+
+
Shares

गणेश नेपालीको जीवन रक्षाका लागि सरकार, अस्पताल र चिकित्सक एकढिक्का भएर लडिरहेका छौं : वीर अस्पताल

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते ११:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका लागि अस्पताल, सरकार र चिकित्सक टोली एकढिक्का भएर लागिरहेको वीर अस्पतालले जनाएको छ ।
  • अस्पतालका सूचना अधिकारी डा. प्रकाश बुढाथोकीले भने, 'बिरामीको जीवन रक्षाका लागि सरकार, अस्पताल र चिकित्सक टोली एकढिक्का भएर लडिरहेका छौं ।'
  • अस्पतालले बिरामीको गोपनीयता कायम राख्दै उपचारमा बाधा नपुगोस् भन्नका लागि अस्पतालमा अनावश्यक भीडभाड नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

२६ असार, काठमाडौं । वीर अस्पतालले काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको जीवन रक्षाका लागि अस्पताल, सरकार र चिकित्सक टोली एकढिक्का भएर लागिरहेको जनाएको छ ।

वीर अस्पतालले आज शुक्रबार पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा अस्पतालका सूचना अधिकारी डा. प्रकाश बुढाथोकीले नेपालीको उपचार जटिल र अत्यन्त संवेदनशील अवस्थामा भइरहेको भन्दै बिरामीको गोपनीयता कायम राख्दै उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।

‘बिरामीको जीवन रक्षाका लागि सरकार, अस्पताल र चिकित्सक टोली एकढिक्का भएर लडिरहेका छौं,’ बुढाथोकीले भने, ‘त्यहीअनुसार उपचार भइरहेको छ । यहाँहरुको सकारात्मक सहयोगको पनि वीर अस्पताल अपेक्षा गर्दछ ।’

नेपालीको स्वास्थ्य अवस्थामा आउने परिवर्तनबारे समय–समयमा प्रेस विज्ञप्तिमार्फत जानकारी गराइने पनि उनले बताए ।

अस्पतालले उपचारमा संक्रमणको जोखिम न्यूनीकरण गर्न र उपचार प्रक्रियामा बाधा नपुगोस् भन्नका लागि उपचारमा संलग्न व्यक्तिबाहेक अन्य व्यक्तिलाई अस्पतालमा आएर अनावश्यक भीडभाड नगरिदिन आग्रह गरेको छ ।

मुगुको सोरु गाउँपालिकाका नेपालीले त्रिपुरेश्वरस्थित सडकमा बुधबार नेपालीले शरीरमा पेट्रोल खन्याएर आफैं आगो लगाएका थिए । घटनापछि उनलाई उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्‍याइएको थियो । उनको शरीरमा गम्भीर जलन भएको र अवस्था चिन्ताजनक रहेको अस्पताल प्रशासनले जनाएको छ ।

प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालका अनुसार नेपालीको शरीरको ६० प्रतिशत भाग जलेकाले उनी अहिले भेन्टिलेटरको सहायतामा उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?