News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा शुक्रबार बिहान निधन भएको छ।
- शरीरको ५५ प्रतिशतभन्दा बढी जलेका र श्वासप्रश्वासमा गम्भीर समस्या देखिएका उनको उपचारका क्रममा ११ बजेर १९ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
- डा. पियुष दाहालले भने, 'उहाँको शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेको थियो, आगोको धुवाँ र तातो हावा श्वासप्रश्वासमार्फत फोक्सोसम्म पुगेकाले इनहेलेसन इन्जुरी पनि भएको थियो।'
२६ असार, काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ ।
मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका नेपालीको वीर अस्पतालको बर्न भेन्टिलेटरमा उपचार भइरहेको थियो । शुक्रबार बिहान ११ बजेर १९ मिनेटमा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।
उपचारमा संलग्न प्लास्टिक तथा बर्न सर्जन डा. पियुष दाहालका अनुसार शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेका कारण उनको अवस्था अस्पताल ल्याइएकै समयदेखि अत्यन्त गम्भीर थियो ।
‘उहाँको शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेको थियो। आगोको धुवाँ र तातो हावा श्वासप्रश्वासमार्फत फोक्सोसम्म पुगेकाले इनहेलेसन इन्जुरी पनि भएको थियो,’ दाहालले भने, ‘सुरुदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरिरहेका थियौं ।’
दाहालका अनुसार उपचारका क्रममा दुई पटक कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) गर्नुपर्यो ।
डा. दाहालले भने, ‘पहिलो पटक उहाँलाई केही समयका लागि पुनः जीवनचिह्न फर्काउन सफल भयौं । तर दोस्रो पटकको सीपीआरपछि पनि अवस्था सुधार हुन सकेन । त्यसपछि बिहान ११ बजेर १९ मिनेटमा मृत घोषणा गरियो ।’
गणेशले बिहीबार दिउँसो राहदानी विभाग अगाडिको सडकमा आफ्नो मोटरसाइकल पार्क गरेपछि शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर अवस्थामा रहेका उनलाई तत्काल उद्धार गरी वीर अस्पताल पुर्याइएको थियो ।
प्रतिक्रिया 4