News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बेरुजु अध्ययन गर्न पाँच वटा उपसमिति गठन गरेको छ ।
- रास्वपाले पाँचवटै उपसमितिको नेतृत्व लिने अडान छाड्दै तीनवटा उपसमितिको नेतृत्व लिएको छ ।
- एमाले र राप्रपाले बाँकी दुई उपसमितिको नेतृत्व पाएका छन् र समितिहरूले आ-आफ्नो कार्यक्षेत्र तोकेका छन् ।
२६ असार, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति मातहत गठन हुने ५ वटै उपसमितिका संयोजक पद लिने अडानबाट रास्वपा पछाडि हटेको छ । सत्तारुढ दल रास्वपा ३ उपसमितिको नेतृत्व लिन तयार भएपछि बाँकी २ उपसमिति संयोजक विपक्षी दलहरुले पाएका छन् ।
२२ असारको बैठकमा रास्वपाले बेरुजुमाथि छलफल गर्ने पाँच वटै उपसमिति संयोजकमा दाबी गरेको थियो । त्यसमा विपक्षी दलहरूले नमानेपछि निष्कर्ष निस्किएको थिएन ।
त्यसपछि दलहरू अनौपचारिक छलफलमा जुटेका थिए । आज शुक्रबार फेरि बसेको बैठकमा रास्वपा सांसद रुकेश रन्जितले ३ वटा उपसमिति संयोजक लिने र २ वटा उपसमिति संयोजक विपक्षी दलहरूलाई दिने प्रस्ताव राखे । यो प्रस्ताव सबैले स्वीकारेपछि ५ वटै उपसमिति गठन भएको छ ।
सहमति अनुसार एमाले र राप्रपाले एक/एक उपसमिति संयोजक पाएका छन् भने बाँकी ३ उपसमितिको नेतृत्व रास्वपाले पाएको छ ।
जसअनुसार समूह १ को नाम ‘अर्थ र सुशासन’ राखिएको छ । यसको कार्यक्षेत्रभित्र अर्थ मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त जायोग, महालेखापरीक्षकको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहेका छन् ।
अर्थ र सुशासन उपसमितिमा सदस्यहरू रुकेश रञ्जित, क्रान्तिशिखा धिताल, गणेश सिंह ठगुन्ना र विपिनकुमार आचार्य रहेका छन् । यसको संयोजकमा रास्वपा सांसद रुकेश रञ्जित रहेका छन् ।
एमाले र राप्रपाले पाए एक/एक उपसमितिको नेतृत्व
समूह २ को नाम ‘राज्य सुरक्षा, न्याय, कानुन र प्रशासन’ राखिएको छ । यो समितिको कार्यक्षेत्रभित्र गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, संघीय संसद् सचिवालय, लोक सेवा आयोग र निर्वाचन आयोग राखिएको छ ।
यसमा सांसदहरू महेन्द्रबहादुर शाही, प्रेमलाल चौधरी, इन्दिरा राना, ऐन बहादुर महर र सिताराम शाह रहेका छन् । यो उपसमिति संयोजकमा एमाले सांसद यज्ञ बोगटी रहेका छन् ।
समूह ३ को नाम ‘भौतिक पूर्वाधार, प्राकृतिक स्रोत र वातावरण’ राखिएको छ । यसको कार्यक्षेत्रमा पूर्वाधार विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय योजना आयोग छन् ।
यसको सदस्यहरूमा, कृपा महर्जन, गणेश पराजुली, खुस्बु ओली जनकराज गिरी र वर्षमान पुन छन् । यसको संयोजकमा राप्रपाकी खुस्बु ओली रहेकी छन् ।
समूह ४ को नाम ‘आर्थिक उत्पादन, विज्ञान र मानव पूँजी’ राखिएको छ ।
यसको कार्यक्षेत्रमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय रहेको छ ।
यो समितिमा सांसदहरू योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार र रमेशकुमार सापकोटा रहेका छन् । यसको संयोजकमा खगेन्द्र सुनार रहेका छन् ।
समूह ५ को नाम ‘सामाजिक न्याय, कल्याण र समावेशीकरण’ राखिएको छ ।
यसको कार्यक्षेत्रमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय समावेशी आयोग, थारू आयोग, मधेशी आयोग, मुस्लिम आयोग, राष्ट्रिय दलित आयोग, जादिबासी जनजाति आयोग रहेका छन् ।
यो समिति सदस्यहरूमा मनिष झा, गोविन्द पन्थी, अमृता विक, मोहन आचार्य र विक्रम थापा रहेका छन् ।
यो उपसमितिको संयोजकमा मनिष झा रहेका छन् ।
प्रतिक्रिया 4