+
+
Shares

ट्याक्सी-टेम्पोदेखि बससम्म सीसीटीभी अनिवार्य, अहिलेसम्म १६० बसमा जडान

पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार यसमध्ये सबैभन्दा धेरै साझा यातायातका बसमा जडान गरिएको छ । साझाका १११ वटा बसमा सीसीटीभी क्यामरा जडान भइसकेको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८३ असार २१ गते १९:५५

२१ असार, काठमाडौं । नयाँ सरकारले काम थालेयता १६० सार्वजनिक बसमा सीसीटीभी तथा ड्यासक्याम जडान भएको पाइएको छ ।

पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार यसमध्ये सबैभन्दा धेरै साझा यातायातका बसमा जडान गरिएको छ । साझाका १११ वटा बसमा सीसीटीभी क्यामरा जडान भइसकेको छ ।

जसमा ७१ वटा डिजेल र ४० वटा विद्युतीय बस रहेको मन्त्रालयले जानकारी दिएको छ । महानगर यातायातका ४६ वटा बसमा यस्तो क्यामरा राखिएको छ । यी बसमध्ये २५ वटा बस उपत्यका भित्र र २१ वटा उपत्यका बाहिर चल्ने गर्छन् ।

मन्त्रालयका अनुसार पाँचपोखरी सुनौलो यातायातका तीन वटा बसमा समेत सीसीटीभी तथा ड्यासक्याम जडान गरिएको छ । अहिलेसम्म १६० सार्वजनिक सवारीमा यस्तो क्यामरा जडान भएको र अन्यमा जडान हुने क्रममा रहेको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका अनुसार यस्तो कामको अनुगमन ट्राफिक प्रहरीले गरिरहेको छ । सोही प्रयोजनका लागि मन्त्रालयले सार्वजनिक सवारी साधनलाई सुरक्षित, मर्यादित र प्रविधियुक्त तथा पहुँचयोग्य बनाउने सम्बन्धी मापदण्ड स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।

मापदण्ड अनुसार अब ट्याक्सी, टेम्पोदेखि ठूला बस सबैले अनिवार्य सीसीटीभी क्यामरा जडान गर्नुपर्नेछ । १३ चैत २०८२ मा मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीमा सरकारले यस्तो घोषणा गरेको थियो ।

मापदण्डअनुसार सार्वजनिक सवारी साधनलाई सुरक्षा उपकरण तथा प्रविधिले सू–सज्जित बनाउने लक्ष्य राखिएको छ । यस्ता उपकरण राखिसकेपछि सवारी साधनमा क्यामरा भएको जानकारी नेपाली र अंग्रेजी भाषामा देखिने गरी राख्नुपर्छ । आपतकालीन सूचना बटम (एसओएस) भएको सवारी साधनभित्र यात्रुले सजिलै देखिने गरी राख्नु पर्ने छ ।

विद्युतीय स्थान निर्धारण जडान गर्नुपर्ने

अब यात्रुबाहक, पर्यटक र मालबाहक सवारीले तोकिएको मापदण्ड पूरा गरी विद्युतीय स्थान निर्धारण उपकरण जडान गर्नुपर्छ । सो उपकरणले भौगोलिक स्थिति, गति, दिशा तथा ग्लोबल नेभिगेसन स्याटालाइट सिस्टममार्फत निरन्तर निर्धारण, अभिलेख तथा प्रेषण गरिराख्न सक्ने हुनुपर्ने गरी मापदण्ड तोकिएको छ ।

यस्तो प्रविधिमा ब्याट्री ब्याकअप, ट्याम्पर लगिङ तथा स्टोर एण्ड फरवार्डको क्षमता हुनुपर्ने गरी तोकिएको छ । मापदण्ड अनुसार उपकरण सवारी धनी वा यातायात व्यवस्था विभागमा सूचीकृत सेवा प्रदायकबाट राख्नुपर्छ ।

उपकरण जडान गरेपछि सवारी नम्बर, उपकरणको प्रकार, अन्तर्राष्ट्रिय मोबाइल पहिचान नम्बर, जडानकर्ताको पहिचान, जडान मिति तथा विभागले तोकेका अन्य विवरणसहितको जडान प्रमाणपत्र जारी गर्नुपर्ने समेत मापदण्डमा उल्लेख छ । जडान भएको उपकरणलाई सवारी धनी, व्यवस्थापक, चालकलगायतले बिगार्न, निष्कृय पार्न वा तथ्यांक प्रेषणमा अवरोध गर्न नपाइने गरी तोकिएको छ ।

यस्तो उपकरण नराखे सवारी साधन जाँचपासमा अनुत्तीर्ण हुनेछ । जाँचपास नभएको सवारी साधनले बाटो इजाजत नपाउने प्रावधान छ ।

कुन सार्वजनिक सवारीमा कस्ता उपकरण अनिवार्य ?

