+
+
Shares

बीपी प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीको सम्पत्ति छानबिन गरिने

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न समिति गठन गरिने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते १३:२४

२२ असार, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न समिति गठन गरिने भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र गृहमन्त्री सुदन गुरुङले प्रतिष्ठानको आइतबार संयुक्त अनुगमनपछि यस्तो निर्णय गर्दै सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका हुन् ।

प्रतिष्ठानमा स्वास्थ्य सेवा, प्रशासनिक सुशासन र संस्थागत सुधारलाई प्रभावकारी बनाउने उद्देश्यले उच्च तहका पुराना कर्मचारीहरूको सम्पत्ति छानबिनका लागि समिति गठन गरिने मन्त्री मेहताले जानकारी दिइन् ।

साथै, संस्थागत सुधारका लागि छुट्टै रिफर्म कमिटी गठन गरी सुधारका कार्यक्रमलाई तीव्र रूपमा कार्यान्वयन गरिने निर्णय गरिएको छ ।

संयुक्त अनुगमनका क्रममा प्रतिष्ठानको स्वास्थ्य सेवा प्रवाह, शैक्षिक वातावरण, पूर्वाधार विकास, प्रशासनिक सुशासन तथा सार्वजनिक सम्पत्तिको संरक्षणका विषयमा विस्तृत समिक्षा गरिएको थियो ।

विगत १३ वर्षदेखि खरिद हुन नसकेको एमआरआई मेसिनका लागि मन्त्रालयबाट २५ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको र खरिद प्रक्रिया अघि बढेको मन्त्री महतोले बताइन् ।

लामो समयदेखि विवादमा रहेको मातृ तथा शिशु स्वास्थ्य (एमसीएच) भवन सञ्चालनमा आइसकेको उल्लेख गर्दै प्रतिष्ठानको समग्र सुधारलाई सरकारले उच्च प्राथमिकतामा राखेको मन्त्री मेहताको भनाइ थियो ।

यस्तै, विद्यार्थीका लागि आधुनिक स्किल ल्याब र व्यवस्थित पुस्तकालय विकास गर्ने, अस्पताल परिसरभित्र रहेको निर्भाना कन्ट्री क्लबलाई प्रतिष्ठानकै स्वामित्वमा फिर्ता ल्याउने प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

मन्त्री मेहता र गृहमन्त्री गुरुङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पारदर्शी, उत्तरदायी र गुणस्तरीय स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षाको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उनीहरूले प्रतिष्ठानमा सुशासन, पारदर्शिता र संस्थागत सुधारलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?