+
+
Shares

कांग्रेस विवाद : वैकल्पिक बाटो खोज्दै असन्तुष्ट समूह

गगन थापा नेतृत्वको संस्थापनलाई गलाउने रणनीतिअन्तर्गत भएका समानान्तर गतिविधि पनि कामलाग्दो नभएपछि इतर समूहले अब कार्यालय खोलेरै गतिविधि गर्न थालेको हो । यसले कांग्रेस भित्रको आन्तरिक झगडा विभाजनको दिशातर्फ मोडिँदै गएको छ

केशव सावद केशव सावद
२०८३ असार २२ गते २१:५७

२२ असार, काठमाडौं । नेपाली कांग्रेसभित्र झण्डै ६ महिनादेखि जारी विवाद समाधानको प्रयास निष्कर्षमा पुग्न नसकेपछि संस्थापन इतर समूहले अब कार्यालय नै खोलेर छुट्टै गतिविधि गर्न थालेको छ ।

गगन थापा नेतृत्वको संस्थापनलाई गलाउने रणनीति अन्तर्गत भएका समानान्तर गतिविधि पनि कामलाग्दो नभएपछि इतर समूहले अब कार्यालय खोलेरै गतिविधि गर्न थालेको हो । यसले कांग्रेस भित्रको आन्तरिक झगडा विभाजनको दिशातर्फ मोडिँदै गएको छ ।

संस्थापन पक्षले १५ औं महाधिवेशनका लागि धमाधम काम गरिरहेका बेला यता इतर समूहले पनि छुट्टै कार्यालय खोले महाधिवेशनकै समानान्तर गतिविधिमा केन्द्रित भएको छ ।

सोमबार इतर समूहका नेता पूर्णबहादुर खड्का र शशांक कोइरालाले काठमाडौंको चुनदेवीमा खोलिएको कार्यालय उद्घाटन गरे ।

इतर समूह निर्वाचन आयोग र सर्वोच्च अदालतबाट मान्यता प्राप्त गरेको विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले पार्टी एकताका लागि प्रभावकारी पहल गर्न नसकेको निष्कर्षमा पुगेको छ ।

चुनदेवीमा खोलिएको कार्यालयमा बसेकाे बैठक

इतर समूहले अहिले पनि पार्टी एकतालाई पहिलो प्राथमिकतामा राखेको दाबी गरेपनि निरन्तर प्रयास असफल भए कांग्रेसका लागि ‘वैकल्पिक बाटो’बारे छलफल भइरहेको सार्वजनिक रूपमा स्वीकार गरेको छ ।

कांग्रेसभित्रको विवाद समाधानको प्रयास निर्णायक मोडमा पुगेको संकेतका रूपमा हेरिरहेको छ । १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिमा प्रचार विभाग प्रमुख रहिसकेका नेता मीन विश्वकर्माले पार्टी एकताको प्रयास सफल नभए विकल्पबारे छलफल भइरहेको बताए ।

मुलुकको राजनीतिक परिस्थिति र लोकतान्त्रिक शक्तिको आवश्यकतालाई मध्यनजर गर्दै कांग्रेसलाई एकीकृत बनाएर १५ औं महाधिवेशनतर्फ लैजानुपर्ने आवश्यकता रहेको नेता विश्वकर्माको भनाइ थियो ।

विश्वकर्माका अनुसार बैठकमा पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको विवाददेखि अहिलेसम्मका राजनीतिक घटनाक्रम, शीर्ष नेताबीच भएका संवाद तथा पार्टी एकता जोगाउने प्रयासबारे जानकारी गराएका थिए ।

खड्काले पार्टी विभाजन हुन नदिन शीर्ष नेताहरूले निरन्तर प्रयास गरेपनि झण्डै महिना दिन पुग्नै लाग्दा पनि ठोस परिणाम ननिस्किएको निष्कर्ष बैठकमा प्रस्तुत गरेका थिए ।

‘विषय वस्तुमा प्रवेश गर्ने सिलसिलामा पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस विशेष महाधिवेशन र नियमित महाविधेशनको विवाददेखि आजसम्म कसरी आइपुग्यो र यो बीचमा के–के गतिविधि भए भनेर स्पष्ट पार्नुभएको छ,’ नेता विश्वकर्माले भने ।

