उक्त रकम कल्याण महाशाखालाई उपलब्ध गराउन नसकेपछि स्कुलको बजेट नै रोकेको थियो ।

त्यसपछि स्कुलकी लेखापाल गुरुङले रकम जम्मा गरिदिने आश्वासन देखाउने तथा चेक डिपोजिट गरेको बैंक भौचरको स्पिलसमेत देखाउने गरेकी थिइन् । तर रकम भने जम्मा भएन ।

१० करोड बढी घोटाला

लेखापाल गुरुङले रकम जम्मा नगरेपछि सशस्त्र प्रहरीले उनको जिम्मेवारी खोस्दै हेडक्वार्टर तानेको थियो । अनि, कानुन निर्देशनालयका डीआईजी युवराज अर्यालको नेतृत्वमा छानबिन समिति गठन भयो ।

त्यसपछि यो प्रकरणमा कीर्तिपुर स्कुलका कमान्डेन्ट तथा एसपी रामजंग पाण्डेको पनि जिम्मेवारी खोसियो । उनलाई पनि हेडक्वार्टर तानेर छानबिन भयो ।

छानबिनका क्रममा आर्थिक वर्ष २०८२/८३ को मात्रै करिब १० करोड बढी रकम हिनामिना भएको पाइयो । त्यसपछि सशस्त्र हेडक्वार्टरले प्रहरीलाई पत्राचार गर्दै लेखापाललाई कारबाही गर्न भनेको थियो ।

प्रहरीको पत्रपछि लेखापाल गुरुङ र उनका नजिकका केटा साथी लिलाबहादुर लामा पक्राउ परेका हुन् ।

गुरुङले आफ्नो खातामा रकम जम्मा गर्ने गरेकोसमेत पाइएको छ । उनका साथी लिलाबहादुरले लाजिम्पाटबाट उक्त रकम निकाल्ने गरेको पाइएको छ । लिलाबहादुर ट्राभल्स एजेन्सी चलाएर बसेका व्यक्ति हुन् । उनको पृष्ठभूमि पनि आपराधिक देखिएको प्रहरी अधिकारीको भनाइ छ ।

२ वर्षमा सरुवा हुनुपर्ने लेखापाल गुरुङ ६ वर्षसम्म कसरी बसिन् ?

मापदण्डअनुसार प्रत्येक दुई वर्षमा लेखापालको सरुवा हुनुपर्छ । तर अहिले पक्राउ परेकी लेखापाल गुरुङ भने विगत ६ वर्षदेखि उक्त स्कुलमा लेखापालकै रूपमा कार्यरत थिइन् ।

उनी असईबाट सशस्त्र प्रहरीमा सेवा प्रवेश गरेकी हुन् । उनी सई हुँदा नै कीर्तिपुर स्कुलको लेखापाल बनेकी थिइन् । कतिसम्म भने, इन्स्पेक्टरमा बढुवा भएपछि उनको पदस्थापनसमेत सोही ठाउँ अर्थात् कीर्तिपुर स्कुलमै गरिएको थियो ।

यसले सरुवा गर्ने अधिकारीको भूमिकामाथि समेत प्रश्न उठाएको छ । ‘सामान्यता प्रत्येक दुई वर्षमा लेखापालको सरुवा हुन्छ । तर उहाँको हकमा ६ वर्षसम्म एउटै कार्यालयमा बसको देखिन्छ । यो लेखापालको सरुवा मापदण्डविपरीत हो,’ सशस्त्र प्रहरीकै एक अधिकारी भन्छन् ।

उच्च अधिकारी पनि शंकाको घेरामा

सशस्त्र प्रहरीको कीर्तिपुर स्कुलमा पहिला डीएसपी कमान्डेन्ट हुने चलन थियो । पहिलो पटक एसएसपी भुपेन्द्र केसीलाई कमान्डेन्ट बनाएर पठाइयो । अहिले भने एसपीले कमान्डेन्ट भएर चलाउने गरेका छन् ।

पछिल्लो आर्थिक वर्षको रकम हिनामिना भएका बेला एसएसपी दिग्विजय सुवेदी र त्यसपछि एसपी रामजंग पाण्डेले कमान्डेन्ट भएर चलाएका थिए ।

छानबिन सुरु गरेपछि एसपी पाण्डेलाई समेत हेडक्वार्टर तानेर उनको ठाउँमा लेखनाथ खनाललाई पठाइएको छ । कमान्डेन्टका हिसाबले उनीहरू पनि शंकाको घेरामा परेका छन् ।

‘यति ठूलो रकम हिनाहिना हुनुमा इन्स्पेक्टर एक्लैको भूमिकाले सम्भव भयो त ? भन्ने आशंका उब्जिनु स्वाभाविक हो । यसको अनुसन्धान माथिसम्मै हुनुपर्छ,’ सशस्त्र प्रहरी स्रोत भन्छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?