News Summary
Generated by OK AI. Editorially reviewed.- निजामती किताबखानाले ई–पेन्सन सेवा शुरु गरेसँगै अवकाशप्राप्त कर्मचारीहरूले काठमाडौं धाउनु नपर्ने भएको छ ।
- डोल्पाका सुउलाला रोकायाले जिल्ला सदरमुकाम दुनैबाटै पेन्सनपट्टा प्राप्त गरी काठमाडौं आउजाउमा लाग्ने समय र खर्चको बचत गरेका छन् ।
- किताबखानाका अनुसार हालसम्म ५ सय ६२ जना कर्मचारीले डिजिटल पेन्सनकार्ड लिइसकेका छन् र यो सेवा देशका विभिन्न जिल्लामा विस्तार भइरहेको छ ।
२६ असार, काठमाडौं । हिमाली जिल्ला डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा कार्यरत कर्मचारी सुउलाला रोकाया गतसाता सेवा निवृत्त भए । निजामती किताबखानामा पेन्सनपट्टा बनाउन उनी काठमाडौं आउनुपर्ने थियो ।
किताबखानाले भर्खरै शुरु गरेको ई–पेन्सनको सुविधा डोल्पा सदरमुकाम दुनै पुर्याएको थियो । रोकायाले दुनैस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट नै पेन्सनपट्टाको सुविधा पाए ।
डोल्पाको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख जगत घर्तीले उनलाई खादा र रातो टीका लगाइदिए अनि हातमा पेन्सनपट्टाको विवरण भएको एउटा पेज थमाइदिए ।
अब अवकाश हुँदा उनले पाउने सबै सुविधाहरु खातामै उपलब्ध हुनेछ । उनले कुन सुविधाबाट कति रकम पाए भन्ने अनलाइनबाटै हेर्न पाउनेछन् । जिल्ला सदरमुकाममै पेन्सनपट्टा पाएर औधी खुसी भएका उनले काठमाडौं आउन–जान लाग्ने खर्च र समय जोगिएको बताए ।
त्यसको केही दिनमै मुख्यसचिव सुमनराज अर्यालले पनि कार्यालयबाटै ई–पेन्सनपट्टा बनाए । उनले पेन्सनपट्टाका लागि आवश्यक कागजात अनलाइनबाट अपलोड गरे र पेन्सनपट्टा पाउने कर्मचारीको सूचीमा आफूलाई इन्रोल गराए ।
निजामती किताबखानाले राजधानीका साथै देशका विभिन्न कोष तथा लेखा नियन्त्रण कार्यालयहरुलाई इकाई मानेर ई–पेन्सनपट्टाको सेवा शुरु गरिरहेको छ । त्यसक्रममा गतसातादेखि डोल्पाको दुनैबाट पनि ई–पेन्सनपट्टाको शुरु भएको हो । जसबाट फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा कार्यालय कर्मचारी तत्काल लाभान्वित भए ।
‘हामीले विभिन्न काममा फेसलेस सेवा शुरु गरेका छौं, ई–पेन्सन पनि त्यसैको एउटा हिस्सा हो’ निजामती किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले अनलाइनखबरसँग भने, ‘पहिले जस्तो पेन्सनपट्टा बनाउन सबै कागजातहरु जम्मा गरेर किताबखानामै धाउनु पर्दैन । अनलाइनबाट सबै फाइल अपलोड गरेपछि आफैं बसेको ठाउँमा नै पेन्सनपट्टा बन्छ ।’
ई–पेन्सनको अवधारणा कार्यान्वयन भएसँगै अब पुरानै शैलीको पेन्सनपट्टाको कागजात र पुस्तिका भने वितरण नहुने किताबखानाले जनाएको छ । अवकाश पाउने कर्मचारीहरुले आफ्नै सबै विवरण भरेपछि एउटा विवरण पाउँछन्, त्यही नै प्रिन्ट गरेर पेन्सनपट्टाको प्रमाणको रुपमा उपलब्ध गराउन थालिएको छ । कर्मचारीहरुले पेन्सन समेत आफूले उपलब्ध गराएको बैंक खातामै पाउँछन् ।
ई–पेन्सनको अवधारणा शुरु भएदेखि निजामती किताबखानाले ५६२ जना कर्मचारीहरुलाई डिजिटल पेन्सनकार्ड बाँडिसकेको छ । अरु कर्मचारीहरुलाई आकर्षित गर्न अवकाश भएका र राजधानीमै रहेका पूर्व सचिवहरुलाई कार्यकक्षमै पुगेर किताबखानाले ई–पेन्सन उपलब्ध गराएको हो ।
निवर्तमान मुख्यसचिव सुमनराज अर्यालदेखि हालै अवकाश भएका सचिवहरु कृष्णहरि पुस्कर, प्रमिलादेवी बज्राचार्य लगायतले ई–पेन्सनको सुविधा लिएका छन् । उनीहरु आ–आफ्नो कार्यालयमै बसेर पेन्सनपट्टा लिए । उनीहरु र निजामती किताबखानाका कुनै कर्मचारीहरुको भेट नै भएन ।
८ चैतदेखि अहिलेसम्म करिव सात सय जनाले पेन्सन लिएकोमा ५ सय ६२ जनाले ई–पेन्सन लिएको किताबखानाका महानिर्देशक पोखरेलले बताए । त्यसरी ई–पेन्सन लिनेहरु किताबखानामा जानुपर्ने बाध्यता हटेको छ ।
किताबखानाले आफैं अनलाइनमा फारम भर्नसक्ने कर्मचारीहरुलाई जहाँबाट पनि पेन्सनपट्टाको आवेदन दिनसक्ने सुविधा दिएको छ । तर आफैं फर्म भर्न नसक्ने कर्मचारीहरुका लागि विभिन्न जिल्लाका कोष तथा लेखा नियन्त्रण कार्यालयहरुलाई सहजीकरण गर्ने निकाय तोकेको छ, त्यहाँ गएर उनीहरुले फर्म भर्न र पेन्सनपट्टाको सुविधा लिन पाउँछन् ।
२० प्रतिशत कर्मचारीहरु अझै पनि पेन्सनपट्टाको लागि निजामती किताखाना नै धाउने गरेको भन्दै उनले अब उनीहरुलाई पनि अनलाइनबाट नै पेन्सनपट्टाको सुविधा लिन प्रोत्साहित गरिने बताए । अहिले किताबखानाले विभिन्न जिल्लाका कोष तथा लेखा नियन्त्रण कार्यालयहरुसँगको समन्वयमा अनलाइन पेन्सनपट्टा भर्ने र ई–पेन्सन दिने काम गरिरहेको छ ।
महानिर्देशक पोखरेलका अनुसार, अहिले ताप्लेजुङ, सोलुखुम्बु, मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, कालिकोट, दार्चुला लगायतका जिल्लामा समेत ई–पेन्सन पाउन थालेका छन् ।
प्रतिक्रिया 4