मापदण्ड अनुसार सफा टेम्पो र ट्याक्सीमा अगाडिको ड्यासक्याम तथा केबिन क्यामरासहितको सुरक्षा निगरानी प्रणाली जडान गर्नुपर्नेछ । चालकको पहुँचभित्र एक र यात्रु केबिनको मध्यभागमा एक आपतकालीन एसओएस बटन राख्नुपर्नेछ ।

पर्यटक सवारी, बस, माइक्रोबस र मिनीबस, जीप/भ्यान, पिकअपजस्ता सार्वजनिक सवारीमा अगाडिको ड्यासक्याम र पछाडिको ड्यासक्यापसहितको सुरक्षा निगरानी क्यामरा प्रणाली राख्नुपर्नेछ ।

चालकको ध्यान, निद्रा, ध्यान विचलन वा असावधानीजन्य गतिविधि पहिचान गरी सतर्क गराउन चालक अनुगमन प्रणाली समेत यस्ता सवारीमा राख्नुपर्ने गरी मापदण्ड बनाइएको छ ।

यस्ता सवारीमा समेत चालक र यात्रुको पहुँचमा रहनेगरी आपतकालीन सूचना एसओएस बटन राख्नुपर्नेछ । यस्ता सवारीमा राख्नुपर्ने क्यामरा संख्या भने मापदण्डले तोकिदिएको छ ।

मालबाहक सवारीको हकमा सवारीमा जडित उपकरणको तथ्यांक संकलन, एकीकरण तथा प्रेषण गर्ने हेड यूनिट, सवारी साधन अगाडिको ड्यासक्याम, सवारी साधन रिभर्स गर्दा चालकलाई सहयोग गर्ने रिभर्स असिस्ट क्यामरा राख्नुपर्नेछ । यसबाहेक चालक अनुगमन प्रणाली, सवारी साधनको प्रत्येक एक्सलमा पर्ने भार मापन तथा अभिलेख गर्ने एक्सल भार मापक उपकरण समेत राख्नुपर्नेछ ।

अग्नि नियन्त्रक र प्राथमिक उपचार किट अनिवार्य

अब सवारी साधनहरूमा अनिवार्य अग्नि नियन्त्रक उपकरण तथा प्राथमिक उपचार किट राख्नुपर्नेछ । सफा टेम्पो र ट्याक्सीमा भने यस्ता उपकरण अनिवार्य गरिएको छैन । यस्ता उपकरण र सामग्रीको संख्या भने सवारीको वर्ग र सिट क्षमता अनुसार फरक फरक तोकिएको छ ।

यस्ता सामग्री सवारी साधनभित्र यात्रु र चालकले सजिलै देख्न र भेट्न सक्ने स्थानमा राख्नुपर्छ । यस्ता सामग्रीको प्रयोग सम्बन्धी न्यूनतम तालिम र जानकारी चालक र परिचालकलाई गराउनु पर्ने समेत मापदण्डमा लेखिएको छ ।

यस्तो अवस्थामा हुनेछ छुट

यातायात व्यवस्था विभागले कुनै वर्ग वा किसिमका सवारी साधनमा मापदण्ड अनुसारको उपकरण जडानमा छुट दिन सक्ने प्रावधान समेत राखिएको छ । विद्युतीय वा वातावरणमैत्री सवारी, सफा टेम्पोलगायत सवारी साधनलाई प्रोत्साहन गर्नुपर्ने भएमा यस्तो छुट दिन सकिने भएको छ ।

साना सवारी धनी तथा व्यवस्थापकलाई संक्रमणकालीन सहजीकरण गर्नुपर्ने भएमा वा कुनै वर्गको सवारीमा प्रविधि जडान गर्न नमिल्ने भएमा समेत विभागले छुट दिन सक्ने गरी मापदण्डले व्यवस्था गरेको छ ।

उपकरण नराखे रुट इजाजत रद्दसम्म हुने

मापदण्ड अनुसार यस्तो उपकरण नराखे सवारी साधन जाँचपासमा अनुत्तीर्ण हुनेछ । निर्धारित उपकरण जडान गरी जाँचपास नगरेसम्म त्यस्तो सवारी साधनलाई जाँचपासको प्रमाणपत्र दिइने छैन । जाँचपास नभएको सवारी साधनले बाटो इजाजत नपाउने प्रावधान छ ।

सोहीकारण उपकरण जडान भएको सवारीले रुट इजाजत नपाउने अवस्था आउनेछ । यसअघि नै रुट इजाजत लिइसकेका सवारीको हकमा इजाजत रद्द गर्न सक्नेसम्मको प्रावधान मापदण्डमा राखिएको छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?