+
+
Shares

गणेश नेपालीलाई अस्पताल लैजाने प्रहरी शैलीमाथि राष्ट्रिय सभामा प्रश्न

‘६० प्रतिशत जलेको मान्छेलाई घिसारेर अस्पताल पुर्‍याउँदैछ । रक्षक भनेर छानेको सरकार भक्षक भएको पुष्टि हुँदैछ’ 

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १५:१८

२६ असार, काठमाडौं । राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीलाई अस्पताल लैजाँदा अपनाइएको प्रहरीको व्यवहारप्रति राष्ट्रिय सभामा गम्भीर प्रश्न उठेको छ ।

शुक्रबारको बैठकमा राष्ट्रिय सभा सदस्यहरूहरूले आगोले गम्भीर घाइते भएका नागरिकलाई तत्काल उद्दार गर्नुपर्नेमा प्रहरीले पक्राउ शैलीमा व्यवहार गरेकोभन्दै शैलीमाथि प्रश्न उठाएका हुन् ।

राष्ट्रिय सभा सदस्यहरूले घटनाको मूल कारणसँगै प्रहरीको संकट व्यवस्थापनलाई बहसको केन्द्रमा ल्याएका छन् । उनीहरूले आत्मदाहजस्तो आपतकालीन अवस्थामा प्रहरीको भूमिका सही नभएकोभन्दै आपत्ति जनाएका छन् ।

राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले राइड सेयरिङ चालक नेपालीले आत्मदाहको प्रयास गरिरहेको स्थानमा रहेका सुरक्षाकर्मीले देखाएको व्यवहारप्रति आपत्ति जनाए ।

घटनास्थलमा रहेका प्रहरी सुरुमै आत्मदाह रोक्न सक्रिय नदेखिएको र आगो लागेपछि पनि मानवीय उद्धारभन्दा पक्राउ गर्ने शैलीमा अस्पताल लगिएको उनले आरोप लगाए ।

‘आत्मदाहलाई त्यहाँ रहेका पुलिसले रोक्ने, उनलाई बचाउने प्रयास गर्नुको सट्टा रमिते भएर हेर्छन,’ बैठकको आकस्मिक समयमा बोल्ने क्रममा सांसद विश्वकर्माले भने, ‘आत्मदाह गरिसकेपछि पक्राउको शैलीमा उनलाई आफ्नो गाडीमा हालेर लगिन्छ अस्पताल । उनको दु:खद् मृत्यु भएको छ ।’

राष्ट्रिय सभा सदस्य सोमनाथ पोर्तेलले गम्भीर घाइतेलाई लछारपछार गर्दै गाडीमा हालिएको दृश्यलाई ‘हृदयविदारक’ भन्दै त्यसले प्रहरीको मानवीय संवेदनशीलतामाथि प्रश्न उठाएको बताए ।

‘घाइतेलाई जुन ढंगले प्रहरीले लछारपछार गर्दै गाडीमा राखेर अस्पताल लैजाने काम भयो, त्यो हृदयविदारक र आततायी घटना छ,’ उनले भने, ‘म यसको निन्दा गर्न चाहन्छु ।’

राष्ट्रिय सभाका अर्का सदस्य पदमबहादुर परियारले गणेश नेपालीलाई उद्धार गरेको कि पक्राउ गरेर अस्पताल पुर्‍याएको भन्दै प्रश्न गरे । आगोले पोलेको विक्षिप्त शरीरलाई प्रहरीले अपराधीलाई जस्तो गरेर अस्पताल पुर्‍याइएको बताए ।

‘मानवीय रुपमा अलिकति पनि संवेदनशील नभइकन त्यत्रो आगोले पोलेको विक्षिप्त शरीरलाई अपराधीलाई जस्तो गरेर तानेर जसरी प्रहरीहरूले हस्पिटल लगेर गए त्यसप्रति खेद प्रकट गर्न चाहन्छु,’ परियारले भने ।

बैठकको शून्य समयमा राष्ट्रिय सभा सदस्य रेणु चन्दले पनि ६० प्रतिशतभन्दा बढी जलेका व्यक्तिलाई घिसार्दै अस्पताल लगिएको दृश्यले राज्यको भूमिकामाथि गम्भीर प्रश्न उठाएको टिप्पणी गरिन् ।

‘६० प्रतिशत जलेको मान्छेलाई घिसारेर अस्पताल पुर्‍याउँदैछ । रक्षक भनेर छानेको सरकार भक्षक भएको पुष्टि हुँदैछ,’ उनले भनिन् ।

अर्का राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्मा बैठकको शून्य समयमा बोल्दै प्रहरीले जलिरहेका नेपालीलाई अपराधीझैं घिसारेर अस्पताल पुर्‍याएको आरोप लगाए ।

उनले जरिबाना गर्ने ट्राफिक प्रहरी, मोटरसाइकलमा ‘ह्विल लक’ गर्ने नगर प्रहरी र घिसारेर लैजाने प्रहरीलाई कडाभन्दा कडा कारबाही गर्न पनि माग गरे ।

‘जलिरहेको मान्छेलाई घिसारेर, अपराधी झैं घिसारेर हस्पिटल पुर्‍याइन्छ । त्यहाँ भएका पुलिसहरू गणेश नेपाली आगोमा जलिरहँदा भाग्छन्,’ विश्वकर्माले भने, ‘र, उसलाई अपराधीझैं घिसारेर लग्छन् । ती ट्राफिक प्रहरी, नगर प्रहरी र घिसारेर लैजाने प्रहरीलाई कडाभन्दा कडा कारबाही गरियोस् । बालेन सरकार राजीनामा दे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?