+
+
Shares
कांग्रेस विवाद :

संस्थापन इतर बैठकमा बलायरको प्रश्न- अद्यावधिक बाहेक नो भनिसके, के भनेर रोक्ने ?

‘अब बाटो लियौं, गति लिन्छौं । रुख अस्ति हेरेकै हो, के भयो ? अब पनि रुख भनेर माया मारेर बस्न जरुरी छैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते १५:४४

२३ असार, काठमाडौं । नेपाली कांग्रेसको इतर समूह बैठकमा सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले शीर्ष नेतालाई ‘खुट्टा टेक्न’ आग्रह गरेका छन् । इतर समूहले चुनदेवीमा खोलेको सम्पर्क कार्यालयमा मंगलबार बसिरहेको बैठकमा प्रदेश सभापति बलायरले केन्द्रीय सभापति गगन थापाले ‘अद्यावधिकबाहेक नो भनिसकेपछि’ आफ्नो पक्ष अगाडि बढ्नुपर्ने बताएका हुन् ।

केहीदिनघि झापाको एक कार्यक्रममा सभापति थापाले सदस्यता अद्यावधिक नगरेका नेतालाई पार्टीको सदस्यका रूपमा नचिन्ने प्रतिक्रिया दिएका थिए । त्यसलैलाई इंगित गर्दै प्रदेश सभापति बलायरले भने, ‘अद्यावधिक बाहेक नो भनिसकेपछि के भनेर रोक्ने ?’

उनले पार्टी संस्थापन पक्षलाई पनि आफ्नो पक्षले चुप रहेर मौका दिएकोलाई कमजोरी नठान्न चेतावनी दिए । उनले भने, ‘हामी थन्किएका छौँ, चुप छौँ । व्यवहारमुखी छौँ । मौका दिएका छौँ । यसलाई कमजोरी नठानियोस् ।’

कार्यकर्ताबाट पनि खुट्टा टेक्न फोन आइरहेको उनले दाबी गरे । ‘यहाँ लड्डु खाएपछि कम्तीमा खुट्टा टेक्नुभयो । बेइज्जतीपूर्ण अवस्थामा थियौं । अब पछि नहट्नुहोला भनेर फोन आइरहेका छन्,’ उनले भने, ‘अब बाटो लियौं, गति लिन्छौं । रुख अस्ति हेरेकै हो, के भयो ? अब पनि रुख भनेर माया मारेर बस्न जरुरी छैन ।’

नेताहरूलाई इतिहास इतिहास भनेर नझुक्न उनले आग्रह गरे । ‘इतिहासमा के हुने हो ? सन्यास लिनुस्, चन्दन लगाउनुस् । होइन भने हामीले सम्मान गरेकै छौँ, न झुक्नु होला,’ बलायरले भने ।

अब जे गर्ने हो गर्न अगाडि बढ्न उनले आफूपक्षीय शीर्ष नेतासँग आग्ह गरे । ‘अब जे गर्ने हो, गर्ने । हिजो पनि गरेका हौँ । तपार्इँहरूको स्वाभीमानमाथि चोट लगाइएको छ । तपाईँहरूको बेइज्जत गरिएको छ । त्यसले हाम्रो मन दुखेको छ,’ उनले भने, ‘त्यसकारण हामी तपाईँका पछि हौं । तपाईँको साथमा छौं ।’

आफू दु:ख गरेर जनतामा जान तयार रहेको पनि प्रदेश सभापति बलायरले बताए । उनले भने, ‘आटोढुँटो खाएर हिडौँला । कार्यक्रम दिनुस् । जनताको नजरमा हामी तल पर्नेछैनौं–पर्दैनौं ।’

अब सानेपा नसम्झेर सानेपाको अस्तित्व आफूसँग छ सम्झेर अघि बढ्न उनले नेताहरूसँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?