२२ असार, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज (सोमबार) १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
इतर समूहले निवर्तमान सभापति शेरबहादुर देउवाको प्यानलबाट गत महाधिवेशनमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएको हो ।
बैठक काठमाडौंको चुनदेवीमा खोलिएको सम्पर्क कार्यालयमा दिउँसो १ बजे बोलाइएको निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार बैठकमा काठमाडौंमा उपलब्ध खड्काले नेतृत्व गरेको समूहमा रहेका पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यहरूलाई बोलाइएको छ ।
गत शुक्रबार निवर्तमान कार्यबाहक सभापति खड्काको गल्फुटारस्थित निवासमा बसेको शीर्ष नेताहरूको छलफलमा बैठक बोलाउने निर्णय भएको थियो ।
बैठकपछि नेता मीन विश्वकर्माले सोमबार चुनदवीमा सम्पर्क कार्यालय सञ्चालनमा आउने र बैठक पनि बस्ने जानकारी दिएका थिए ।
‘चुनदेवीमा सम्पर्क कार्यालय स्थापना हुन्छ । १५ औं महाधिवेशनका सम्पूर्ण तयारीहरू, छलफलहरू, बैठकहरू त्यहीँबाट हुन्छन्, उनको भनाइ थियो, ‘सम्पर्क, सम्बन्ध र संगठन बिस्तारका काम पनि सम्पर्क कार्यालयबाटै हुन्छन् ।’
नेता विश्वकर्माले सातै प्रदेशमा भेलाहरू सम्पन्न भइसकेका र अब राष्ट्रिय भेलाको तयारी गरिएको पनि बताएका थिए । बैठकबाट राष्ट्रिय भेलाको मिति तोकिने उनको भनाइ थियो ।
‘गत निर्वाचनमा कांग्रेसको अकल्पनीय पराजय बेहोर्यौं । ती भेलाबाट त्यसको समीक्षा र पार्टीभित्रको एकतामा नै छलफल भयो,’ विश्वकर्माले भनेका थिए, ‘ती भेलाको निष्कर्षबाट अब हामी राष्ट्रिय भेला गर्दैछौं । असार २२ गते अथवा सोमबार बस्ने बैठकले राष्ट्रिय भेलाको मिति तय गर्नेछ ।’
प्रतिक्रिया 4