चुनदेवीमा खोलिएको कार्यालयमा पूर्णबहादुर खड्का

इतर समूहको बुझाइमा मुलुकको राजनीतिक परिस्थिति र लोकतान्त्रिक शक्तिको आवश्यकतालाई मध्यनजर गर्दै कांग्रेसलाई एकीकृत बनाएर १५ औं महाधिवेशनतर्फ लैजानुपर्ने आवश्यकता छ । तर, आयोग र अदालतबाट मान्यता प्राप्त नेतृत्वले एकताका लागि प्रभावकारी पहल गर्न नसकेको इतर समूहका नेताहरूले आरोप लगाउँदै आएका छन् ।

यही अवस्थालाई ध्यानमा राखेर सम्पर्क कार्यालय स्थापना गरेको इतर समूहको दाबी छ । ‘आयोग र अदालतबाट दिइएको मान्यताअनुसार अधिकार प्राप्त नेताहरूबाट पार्टी एकताका लागि सार्थक प्रयास हुन सकेको छैन,’ विश्वकर्माले भने, ‘अब त्यसलाई सार्थक बनाउन, १५ औं महाधिवेशन सफल बनाउन र महाधिवेशनलाई पार्टीको एकताको महाधिवेशन बनाउनका लागि सम्पर्क कार्यालय खुलेको छ ।’

चुनदेवीस्थित कार्यालयबाट दैनिक गतिविधि सञ्चालन हुने र मंगलबार दिउँसो २ बजे पुनः बैठक बसेर थप रणनीतिक निर्णय गरिने नेता विश्वकर्माले जानकारी दिए । ‘सम्पर्क कार्यालयमा अब दिनानुदिन दैनिक कार्यहरू अगाडि बढ्ने छन् । भोलि (मंगलबार) २ बजे बैठकलाई निरन्तरता दिन्छौं,’ उनले भने, ‘भोलिको बैठकले केही निर्णयहरू गर्छ ।’

पार्टी एकताका लागि जारी प्रयास र आगामी कदमबारे छलफल गर्ने बैठकको एजेन्डा रहेको छ । जननायक बीपी कोइरालाको स्मृति दिवस मनाउने बारे पनि बैठकमा निर्णय गरिने बताइएको छ ।

‘एकताको प्रयास कहाँसम्म पुगेको छ र अब एकताका बारेमा हामी के गर्ने ? पहिलो प्रस्ताव यही हुन्छ,’ नेता विश्वकर्माले भने, ‘दोस्रो कुरा साउन ६ गते बीपी स्मृति दिवस छ । यो सम्पर्क कार्यालयबाट गरिने कार्यहरू मध्येमा ऐतिहासिक रूपमा बीपी स्मृति दिवस काठमाडौंमा मनाउने छौं । त्यसको मिति कन्फर्म छ । स्थान र कार्यतालिका भोलिको बैठकले तय गर्ने छ ।’

इतर समूहले बैठकबाट १५ औं महाधिवेशनको कार्यतालिका ल्याउनेसमेत तयारी गरेको छ । ‘१५ औं महाधिवेशनको कार्यतालिका र महाधिवेशनमा यो सम्पर्क कार्यालयबाट हुने गतिविधिहरू कसरी अगाडि बढ्छन् भन्ने बारेमा पनि भोलि निष्कर्ष निकालिने छ । निर्णय गरिने छ,’ नेता विश्वकर्माले भने ।

इतर समूहले १४ औं महाधिवेशनबाट निर्वाचित उपत्यकमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जिल्ला सभापतिहरूलाई बैठकमा बोलाएको छ । कांग्रेसमा छुट्टै विचार समूहको नेतृत्व गर्दै आएका डा. शेखर कोइराला र उनीनिकट नेताहरू भने उपस्थित थिएनन् ।

