News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ।
- नगर प्रहरीले मोटरसाइकलमा ह्विललक लगाई जरिवाना गरेपछि नेपालीले बिहीबार राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका थिए।
- प्रेमप्रसाद आचार्यको आत्मदाह प्रकरणमा चर्को आवाज उठाउने रास्वपा नेताहरू गणेश नेपालीको घटनामा भने मौन बसेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
२६ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर रहँदा उद्यमी प्रेमप्रसाद आचार्यको आत्मदाहपछि लेखेका थिए, ‘यदि कोही आत्मदाह गर्न बाध्य हुन्छ भने त्यो राज्यको चरम असफलताको संकेत हो ।’
उनले थप लेखेका थिए, ‘त्यस्तो अवस्थामा आत्मदाह गर्ने नागरिकको व्यवसायमा, निराशामा, सहयोगको याचनामा, सुरक्षामा, उद्धारमा र उनले भोगेका हरेक चरणमा राज्य असफल भएको बुझिन्छ । राज्यका हरेक तप्का, निकाय र अंगहरू असफल भएका मानिन्छन् ।’
नागरिकका रूपमा, जनप्रतिनिधिका रूपमा, सत्ताका अगुवाका रूपमा, सञ्चार माध्यमका रूपमा सबै असफल भइरहेको संकेत यस्ता घटनाले दिने उनको भनाइ थियो । नागरिकका लागि सामान्य दायित्व पूरा गर्नु पर्ने चेत सत्तामा रहेकाहरूमा नरहेको बुझिन्छ भन्दै बालेनले जनप्रतिनिधिका रूपमा नियम पालना गर्न र गराउन सफा नियतले अगाडि बढ्ने हिम्मत नरहेको स्पष्ट हुने बताएका थिए ।
‘एक जना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एक जना नागरिक संसद् भवन अगाडि आफैंमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्,’ तत्कालीन सत्ता प्रमुखलाई लक्षित गर्दै काठमाडौंका मेयर रहेका बालेनले लेखेका थिए, ‘त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरू होलान्, तर सबैभन्दा ठूलो कारण राज्य हो । सबैभन्दा भयानक संकेत राज्यको चरम असफलता हो ।’
प्रेमप्रसाद आचार्यको त्यो आत्मदाह बालेनका लागि एउटा विद्रोह थियो । र, त्यो विद्रोह तत्कालीन समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना थियो । फेरि प्रेमप्रसाद आचार्यको नियति अर्का व्यक्तिले भोग्नु नपरोस् भन्दै आफूले काठमाडौं महानगरमा काम गरिरहेको बालेनले बताएका थिए ।
त्यसबेला राष्ट्रिय स्वतन्त्र पार्टी सानै दलको हैसियतमा भए पनि सरकारमा थियो । सोही समयमा रास्वपा सभापति रवि लामिछानेले आफूहरूको आगमनले पनि आशा जगाउन नसकेकोमा प्रेमप्रसाद आचार्यसँग माफी मागेका थिए । यद्यपि, आफू सरकारमा सामेल भए पनि प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुमा ‘हिजोदेखिको निराशा र पीडा’ कारण रहेको उनको भनाइ थियो ।
‘एउटा नागरिकले अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र,’ लामिछानेले लेखका थिए, ‘यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौं । मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पीडाको परिणाम हो ।’
आफूहरू परिवर्तनको लागि राजनीतिमा आएको दाबी गरेका लामिछानेले थप लेखेका थिए, ‘हामी जस्ता नयाँहरूको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौं, म दोषी छु ।’
सोही समयमा रास्वपाको तर्फबाट स्वास्थ्य राज्यमन्त्री थिइन्, तोसिमा कार्की । प्रेमप्रसाद आचार्यले आत्मदाह गरेपछि कीर्तिपुर बर्न अस्पताल लगेपछि त्यहीँ पुगेकी उनी विवादमा मुछिइन् । कारण– आईसीयूमा उपचाररत प्रेमप्रसाद आचार्यलाई नै भेटेर उनले भिडियो बनाएकी थिइन् । अस्पतालको प्रोटोकलअनुसार आईसीयूमा भिडिओ वा फोटो खिच्न पाइँदैन । यसले गर्दा उनको आलोचना भएको थियो ।
अझ आफूहरू सत्तामै रहे पनि पुरानाहरूको कमजोरी र अविश्वासकै कारण त्यस्तो घटना सिर्जना भएको रास्वपा दलको तर्क थियो । उनीहरूले सोहीअनुसार आफूलाई संवेदनशील देखाउन विभिन्न टीकाटिप्पणी गरिरहेका थिए ।
