+
+
Shares

धेरै समय बसिरहने वा सुतिरहने बानीले क्यान्सरको जोखिम बढाउने निष्कर्ष

दैनिक रूपमा धेरै समय बसिरहने वा सुतिरहने निष्क्रिय जीवनशैलीले क्यान्सर र क्यान्सरका कारण हुने मृत्युको जोखिम बढाउन सक्ने एक नयाँ अध्ययनले देखाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते १७:१४

२२ असार, काठमाडौं । दैनिक रूपमा धेरै समय बसिरहने वा सुतिरहने निष्क्रिय जीवनशैलीले क्यान्सर र क्यान्सरका कारण हुने मृत्युको जोखिम बढाउन सक्ने एक नयाँ अध्ययनले देखाएको छ।

ब्युँझिएको अवस्थामा दिनको धेरै घण्टा बसिरहनु, ढल्किनु वा सुतिरहनु जस्ता निष्क्रिय बानीहरू लामो समयदेखि मोटोपन, टाइप-२ मधुमेह, केही प्रकारका क्यान्सर र अल्पायुमै हुने मृत्यु जस्ता स्वास्थ्य समस्याहरूसँग जोडिँदै आएका छन्।

तर, निष्क्रिय जीवनशैलीसम्बन्धी अधिकांश दिशानिर्देशहरूले कुल कति समय स्थिर बसियो भन्ने कुरामा मात्र ध्यान केन्द्रित गर्छन्; त्यो समय साना-साना अन्तरालमा बाँडिएको छ कि लगातार लामो समयसम्मको हो भन्ने कुरालाई खासै समेट्दैनन्।

ग्लास्गो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले ‘प्लोस मेडिसिन’ जर्नलमा प्रकाशित आफ्नो अध्ययनमा लेखेका छन्, “निष्क्रिय जीवनशैलीको स्वास्थ्यमा पर्ने असर कुल निष्क्रिय समयमा मात्र नभई, त्यो समय लगातार लामो अवधिको हो वा बीच-बीचमा गरिने गतिविधिले गर्दा टुक्रिएको छ भन्ने कुरामा पनि निर्भर गर्दछ। प्रयोगात्मक अध्ययनहरूले देखाएका छन् कि लगातार बसिरहनुको साटो बीच-बीचमा छोटो समयका लागि यताउता चल्मलाउनाले वा शारीरिक गतिविधि गर्दा शरीरको मेटाबोलिक प्रक्रियामा सुधार आउँछ।”

यस अनुसन्धानका लागि शोधकर्ताहरूले ‘यूके बायोबैंक’ का ९१,२९२ जना सहभागीहरूको तथ्याङ्क विश्लेषण गरेका थिए, जसले सात दिनसम्म आफ्नो शरीरको गतिविधि मापन गर्ने यन्त्र (एक्टिभिटी मनिटर) लगाएका थिए र उनीहरूलाई करिब १२ वर्षसम्म निगरानीमा राखिएको थालियो।

सहभागीहरूको गतिविधिलाई मुख्यतया तीन भागमा वर्गीकरण गरिएको थियो:

‘लगातार निष्क्रिय’ (प्रोलङ्ग्ड सेडेन्टरी ): जहाँ ३० मिनेटको अवधिमा व्यक्ति ९० प्रतिशत समय स्थिर वा निष्क्रिय रहन्छ।

‘टुक्रिएको निष्क्रिय बानी’ (इन्टरप्टेड सेडेन्टरी बिहेभियर ): जहाँ ३० मिनेटको अवधिमा १० प्रतिशतभन्दा बढी समय केही न केही हलचल वा शारीरिक गतिविधि गरिन्छ।

‘विभिन्न स्तरका शारीरिक गतिविधिहरू’

अध्ययनका अनुसार लगातार लामो समयसम्म निष्क्रिय बस्ने बानी भएका मानिसहरूमा क्यान्सरबाट हुने मृत्युको जोखिम ९ प्रतिशत बढी पाइएको छ। यसका साथै उनीहरूमा समग्र क्यान्सरको जोखिम, मोटोपनसँग सम्बन्धित क्यान्सर (जस्तै: अन्ननली, कलेजो, मिर्गौला, प्यान्क्रियाज, कोलोरेक्टल, स्तन, डिम्बाशय र थाइराइड क्यान्सर) र टाइप-२ मधुमेहसँग सम्बन्धित क्यान्सरको खतरा पनि उच्च देखिएको छ।

यसको विपरीत, बसिरहने वा सुतिरहने समयको बीच-बीचमा छोटो समयका लागि भए पनि हलचल वा हिँडडुल गर्ने मानिसहरूमा क्यान्सर र टाइप-२ मधुमेहको जोखिम कम पाइएको छ। दिनभरको लगातार बस्ने समयमध्ये मात्र एक घण्टाको समयलाई घटाएर त्यसको सट्टा सामान्य हिँडडुल जस्ता हल्का शारीरिक गतिविधि गर्दा मात्रै पनि क्यान्सरबाट हुने मृत्युको जोखिम १२ प्रतिशतले कम भएको देखिएको छ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार वयस्कहरू स्वस्थ रहनका लागि दैनिक रूपमा केही न केही शारीरिक गतिविधि गर्नुका साथै हप्तामा दुई पटक व्यायाम गर्नु आवश्यक छ। यसमा ‘स्ट्रेन्थ ट्रेनिङ’, दौडिने, हिँड्ने, पौडी खेल्ने वा बगैँचामा काम गर्ने जस्ता गतिविधिहरू पर्न सक्छन्। एनएचएसले मानिसहरूलाई बसिरहने वा सुतिरहने समय कम गर्न र लामो समयसम्म स्थिर नबसी बीच-बीचमा केही न केही गतिविधि गर्न सुझाव दिएको छ।

“अहिलेका स्वास्थ्य दिशानिर्देशहरूले मध्यम वा कडा व्यायाममा बढी जोड दिन्छन्, तर हाम्रो निष्कर्षले हल्का हलचल वा हिँडडुललाई पनि बेवास्ता गर्न मिल्दैन भन्ने देखाउँछ,” अनुसन्धानकर्ताहरूले निष्कर्ष निकाल्दै भनेका छन्, “आगामी दिनमा हुने क्लिनिकल परीक्षणहरूले हामीलाई परम्परागत र सतही सल्लाहहरूभन्दा माथि उठेर, बसिरहने समयलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे व्यक्तिगत आवश्यकता अनुसारका रणनीतिहरू विकास गर्न मद्दत गर्नेछन्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?