तर, बैठकको सुरुवातमा पार्टीको पछिल्लो अवस्थाबारे जानकारी दिने क्रममा नेता खड्काले भने नेता कोइराला र आफूहरू एकसाथ रहेको ‘ब्रिफिङ’ गरेका छन् । ‘हामी अहिले शेखर कोइरालाजीसहित १११ जना छौं,’ खड्काको भनाइ थियो, ‘१११ जनालाई केन्द्रीय कार्यसमितिमा समायोजनको प्रस्ताव गरेका हौं ।’

उनले संस्थापनले पार्टी एकताका लागि गरेको सातबुँदे प्रस्तावको जवाफ आफूले उपसभापति विश्वप्रकाश शर्मालाई दिइसकेको पनि बताए । गल्फुटारस्थित निवासमा भेट्न आएका शर्माले जवाफ लिखित रूपमा दिन आग्रह गरे पनि आफूले ‘जसरी हामीलाई व्हाट्सएपमा पठाउनुभएको थियो, त्यसैगरी टाइप गर्नुस्’ भनेको र त्यसपछि उनले टाइप गरेको खड्काले सुनाए ।

आफूले मौखिक रूपमा दिएको जवाफ उपसभापति शर्माले मोबाइलमा टाइप गरेको उनको भनाइ थियो । ‘टाइप गरिसकेपछि यही नै अन्तिम हो दाइ भन्नुभयो । मैले पनि हो भनेँ,’ खड्काले बैठकमा भने ।

खड्काका अनुसार त्यसपछि शर्माले सभापति गगन थापालाई सबै कुरा सुनाउने र इतर समूहका नेताहरूसँग प्रत्यक्ष छलफल गर्न आग्रह गर्ने बताएका थिए । उनले बैठकमा घरको गेटबाट बाहिरिने क्रममा उपसभापति शर्माले आफूलाई वरिष्ठ नेताको प्रस्ताव गरेको पनि जानकारी दिए ।

‘गेटबाट बाहिरने क्रममा विश्वप्रकाश शर्माले हाम्रो एउटा सहमति भइसकेको छ, तपाईं र शेखर दाइलाई वरिष्ठ नेता बनाउने भन्नुभयो । तर, मैले प्रस्ताव अस्वीकार गरेँ,’ उनले बैठकमा सुनाए ।

खड्काले बैठक बोलाउनुको कारण, बैठक चल्ने सम्भावित समयबारे जानकारी दिँदै सोमबारको बैठक समापन भएको घोषणा गरेका थिए । ‘यिनै कुराबारे छलफल गर्न बैठक बोलाएको हुँ । भोलिबाट छलफल हुन्छ । बढीमा २–३ दिन जान्छ,’ उनले भने, ‘साउन ६ बीपी जयन्ती विशेष कार्यक्रम गरेर मनाउँछौं । आजको हाम्रो बैठक सकियो ।’

सोमबारको बैठकपछि खड्काले सम्पर्क कार्यालयको मुख्यद्वारको ताला खोलेर औपचारिक रूपमा उद्घाटन गरेका थिए । कार्यालयको उद्घाटनपछि इतर समूहले उपस्थित नेता–कार्यकर्तालाई लड्डु बाँडेको थियो ।

इतर समूहले बाँडेको लड्डु

कांग्रेसको संस्थापन इतर समूह सर्वोच्च अदालतको फैसलाविरूद्ध पुनरावेदन जाने भएको छ । कानुनी र राजनीतिक लडाइँ एकसाथ अगाडि बढाउने उद्देश्यका साथ इतर समूह अदालतको फैसलाविरूद्ध पुनरावेदन जाने भएको हो ।

कांग्रेस नेता विश्वकर्माले सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ आइसकेपछि पुनरावेदन जाने विषयमा छलफल भइरहेको बताए । निर्वाचन आयोगले निवर्तमान संस्थापन पक्षमाथि बेइमानी गरेको र अदालतबाट अन्याय भएको उनको गुनासो थियो ।

‘आयोगले बेइमानी गर्‍यो, अदालतबाट अन्याय भयो । अदालतको फैसला स्वीकार्छौं तर, प्रक्रियालाई हामी छोड्दैनौं, नेता विश्वकर्माले अनलाइनखबरसँग भने, फैसलाको पूर्णपाठ आएपछि पुनरावलोकनका लागि अगाडि बढ्ने विषयमा छलफल भइरहेको छ ।’

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?