त्यसबेला रास्वपामै नरहे पनि हाल सांसद् रहेकाहरूले पनि त्यसबेलाको सत्तासीन दल र राजनीतिलाई प्रश्न गरेका थिए । अहिले रास्वपा सांसद् रहेकी रञ्जु दर्शनाले पनि विरोध गरेकी थिइन् । त्यसबेला उनका दुई वटा फेसबुक पोस्ट आएका थिए । पहिलो पोस्टमा उनले कीर्तिपुरमा उपचारत (मृत्यु नहुँदै) आचार्यको उपचार खर्च बेहोर्न सरकारलाई भनेकी थिइन् । र, सँगसँगै उद्यमी, व्यवसायीहरूको मर्का बुझ्न सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।
यसको मतलब यसरी कसैले आत्मदाह गर्नु सरकारले उनीहरूको मर्का नबुझ्नुको परिणाम रहेको उनको बुझाइ थियो । सोही घटनाबाट आक्रोशित उनले अर्को पोस्टमा आफूले अब आन्दोलनको नेतृत्व नै गर्ने चेतावनी दिएकी थिइन् ।
‘प्रेम आचार्यजीले आफ्नो कामवापत पाउनु पर्ने पैसा नदिएकाहरू, उनको श्रीमतीको बैंक खातामा पैसा जम्मा गर्ने प्रबर्धन गर्नु,’ दर्शनाले फेसबुकमा लेखेकी थिइन्, ‘नत्र एक–एकको दैलोमा आन्दोलन गर्न आउने छौँ । आन्दोलनको नेतृत्व मै गर्नेछु । अति भयो ।’
त्यसपछि आन्दोलनको नेतृत्व गरेर उनी गइन्–गइनन् । तर आजको दिनमा उनी सत्तासीन दल रास्वपाको तर्फबाट काठमाडौं–१ कि सांसद् छिन् ।
अहिले काठमाडौंमा आचार्यकै जस्तो घटना घटेको छ । मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका छन् ।
तर, माथि उल्लेख गरिएकासहित धेरै रास्वपा नेताहरू गणेश नेपालीको आत्मदाहको विषयमा यो रिपोर्ट तयार पार्दासम्म सुनिएका छैनन् । हिजो जुन तहको आक्रोश छचल्किन्थ्यो, सत्तामा पुगेसँगै त्यो हराएको भन्दै उनीहरूको आलोचना भइरहेको छ ।
उपचाररत रहँदा मौन रहेकी रञ्जु दर्शनाले नेपालीको मृत्युपछि फेसबुकमा लखेकी त छन् । यद्यपि, उनको आक्रोश हिजो बाहिर रहँदा जस्तो छैन । उनले नेपालीको आत्मदाह, उनको उपचार खर्च बेहोर्नेसम्म सीमित रहनु नहुने बताएकी छन् । उनका अनुसार, आफैंलाई जलाउने बिन्दुसम्म किन पुगे भन्ने खोजिनु पर्छ र त्यो खोजबाट सरकारले आफ्नो काममा प्रेरणा लिनुपर्छ ।
‘सबैलाई एकै पटक खुसी बनाउन पनि सकिँदैन तर पिँधमा रहेका श्रमजीवी, गरिबहरूको रोदन भने रोक्न सकिन्छ । सरकारको ध्यान जाओस्,’ उनले लेखेकी छन् ।
त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका २५ वर्षीय नेपालीको उपचारको क्रममा मृत्यु भइसकेको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको थियो ।
नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए । नगर प्रहरीले आफ्नो मोटरसाइकलमा ह्विललक लगाएर जरिबाना गराएपछि उनले यस्तो निर्णय लिएको परिवारका सदस्यहरूले बताइरहेका छन् । उक्त घटनालगत्तै उनलाई उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो ।
वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालका अनुसार आगोले अनुहार, टाउको, घाँटीलगायत शरीरका महत्वपूर्ण भागमा गम्भीर क्षति पु¥याएको थियो । अस्पताल ल्याइए लगत्तै उनको श्वासप्रश्वासमा समस्या देखिएकाले आकस्मिक कक्षमै इन्टुबेसन गरी भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।
तर, नेपाली जीवित रहन सकेनन् । उपचारकै क्रममा उनको मृत्यु भइसक्दा पनि माथि उल्लेख गरिएका कुनै पनि नेताको सार्वजनिक टिप्पणी आएको छैन । यसलाई लिएर सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ । रास्वपा नेताहरूकै स्क्रिनसट सामाजिक सञ्जालमा घुमाउँदै चर्को विरोध भइरहेको छ ।
‘तिमी पो जल्यौ, जलेनौँ ?’ भन्दै डा. विक्रम तिमल्सिनाले त्यसबेला लेखेको कविता यस्तो थियो–
उनले आफ्नो शरीर हैन
तिम्रो दिमागमा पेट्रोल छर्किन खोजेका थिए
तर तिमी त सुरक्षा घेरामा थियौ !
तिमी बच्यौ
असुरक्षित उनै जले, डढे ।
म सोध्न चाहन्छु
बरु तिम्रो मनसम्म पो पुग्यो, पुगेन त्यो आगो ?
तिमी पनि जल्दै छौ कि ?
कि एक दिन फेरि सार्वजनिक बिदाको तयारी थाल्दैछौ ?
याद गर मालिकहरू
एक दिन तिम्रो ठेकेदारी पनि अन्त्य हुनेछ
र जिन्दगी पनि !
त्यसैले
उनको शरीरमा फैलिएको आगोको एक लप्का
तिम्रो दिमागमा पनि लगाऊ
र निभाऊ सम्भावित आगोमा लप्काहरू !
नत्र तिमी पनि एक दिन
यस्तै आगोको लप्काले जल्नु पर्नेछ
जसरी जलेका थिए प्रेम आचार्य
जसरी जलेका थिए उहिले
जनताका मन जलाउने शासकहरू !
प्रतिक्रिया 4