२२ असार, काठमाडौं । आफूमाथि दुर्व्यवहार गर्नेको भिडियो सार्वजनिक गर्ने महिलालाई गृहमन्त्री सुधन गुरुङले साहसी महिला भन्दै सम्मान दर्शाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले दुर्व्यवहारसम्बन्धी भिडियोप्रति गृहमन्त्रालयको ध्यानाकर्षण भएको र उक्त व्यक्तिलाई पक्राउ गरिसकिएको जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्। ललितपुर जिल्ला प्रहरी परिसर मातहतको प्रहरी वृत्त सातदोबाटोको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
उनले ललितपुरकी ऋतु खनालमाथि दुर्व्यवहार गरेका थिए ।
‘ऋतु खनालज्यूले सार्वजनिक गर्नुभएको आफूमाथि भएको दुर्व्यवहार सम्बन्धी भिडियोप्रति गृह मन्त्रालयको ध्यानाकर्षण भएको छ र उक्त व्यक्तिलाई पक्राउ समेत गरिसकेको जानकारी गराउछु । ऋृतु जीको साहसप्रती हाम्रो सम्मान छ,’ गृहमन्त्रीले भने, ‘कुनै पनि महिला वा छोरीचेलीमाथि हुने यौन दुर्व्यवहार वा उत्पीडन सभ्य समाजका लागि कदापि स्वीकार्य छैन। पीडितले आफ्नो पीडा पुष्टि गर्न भिडियो सार्वजनिक गर्नुपर्ने अवस्था आउनु पनि आफैँमा चिन्ताको विषय हो।’
मन्त्री गुरुङले घटनाप्रति भर्त्सना गर्दै यौन हिंसाको पीडितहरूलाई आवाज उठाउन आग्रह गरेका छन् । यस्तो घटना कतै घटेमा नजिकको प्रहरी कार्यालयमा उजुरी दिन पनि भनेका छन् ।
प्रतिक्रिया 4