+
+
Shares

रास्वपा सांसदहरूलाई लगाम- संसद्‌मा बोल्नुअघि अनिवार्य जानकारी गराउनू

सचेतक प्रकाशचन्द्र परियार भन्छन् ‘सांसद्हरूको प्रस्तुति गुणस्तरीय र संसद्को प्रभावकारिता बढाउन समन्वय गर्ने कुरा गरिएको हो । विशेषाधिकार नियन्त्रण गर्न खोजिएको होइन ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते १८:११

२३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले बोल्नुअघि संसदीय दलका सचेतकहरूलाई आफ्नो विषयवस्तुबारे जानकारी गराउनुपर्ने भएको छ ।

संसदीय दलका सचेतकद्वय क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारले म्यासेज पठाउँदै सांसदहरूलाई संसद्मा बोल्नुभन्दा एक दिन अघि नै पठाउन भनेका हुन् ।

अनलाइनखबरलाई प्राप्त उक्त सन्देशमा शून्य समय तथा विशेष समयमा प्रस्तुत गर्ने सामग्री (स्पिच/नोट) अनिवार्य रुपमा पठाउन भनिएको छ ।

‘अबदेखि शून्य समय तथा विशेष समयमा प्रस्तुत गर्ने आफ्नो सामग्री (स्पिच/नोट) अनिवार्य रूपमा मलाई (क्रान्तिशिखा) तथा सचेतक प्रकाशचन्द्र परियारज्यूलाई एक दिन अगाडि नै पठाइदिनुहुन अनुरोध गर्दछु,’ रास्वपा सांसदहरूलाई पठाइएको म्यासेजमा भनिएको छ ।

सचेतक परियारले भने आफूहरूले सांसदहरूको विशेषाधिकार नियन्त्रण गर्न नखोजिएको जिकिर गरे ।

‘सांसद्हरूको प्रस्तुति गुणस्तरीय र संसद्को प्रभावकारिता बढाउन समन्वय गर्ने कुरा गरिएको हो,’ अनलाइनखबरसँगको कुराकानीका क्रममा उनले भने, ‘सांसदको विशेषाधिकार नियन्त्रण गर्न खोजिएको होइन ।’

यसअघि हिजोमात्रै संसद् बैठकमा केही सांसदहरूले सरकारमाथि प्रश्न उठाएका थिए । दोलखाबाट रास्वपा सांसद जगदीश खरेलले सरकार जवाफदेही नबनेको आरोप लगाएका थिए ।

सांसदहरूलाई सन्देश पठाउने सचेतक धितालले नै हिजोमात्रै पार्टीको वाचाअनुसार अघि बढ्न नसकेको भन्दै कार्यशैलीमाथि प्रश्न उठाएकी थिइन् ।

आजै रास्वपा सांसद ज्वाला संग्रौलाले पनि कुनै पनि पद र जिम्मेवारी वा अवसर पारिवारिक सम्बन्धका आधारमा तय हुन नहुने बताएकी थिइन् ।

अर्का सांसद रमेश प्रसाईंले कर्णालीमा भएको बस दुर्घटना र उद्धारमा भएको ढिलाइबारे गृहमन्त्रीको जवाफ माग्दै यस्ता घटना दोहोरिन नदिन सरकारले दीर्घकालीन योजना सार्वजनिक गर्नुपर्ने बताएका थिए ।

सांसद टेकबहादुर शाक्यले सीमावर्ती क्षेत्रमा सर्वसाधारणले दैनिक उपभोगका लागि ल्याएका सामानमा समेत भन्सार तिर्न बाध्य पारिएको भन्दै आपत्ति जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?